किसान आन्दोलनको इतिहासले एकताका झकिझकाउ भएको ‘बारा’ जिल्ला आज नारायणी अञ्चलमा पर्छ । बाराको पूर्वमा रौतहट (गौर), पश्चिममा पर्सा (वीरगञ्ज) र उत्तरमा मकवानपुर (हेटौडा) जिल्ला पर्छ । दक्षिणमा भारतको बिहार राज्यको चम्पारण जिल्ला पर्छ । थारु, कछार, दनुवार, मुहमदन, यादव, बाहुन, क्षेत्री, तेली, चमार, कटुवाल, दुसाद आदि विभिन्न जाति, धर्म र थरका २ लाख ३३ हजारभन्दा बढी जनता यस जिल्लामा बसोबास गर्छन् । यो जिल्ला १०८ गाउँ पञ्चायतमा विभाजित छ । दुधौरा, वेगरी, पसाह, तीअर, चलही, जमुनी, अदुवा आदि विभिन्न ठूला र साना नदी तथा खोलाहरूले सिञ्चित यो जिल्लाको माटो उर्वर छ । प्रधान बाली धान र मकै हो । गाँजा, अफिम, चना, मुसुरी, रहर, गहुँ आदिको पनि यहाँ खेती हुन्छ । यहाँका किसान र गरिब जनता अति परिश्रमी छन् । तर, ती दिनहरूमा बाराका किसानहरू देशी र विदेशी सामन्त, जमिनदार र शोषकहरूबाट शोषित थिए । भ्रष्ट कर्मचारी, विदेशी साहु र कालाबजारीहरूबाट पीडित थिए । राणा, शाह, बाहुन, क्षेत्री, सिंहजस्ता माथिल्ला जातिहरूबाट तल्लो जातिका जनता सामाजिकरूपमा थिचिएका छन् । ‘हिन्दू र मुहमदन’ मधेसी र पहाडी, ‘तल्लो र माथिलो जात’ को नाममा जनतालाई जुधाएर शोषकहरू आफ्नो शोषणलाई कायम गर्न चाहन्थे । शासकवर्ग आफ्नो शासन दिगो राख्न चाहन्थे भने विदेशी लुटेराहरू लुट चालु राख्न चाहन्थे । आफ्नो रगत पसिना चुहाएर मेहनत गर्ने किसानहरू र कामदार जनतालाई तिनीहरू सधैँ पैतालामुनि कुल्चेर राख्न चाहन्थे, उठ्न दिन चाहँदैनथे र स्वास फेर्ने फुर्सद पनि दिँदैनथे । सामन्ती, शोषक र ठूला ठालुहरू किसानहरूलाई ‘रे’ भनी हेला गर्थे ।
जहाँ दमन र शोषण हुन्छ, त्यहाँ विद्रोह हुन्छ । यो ऐतिहासिक नियम हो । जुन संसारका कुनै पनि मुलुकमा लागू हुन्छ र भइरहेछ । त्यस्तै एक दिन बाराका किसानहरू आफ्नो इज्जत र मेहनतको फल जोगाउन नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा जुरमुरिएर उठे । सामन्ती र पुँजीवादी व्यवस्थाले थोपरेको शोषण र अपहेलनाको विरुद्ध सङ्घर्ष गर्ने नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा २००९ सालमा बाराका क्रान्तिकारी किसानहरू अखिल नेपाल किसान सङ्घको नाममा सङ्गठित भए । रौतहट र बारा जिल्लाको किसान सङ्गठन तराईका पुराना सङ्गठनमध्येका हुन् ।
आगोको एकै झिल्कोले डढेलो लगाउन सक्छ भनेझैँ रौतहट र बारा जिल्लाको किसान सङ्घर्षले तराईका अरू क्षेत्र र पहाडी इलाकाहरूमा पनि किसान आन्दोलन उठाउनमा मद्दत गर्यो । बाराका किसान जनता वर्ग दुश्मनलाई अति घृणा गर्थे । यस्तो वर्गीय भावना हुनु राम्रै कुरा हो । बाराका क्रान्तिकारी किसान जनता देशी र विदेशी शोषकहरूको अगाडि झुक्न जानेका थिएनन् । आफ्नो वर्गसङ्घर्षको पवित्र लडाइँमा उनीहरूमध्ये कति शोषकवर्गसँग लड्दा लड्दै सहिद भए र नेपाल कम्युनिस्ट पाटीको झन्डालाई अझ रातो बनाए । यस मानेमा बाराका किसान जनता वीर र सङ्घर्षशील छन् । यस्तै ऐतिहासिक परम्परालाई फेरि उठाउनुपरेको छ । बाराका किसानहरू फेरि वर्गसङ्घर्षको मैदानमा आफ्नो गुमेको इज्जत र मेहनतको फल प्राप्त गर्न उठ्नुपरेको छ । सामन्ती र शोषकवर्गको शासन सत्तालाई पल्टाएर किसान र मजदुर जनताको नयाँ जनवादी सरकार कायम गर्न हातमा लाट्ठी, भाला र बन्दुक उठाउनुपरेको छ ।
समानताको सङ्घर्ष
बारा जिल्ला उब्जाउ भूमियुक्त धनी जिल्ला हो । यो अन्नको भण्डार भन्न लायकको जिल्ला हो । तर, यहाँका किसानहरू देशका अरू भागका किसानहरूजस्तै अति गरिब थिए । कारण दिउँसोको घामजत्तिकै प्रस्ट छ । यहाँका शोषक र सामन्तहरू किसानहरूलाई साह्रै शोषण गर्थे । शोषकहरू साना होस् या ठूला, बालक होस् या बुढा, आइमाई होस् या केटाकेटी किसानको रगत र पसिनाको फल खाएर मोटाएका थिए, तिनीहरू सबै आफूभन्दा जेठो बाठो किसान र जनतालाई समेत ‘रे’ भनेर बोलाउने गर्थे र हेला गर्थे । शोषकहरू किसान जनतालाई अछुत र तल्लो जात भनेर हेला गर्थे । जसले मेहनत गर्छ, जसको पाखुराको बलले नै देश हरियो हुन्छ । जसको परिश्रमले देशको भकारी भई, ती नै किसानहरूप्रति देशमा इज्जत थिएन, सम्मान थिएन । किसानहरूलाई मानिससरह गनिँदैनथ्यो ।
किसानहरूमाथिको यस्तो अपमान, बेइज्जती र हेलाको विरोधमा सङ्घर्ष गर्न नेपाल कम्युनिस्ट पार्टीले बारा जिल्ला पार्टीलाई निर्देशन दियो । किसान कार्यकर्ताहरूले बारा जिल्लाका किसानहरूलाई सम्झाए कि हामी अब बढी अपमान सहन तयार छैनौँ । आफ्नो सङ्गठनलाई उठाउनुपर्छ । किसान जनताको इज्जतको निम्ति समानताको लडाइँ लड्नुपर्छ । गाउँ–गाउँमा गुप्त र खुला किसान सङ्गठनहरू बन्न थाले । किसान सङ्घले ‘रे’ शब्दलाई बदमास संज्ञा दियो । ‘रे’ को विरोध नगरी सहेर बस्ने दलाल हो, ‘रे’ को विरोधमा लड्ने कुनै पनि किसान र गाउँका जनतालाई अरूले मद्दत गर्नुपर्छ भन्दै किसान सङ्घले ‘जी’ को निम्ति लड्ने निर्णय लियो । जुन निर्णय बिजुलीजत्तिकै सारा किसानहरूमा फैलियो । सुतिरहेका किसानहरू उठ्न थाले । उनीहरूले हेला, अपमान र बेइज्जतीको अर्थ बुझ्न थाले । तर, शोषकहरूले किसानहरूलाई ‘जी’ भन्न मानेनन् । त्यहींदेखि समानताको सङ्घर्ष सुरु भयो । गाउँ गाउँमा शोषक र किसानहरूले ‘रे’ को बदला ‘रे’ ले दिन थाले । बाराको वातावरण तनावपूर्ण बन्दै गयो । रौतहट र बाराका शोषक र सामन्तहरू काम्न थाले ।
समानताको लडाइँको आगो रौतहटमा राम्रोसँग फैलियो । बाराभन्दा रौतहट अझ चर्को शोषण र दमन हुने जिल्ला भएको हुँदा लडाइँको आगो उतैतिर बढी मोडियो । इनरवारी, कोपवा, पिपरिया, लौकाहा, बसनपट्टी, पोखरीया, हथियाही, मनसरी, पथरा, पथियाही, छटौना, गडैया, डुमरीया, महमदपुर, मोतीपुर आदि गाउँहरूमा पनि लडाइँ सुरु हुन थाल्यो । समानताको लडाइँमा इनावारी गाउँले पाएको विजय नै किसानहरूको पहिलो विजय थियो । जादोलाल साह त्यहाँको सबभन्दा ठूलो सामन्त थियो । त्यसले एक किसानलाई ‘रे’ भन्दै गर्दा किसानहरूले त्यसको विरोध गरे । लाट्ठी, मुक्का र जुत्ताले प्रहार गर्दै किसानहरूले सजाय दिए । युगौँ युगदेखि सुतिरहेका किसानहरू इज्जतको निम्ति उठ्न थाले । आत्मसम्मानको निम्ति किसानहरूको रगत उम्लँदै थियो । समानता र इज्जतको निम्ति किसानहरूले पार्टीको झन्डालाई अझ माथि उचाल्दै गए । सामन्त जादोलाल साह किसानहरूको अगाडि आत्मसमर्पण गर्न बाध्य भयो, गल्ती स्वीकार्दै टाउको झुकाएर किसानहरूलाई ‘जी’ भन्न र सम्मान गर्नैपर्यो । यो नै किसानहरूको पहिलो जीत थियो । पार्टीले गरेको वर्गसङ्घर्षको विजय थियो । जसले गर्दा आसपासका सबै सानातिना सामन्तहरू थरथर काँप्न थाले र विनाविरोध ‘जी’ भन्न स्वीकार गरे ।
आफूहरूले पाएको पहिलो विजयले किसानहरूमा अझ बढी आत्मविश्वास र आत्म गौरवको भावना उब्जन थाल्यो । पार्टी र सङ्गठनप्रति विश्वास बढ्न थाल्यो । किसानहरू अखिल नेपाल किसान सङ्घको चारैतिर झन्झन् एकगठ हुन थाले ।
पार्टी र किसान सङ्घको जिल्ला कमिटीले २००९ वैशाख महिनामा कचरवा भन्ने गाउँमा सङ्घर्ष गर्ने निधो गर्यो । जहाँ थाना थियो । किसानहरूको एक प्रतिनिधिमण्डल गएर थानेदारलाई भन्न गए– ‘अबदेखि किसानहरूलाई कुनै पनि शोषक, सामन्त र साहुमहाजनले ‘रे’ भन्न पाउने छैन, यदि कसैले भनेमा त्यसलाई पनि ‘रे’ भनेरै जवाफ दिइनेछ । किसानहरू अब आफूमाथि लादेको अपमानलाई सहन तयार छैनन् । यसकारण, थानाले सबै गाउँका ठूला–ठालुहरूलाई किसानहरूको निर्णयलाई सुनाइ दिनू । यदि भोलि बिहानदेखि कसैले ‘रे’ भनेर किसानहरूलाई बोलाएको खण्डमा सङ्घर्ष सुरु हुनेछ । त्यस सङ्घर्षको तमाम जिम्मेवारी शोषकहरू र थाना आफै हुनेछन् ।’
थानाले बाध्य भएर सूचना ग¥यो । तर, ठूलठूला सामन्तहरू मान्न तयार भएनन् । सामन्तहरूबिच सभा भयो । सभामा जिल्लाका सबभन्दा ठूला सामन्त द्रोण शमशेर राणाले बोलेको थियो, “सयौँ वर्षदेखि हामीले तिनीहरूलाई ‘रे’ भनेर आएका, आज पनि ‘रे’ नै भन्छौँ । ज्यान फाल्ने तर ‘जी’ नभन्ने, बरु आवश्यक पैसा हामी सरकारलाई दिन्छौँ ।” सामन्त र शोषकहरूको सभाले आफ्नो अपराधी एकतालाई कायम राख्न चन्दा उठाए । किसानविरोधी कालो जिद्दी छाडेनन् । भोलिपल्ट घूसले मोटाएका थानेदार, कर्मचारी र पुलिसहरूले गाउँ गाउँमा गएर किसान जनतालाई भड्काउने दुष्प्रयास गरे– ‘नेताहरूको भूलभुलैयामा नलाग, ‘जी’ भनेर तिमीहरूले पैसा पाउने होइन, भोक मेटिने होइन । झन् धनीहरू रिसाएर बटैया पनि खतम हुनेछ । यसकारण ‘रे’ र ‘जी’ को भ्रममा नलाग, पहिलेजस्तै चलिआएको चलनअनुसार गर, बेकारमा हन्डर खानुपर्नेछ ।’ आदि ।
यसको जवाफमा कति किसानहरूले थानेदार, पुलिस र कर्मचारीहरूलाई थुके र भने, “यदि ‘जी’ भन्न लगाएर किसानहरूले केही नपाउने भए ‘जी’ भनेर तिनीहरूको (शोषकहरूको) के खती हुन्थ्यो त ! अथवा हामीले पनि ‘रे’ भनेको खण्डमा तिनीहरूको के नोक्सान हुन्छ ?” किसानहरूको यसप्रकारको मुखभरिको जवाफ पाएर सामन्त, शोषक, दलाल, पुलिस, कर्मचारी र थानेदारहरूजस्तै कुकुर पुच्छर लुकाएर भागे । किसानहरूले थाहा पाए कि सामन्त, शोषक, जमिनदार, पुलिस, अड्डा–अदालत र सरकार सबै एउटै ड्याङ्गका मूला हुन्, यी सबै किसान जनताका दुश्मन हुन् । स्थानीय सामन्त, शोषकहरूको विरोधमा लड्नु सरकारको विरुद्धमा लड्नु हो र सरकारको विरुद्ध लड्नु स्थानीय शोषकहरूको विरुद्ध पनि लड्नु हो ।
प्रतिज्ञा र विजय
बारा जिल्लाको पार्टी र किसानहरूले सङ्घर्ष गर्ने प्रतिज्ञा गरे । परिश्रमले खस्रिएका र घामले डढेका हजारौँ मुट्ठीहरू उठे र शपथ लिए– इज्जतको निम्ति लड्छौँ । अपमान, घृणा र हेलाको विरुद्ध सङ्घर्ष गर्छौँ ।
कचरुवा गाउँको सबभन्दा ठूलो शोषक थाकासा भन्ने सामन्त थियो । उसले कामरेड नुनुलाललाई ‘रे’ भनेर बोलाउँदा कामरेडले वर्गदुश्मनलाई अति घृणाको दृष्टिले हेरे । बदलाको भावना उनमा खचाखच भरिएको थियो । मुट्ठी कसेर साहसलाई बटुलेर, रातो पिरो आँखाले हेर्दै शोषकलाई पनि ‘रे’ भनेर ठूलो स्वरले तिरस्कार गरे । किसान कामरेडको त्यो ‘रे’ शोषक वर्गको छातीमा गोलीजत्तिकै हानिन पुग्यो । मुटुलाई छेडिदियो । कामरेडमाथि वर्ग दुश्मनले हात हाल्ने दुस्साहस ग¥यो । तर, कामरेड पार्टी र किसान सङ्गठनको निर्णयले बलिरहेको चिरागजत्तिकै बल्दै थियो । शोषक बत्ती खान खोज्ने कीरा फट्याङ्ग्राजस्तै तुच्छ बन्दै थियो । कामरेडमाथि हातमात्रै के हालेको थियो– गाउँमा वर्गसङ्घर्षको चट्याङ्ग परेजत्तिकै भयो । मेघ गर्जेसरि सारा किसानहरू घटनास्थलतिर जम्मा हुन पुगे ।
आत्म–सम्मानको आगोले बलेका किसानहरूले त्यस पशुलाई गर्दन समातेर गिरफ्तार गरे । जुत्ताले कुल्चे, लछारपछार गर्दै घिसार्दै किसानहरूले त्यस अपराधीलाई आफ्नो अफिसमा ल्याएर थुने । कामरेडमाथि हात हाल्न खोज्ने वर्ग दुश्मन चिराग खान खोज्ने किरा फत्याङ्ग्राजस्तै भस्म भयो । किसानहरूले युगौँ युगदेखिको बदला लिए ।
किसानहरूमा उत्साह र जोशको नयाँ लहर लहरिन थाल्यो । सबैले अब सङ्घर्षले नयाँ मोड लिन्छ भन्ने अन्दाज लगाउन थाले । अपराधी थाकासालाई छुटाउन उसका नोकर–चाकरहरू आउँछन् भन्ने कुरा निश्चितप्रायः थियो । यसकारण, सङ्गठनले आफ्नो किसान अफिसको सुरक्षाको निम्ति ५० जवान किसान कार्यकर्ताहरू लाठो लिएर पहरा राख्न थाल्यो । अनुमानअनुसारै थाकासाको नुनको सोझो गर्ने १० जवान दलालहरू आए । उनको छुटकाराको माग गर्नु त के किसान स्वयंसेवकहरूको पहरा देखेरै १० दलालहरूले सुइँकुच्चा ठोके ।
शोषक, सामन्त र प्रतिक्रियावादीहरू सबैले आफैँ हार स्वीकार गर्दै गर्दैनन् । बरु आफ्नै सामन्ती सरकारकहाँ उजुर गर्न गए । शोषक थाकासाको लास बेपत्ता गरे भन्दै थानामा मुद्दा दायर गरे । सामन्ती सरकारका २ जवान कुकुरहरू किसान अफिसमा आएर किसानविरोधी थाकासाको रिहाइको माग गरे । किसानहरूले तिनीहरूको अनुरोधलाई लत्याइदिए । पछि सबै सामन्तहरू मिलेर थुप्रै पुलिसहरू पठाएर किसानहरूलाई बलको भरमा झुकाउने दुष्प्रयास गरे । पुलिसहरूद्वारा क्रान्तिकारी किसान अफिस र गाउँ घेर्दै लगियो ।
यसले किसानहरूमा झन् उत्तेजना फैलायो । उनीहरूमा वर्गीय भावना सूर्यको तेजजत्तिकै चम्कन थाल्यो । सारा किसानहरू घरबाट निस्के, महिला किसानहरू आफ्नो घरको चुलो–चौकी छोडेर सङ्घर्षको मैदानमा उत्रे । बालक र वृद्धासमेत वर्ग शत्रुहरूसँग लड्न तयार भए । पुलिसको घेरामाथि किसानहरूले अर्को घेरा दिए । पुलिसहरू किसानहरूको बल्दो क्रान्तिकारी भावना र वर्गीय चेतना देखेर थरथर काँप्न थाले । आखिर आफू पूरै जनताको सागरमा डुबेर मर्ने चाल पाएर पुलिसहरूले सङ्गठनका नेतृत्वलाई भेट्न बिन्ती चढाए । अफिस घेर्ने दुष्प्रयास त्यागे । तिनीहरूलाई किसान नेताहरूको आदेश मान्न कर लाग्यो । आदेशअनुसार पुलिसका थानेदारले थाकासालाई भेट्यो । आन्दोलनको हावालाई बुझे । आँधी आउँदा झुक्न नजान्ने रुख क्वार्र ढल्छ भनेझैँ किसान आन्दोलनको आँधीबेरीमा तिनीहरू टिक्न सकेनन् । किसान कामरेडहरूलाई अपमान गर्न खोज्ने निर्लज्ज वर्ग शत्रु थाकासाले किसानहरूको अगाडि आत्म–समर्पण गर्यो । अबदेखि किसानहरूलाई आदरपूर्वक ‘जी’ भन्छु भनेर कागज गर्यो । त्यसपछि मात्र किसानहरूले वर्ग शत्रु थाकासा र शोषकहरूको दलाल थानेदारलाई छुट्कारा दिए ।
यो वर्गसङ्घर्षको पहिलो विजय थियो । नैतिकरूपमा शोषकवर्गको हार थियो, किसानहरूमा यस विजयले ठूलो प्रेरणा र जोश बढायो । सङ्गठनप्रति आस्था र विश्वास बढ्यो । सामन्तहरू थरथर काँप्न थाले, निराशाको सुस्केरा हाल्न थाले । मध्यम र धनी किसानहरू पार्टीको समर्थनमा आउन थाले । यसप्रकार बारा जिल्लामा समानताको सङ्घर्षले किसानहरूमा वर्गीय चेतना र वर्गसङ्घर्षलाई अगाडि बढाउनमा सफलता प्राप्त ग¥यो । जुन त्यसबेलाको पार्टी र किसान सङ्गठनको नेतृत्वको सफलता थियो ।