जिवराज पौडेल
जीवन र मुत्यु मानिसका स्वभाविक प्रक्रिया हुन् । मानिसको जीवनभित्रको सार्थकता उसको सामाजिक योगदान, गतिशिलता र सामाजिक रुपान्तरणबाट सिद्ध हुन्छ । सामाजिक रुपान्तरणका घोतक दिपक पुन जसले सामाजिक न्यायका लागि विद्रोह समेत गरेका थिए । वि.स. २०२१ भाद्र २८ गतेका दिन नेपालको बिकट जिल्लाको रुपमा चित्रित रुकुमको उत्तरगंगा गाउँपालिका वडा नं. १ पुषर गाउँमा पिता भैरम पुन र माता मलदेबी पुनको जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका दिपक पुनका ३ छोरा, २ नाति ३ नातिनी र श्रीमती तथा आमा हुनुहुन्छ । हाल स्व. पुन आफ्ना परिवारका साथ कञ्चन गाँउपालिका वर्डा नं. १ बकुलघाटमा बस्दै आउनुभएको थियो र उहाँ यस क्षेत्रकै एक होनाहार सामाजिक अभियन्ता तथा कुशल राजनीतिज्ञ समेत हुनुहुन्थ्यो । समाज परिवर्तनका लागि आफ्नो जीवन आहुती दिन पछि नहट्ने निडर र सरल स्वभावका धनी दिपक पुन सामान्य साक्षर रहेता पनि समाजको पूजकका रुपमा चित्रित हुन सक्नु उहाँको दैबिक शक्तिको अनुकम्पा मान्न सकिन्छ ।
युवा अवस्थामा नै समाज परिवर्तनको सोचबाट अभिप्रेरित व्यक्तित्व पुन साविकको रुकुम जिल्लाको रन्मामैकोट गा. वि. स. मा राष्ट्रिय जनमोर्चाबाट गा.वि.स अध्यक्षको उम्मेदबार भै २०४९ सालको स्थानीय निर्वाचनमा निर्विरोध गा.वि.स अध्यक्षका रुपमा निर्वाचित हुनुभयो । सिमित स्रोत साधनका बावजुद पनि बाटोघाटो निर्माण, विद्यालय निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता कार्यहरु माफर्त विकास निर्माणमा निरन्तर आफ्नो त्याग र बलिदानीपूर्ण योगदान गर्नुभएका पुन सुरुबाट नै एक अशल सामाजिक व्यक्तित्व भएको कुरा उहाँका सहकर्मी तथा उत्तरगंगा गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष मकरसिंह गुरुङ्गले जानकारी गराउनुभयो । त्यस क्षेत्रका विकासका प्रतिविम्ब दिपक पुनबाट श्री पुथा हिमालय प्राथमिक विद्यालयलाई.नि.मा.वि.मा.वि बनाउन उल्लेखनीय योगदान रहेको कुरा सहकर्मी गुरुङ्गले बताउनु भयो । त्यसैगरि सोही क्षेत्रमा जनता आधारभुत विद्यालय निर्माण कार्य पनि स्व. पुनको नेतुत्वबाट भएको र विकट त्यस ठाँउमा शिक्षक अभाव रहेको हुदाँ शिक्षक खोजेर लैजाने, विद्यालय संचालनका लागि चन्दा संकलन गर्ने, शैक्षिक चेतना फैलाउने तथा शिक्षाको महत्व र आवस्यक्तालाई आप्mनो लक्ष्य सोची कार्य गर्ने महान शिक्षाप्रेमिका रुपमा समेत त्यस क्षेत्रमा प्रतिविम्बित भएको सुन्न र देख्न पाईन्छ ।
सामाजिक न्याय र सामाजिक रुपान्तरण तथा सामाजिक विकृतिको विरुद्धका एक अभियानकर्ता स्व. दिपक पुन वि.स. २०५२ सालमा नेकपा–माओबादीको जनयुद्धको शुरुवातसँगै सहभागी भै भुमिगत राजनीतिक यात्रामा होमिनुभयो । वि.स. २०५२ सालमा सरकारको सुरुको अपरेशनमा पुलिसको कारवाहीमा बायाँ हातमा गोली लागी घाइते समेत हुनुभएको थियो । नेकपा माओवादी को एरिया इन्चार्ज , राजनैतिक कमिसनार तथा रुकुम जिल्लाको नेकपा माओवादीको सचिवालय सदस्यमा रही विभिन्न युद्ध तथा विद्रोहमा सहभागी हुनुभएको थियो । तत्कालिन माओवादीका सैन्य कामाण्डर समेत रहेका नेकपाका केन्द्रिय नेता बर्षमान पुन (अनन्त), नन्दकिशोर पुन (पासाङ) लगायत अन्य केन्द्रिय नेताका सहकर्मी भई कार्य गर्नुभएका स्व.पुनले सामाजिक अभियान मार्फत अर्जल गुम्बाको भिरको बाटो समेत निर्माण गर्नुभएको थियो । छुवाछुत प्रथा, साहु आसामी प्रथा जस्ता विभिन्न सामाजिक कु–प्रथा र सामाजिक विभेदलाई निर्मुल पार्न उहाँको सैद्धान्तिक, वैचारिक र चेतनामूलक कार्यबाट उल्लेख्य योगदान रहेको कुरा त्यस ठाँउका अग्रजबाट थाहा पाउन सकिन्छ । उहाँले लोकदोहरी तथा संगीतबाट समाज रुपान्तरणमा समेत योगदान पु¥याउनु भएको थियो । स्व. पुन स्वयम् लोकदोहोरी गायक समेत हुनुहुन्थ्यो ।
निरन्तर सामाजिक कार्यमा लाग्नु भएका स्व. दिपक पुन तत्कालिन नेकपा माओवादी पार्टीमा देखिएको राजनैतिक बिसंगति तथा आफ्नो व्यक्तिगत स्वास्थ्य स्थितिका कारण वि.स. २०५७ आफ्नो सक्रिय राजनीतिक यात्रा छोड्दै स्वतन्त्र सामाजिक कार्य र राजनैतिक निस्कृयताको जीवन बिताउने उद्देश्यका साथ कञ्चन गाँउपालिका वडा नं. १ बकुलघाटमा वसाईसराई गर्नुभएको थियो तर उहाँमा भएको राजनैतिक चेतना तथा सामाजिक रुपान्तरणको तिव्र अभिलासा र उत्कण्ठाले राजनैतिक निश्कृयता एवम् समाजसेवाबाट टाढा रहन सक्नुभएन । जसले गर्दा वि.स. २०५८ सालमा नेकपा एमालेमा प्रवेश गरी पुनः राजनैतिक जीवनको निरन्तरता सँगै आफुलाई समाजसेवामा गतिशील बनाउने प्रयत्न सुरु गर्नुभयो । साविक गजेडी गा.वि.स.को नेकपा एमाले गाउँकमिटीको अध्यक्ष हुदै जिल्ला सदस्य समेत हुनुभएका स्व. पुन एमाले र माओवादीको एकिकृत पश्चात बनेको नेकपाको प्रदेश सदस्यको पदमा हालसम्म कृयाशिल हुनुहुन्थ्यो । व्यक्तिगत स्वास्थ्य बाधक हुदाँहुदै पनि राजनैतिक र सामाजिक जीवनमा विश्राम नलिई निरन्तर सक्रियताका साथ सामाजिक कार्यमा अग्रसर रहनु नै जीवनलिला समाप्तको एक कारक मान्न सकिन्छ ।
कञ्चन गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुको भनाई अनुसार उहाँ सत्यवादी चिन्तन बोकेको सरल मिजाशिला र सबैको अस्तित्व स्वीकार गरी आफ्नो अभिमतलाई निर्णयमा कार्यान्वयन गर्न सक्ने क्षमता भएको निडर तथा समाजसेवामा थकाई महशुस नगर्ने एवम् आफ्नो भन्दा समाजको बढि सोच्ने समाज चिन्तकको रुपमा चित्रण गर्न सकिने कुशल राजनीतिज्ञको प्रतिविम्ब हो ।
स्वास्थ्य बाधक हुदाँहुदै सामाजिक संघ संस्थामा कृयाशिल उहाँ प्रगति नमुना मा.वि कञ्चन १, बेलभरियाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, देउराली सामुदायिक वनको सल्लाहकार सदस्य, नमूना सामूदायिक वनको सल्लाहकार सदस्य, बकुलघाट खानेपानी संस्थाको उपाध्यक्ष, वुद्धभुमि आाधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिको सल्लाहकार सदस्य जस्ता विभिन्न सामाजिक पदमा रही सामाजिक कार्यमा निरन्तर कृयाशिल हुनुहुन्थ्यो । वुद्धभुमि आधारभुत विद्यालय कञ्चन १ बकुलघाटको स्थापनाकर्ताको पहिचान बनाउनु भएका पुन त्यस विद्यालयमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भयो । त्यसैगरी प्रगति नमुना मा.वि मा विद्यालय व्यवस्थापन समितिमा सल्लाहकार सदस्य, विद्यालय व्यवस्थापन समितिमा सदस्य र हाल विद्यालय व्यवस्थापन समितिमा अध्यक्षमा कृयाािशल हुनुहुन्थ्यो । विद्यालयको शैक्षिक र भौतिक विकासको उत्कण्ठा बोकी अध्यक्ष हुनुभएका आदरणिय व्यक्तित्व दिपक पुनको इच्छा आङ्काक्षा पुरा नहुदै उहाँको अवसानबाट प्रगति नमुना मा.वि ले ठूलो क्षति व्यहोर्न बाध्य भएको छ । उहाँबाट प्रदेश सरकारमा पेश गरी माग गरिएका योजनाहरु विद्यालय कम्पाउण्ड वाल निर्माण तथा विद्यालय वैकल्पिक उर्जा अन्र्तगत सौर्य उर्जा व्यवस्था गर्ने लगायतका योजनाहरु अपुरै छन । ती योजनाहरुलाई मूर्त रुप दिन प्रदेशसभा सदस्य श्री भुमिश्वर ढकाल तथा प्रदेश सरकारले सहयोग भएमा उहाँको सच्चा श्रद्धाञ्जली र सम्मान हुने छ । त्यसैगरि शिक्षा मन्त्रालय र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमा शैक्षिक र भौतिक विकास गर्न एवम् विद्यालयमा यातायात साधनको व्यवस्थापन गर्न राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईबाट उचित पहल हुन सकेमा स्व. पुनको सपनाले साकार रुप पाउनेछ । साथै स्व. पुन एक सामाजिक कार्यकर्ता र सामाजिक अभियानकर्मी भएको हुदाँ उहाँका नाममा अक्षयकोष स्थापना हुन सकेमा उहाँको सपनाको पूर्णतामा र उहाँको सम्मानमा एक ईटा थपिने थियो । सधै अमर रहीरहने स्व. दिपक पुन का यी र यस्तै सामाजिक अपूरा सपना पूरा गर्न विभिन्न तह र तप्काबाट आवश्यक प्रयत्न र प्रयासको लागि पक्क्रै पनि सबैको ध्यान जानेछ ।
फरक धार र विचार राख्ने प्रतिपक्षलाई समेत आफ्नो पक्षमा पारी सबैको मन जित्न सक्षम नेताको छवि बनाउनुभएका सरल,मिजाशिला, यथार्थपरक र समाजका उत्कृष्ट सामाजिक व्यक्तित्वका धनी स्व. दिपक पुनको राजनैतिक तथा सामाजिक रुपमा उच्च योगदान रहेको छ । समुदायलाई परिचालन गरी समाज विकासको उद्देश्य पुरा गर्न सक्ने क्षमता भएका साहसिक व्यक्तित्व दिपक पुनको अवसान हुनु अकल्पिनीय र दुःखद घटना हो । यस घटनाबाट कञ्चनले एक कुशल राजनीतिज्ञ गुमाउन पुगेको छ । उहाँ लामो समय देखि मधुमेह, मृगौला र मुटु सम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो र हाल कोभिडको संक्रमणबाट समेत पिडित पुनले दिर्घ रोगीलाई कोरोनाको संक्रमण भएमा अनिर्वाय आवश्यक पर्ने आई.सि.यु. तथा भेन्टिलेटर सहितको उपचार नपाएर दुखान्त निधन हुनु देशको स्वास्थ्य अवस्थाको गतिलो चित्रण हो । उहाँको ५७ वर्षको उमेरमा असामयिक निधनले हामीलाई अत्यन्त मर्माहित एवम् स्तब्ध बनाएको छ । शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजन तथा आफन्तजनहरु प्रति शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलोस भन्दै हार्दिक समबेदना प्रकट गर्दछु ।
(लेखक पौडेल प्रगती नमुना माध्यमिक बिधालयको निवर्तमान प्रधानाध्यापक हुनुहुन्छ)