विमला आचार्य
मानिसको उत्पत्तिसँगै मानव समाजमा विभिन्न परिवर्तनशील स्वरूपहरु हामीले देखेका र भोगेको छौं । यस्तै परिवर्तन विवाह पद्धतिमा पनि हुँदै आएको छ । विवाह पद्धतिमा आएको परिवर्तनले समाजमा पार्ने प्रभावको सचित्र वयान गरिएका पुस्तकहरु पनि छन् । यस्तै पुस्तकमध्ये एक हो उपन्यास - ‘स्वास्नीमान्छे’ । हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित ‘स्वास्नीमान्छे’ उपन्यास २०६६ मा नवौं संस्करण प्रकाशन गरी साझा प्रकाशनले नेपाली साहित्यलाई थप एक खुड्किलो अगाडि बढाउन सहयोग पु¥याएको छ । उपन्यास ‘स्वास्नीमान्छे’ कृष्ण आरतिबाट सुुरु हुन्छ । श्रीमान् भएर पनि सहारा बिहिन बनेकी मोतिमाया गरिबीको जाँतोमा पिल्सिएकी थिइन् ।
आफ्नो छोरालाई पाल्नको लागि जस्तै दुःख कष्ट पनि सहन सकूँ भनी प्राथना गर्थिन् । श्रीमान् प्रमोद र उसकी कान्छी श्रीमती कमलाबाट दिनभरजसो चाहिँदो नचाहिँदो हप्कीदप्की खाइरहनु पर्दा मोतिमायालाई असह्य पीडा हुन्थ्यो । मोतिमायालाई माया गर्ने छोरा विनोदबाहेक कोही हुँदैन । विनोदलाई माया गर्ने पनि मोतिमायाबाहेक अर्को कोही थिएन । विनोद ५ वर्षको मात्रै थियो । विनोदको नजरबाट मोतिमाया ओझेल पर्नासाथ रुन्थ्यो । डाँको हाल्न थाल्थ्यो । सदाझैं साँझको आरति गरी ईश्वरसँग प्राथना गर्दागर्दै एक दिन मोतिमाया त्यहीँ निदाइन् । राति विनोद बिउँझ्यो र आमालाई ओछ्यानमा खोज्न थाल्यो । आमा, आमा भनी बोलायो ।
आमालाई नदेखेपछि रुन थाल्यो । उसको रूवाईले कमलाको निद्रा खुल्यो र मोतिमायाको कोठामा चिह्याउन पुगिन् । श्रीमान प्रमोदलाई उठाइन् र विनोदकी आमा उसलाई छोडेर परपुरूषसँग सम्बन्ध जोड्न गएकी हुन सक्ने बताइन् । प्रमोद अन्योलमा प¥यो, विश्वास गरुँ कि नगरुँ ? दोमन भइरह्यो । अर्को दिन कमलाले एउटा चिठी दिइन् । प्रमोदले चिठी पढ्यो र रिसले आगो भयो । चिठी पनि आदानप्रदान भइसकेको ठान्यो । मोतिमायालाई मार्छु भनी जान तयार भयो । तर, कमलाले रोकीन् । विनोदलाई फकाइफुल्याई कोठामा को आएको थियोे भनी सोध्यो । डराएको विनोदले थाहा छैन बाहेक अरु केही भन्न सकेन । यस्तै झैंझगडा, दिनहुँजसो भइरहन्थ्यो । कुटाइ, पिटाइ यातना सहनुपथ्र्यो मोतिमायाले । मोतिमायाको लागि घर त आफ्नो भएन ।
छिमेकीले पनि अनेक कुरा लाउँथे । मोतिमायालाई बसिनसक्नु भयो । आफू नभए त बरु लोग्नेले छोराको राम्रोसँग हेरविचार गरिदेलान् कि ? विनोद उनको पनि त छोरा हो नि । मोतिमाया आत्महत्या गर्छु भनी निस्किइन् । मोतिमाया मर्न पासो लगाइरहेको भयङ्कर दृश्य मोहनबहादुरले देख्यो । मोहनबहादुर आत्तिएर दगुर्दै गयो । मोतिमायालाई तानेर परतिर लग्यो । मोहनबहादुरले संसारमा सुख दुख सबैलाई हुन्छ, यदि दुःख नभएको भए हाम्रा सारा सुख खल्लो हुन्थे, दुःख केलाएर स्वादिलो सुख भेटाए मात्र हाम्रो व्यक्तित्वको अस्तित्व रहन्छ भनी सम्झायो । मोतिमायाले अब नमर्ने तर घर पनि नजाने बताइन् । आइमाई मान्छे घर नगए कहाँ जाने ? मोतिमायाले भिक्षुणी, सन्यासिनी भएर ईश्वरको भजन गरेर बस्ने बताइन् । मोहनबहादुरले मोतिमायालाई घर फर्कन धेरै सम्झायो । आफ्नै घरमा बहिनी बनाएर राख्ने र छोरालाई चोरेर ल्याएर भए पनि भेटाइरहने वचन दियो । मोतिमायाले त्यो पनि अस्वीकार गरिन् ।
कुनै भलाद्मी आइमाईहरु मात्र भएको घर भए जाने भनिन् । मोहनबहादुरले आफ्नो घरमा पनि आफूबाहेक सबै आइमाई मात्र रहेको भन्यो । अन्तमा मोतिमाया मोहनबहादुरको घर गइन् । विनोदको यादले मोतिमाया छट्पटाउन थालीन् । मोतिमायालाई श्रीमान र छोरा छोडेर आएकोमा पछुतो लाग्यो । श्रीमानले जस्तो यातना दिए पनि सहनुपर्ने, उनको हातबाट मर्नु परे पनि नरक त जानू पर्ने थिएन । मोतिमायाको मनमा तर्क वितर्कको हुँडरी चल्यो । आइमाई जातिमाथि नै कलंक लगाएँ कि ? मोहनबहादुरले मोतिमायालाई अन्याय गर्ने लोग्नेलाई पूजा गरेर, पाउ परेर धर्म हुँदैन, साँच्चिकैको धर्म त देशको सेवा गर्नु हो, मानिसको हित गर्नु हो भनी सम्झायो । मोहनबहादुरले छोरा विनोदसँग पनि दिनहुँ भेट्न पाउने व्यवस्था मिलाइ दियो । सँगै रहँदा बस्दा मोतिमाया प्रभावित भइन् ।
विनोदसँगको भेटघाट र मोहनबहादुरको हाँसो मजाकले मोतिमाया प्रफुल्ल भइन् । एकदिन साँझ मोहनबहादुरले मोतिमायालाई माया लागेको बतायो । मोतिमाया रोइन्, “अर्कै लोग्ने भएकी आइमाईमाथि हमला गर्नु ठिक छ त ? के मलाई नरकमा पठाउन रहर छ ?” फेरि पनि मोहनबहादुरको मुटु छुने शब्दले मोतिमायाको मन जित्यो । मोतिमायाको मन मैनजस्तै पग्लियो । एककान दुईकान मैदान हुँदै प्रमोदकहाँ पनि खबर पुग्यो । कमलाले त पहिले नै मनढगन्ते आरोप लगाएकै थिइन् । विस्तारै विनोद र मोतिमायाको भेटघाट कम हुँदै गयो । मोतिमायाले साह्रै जिद्दी गरेपछि बल्ल बल्ल विनोदसँग भेट मिल्यो । धेरै समयपछि आमा छोराको भेट भयो । यसअघि घरमा हुनुहुन्न भन्दा तिनपटक रुँदै फर्किएको विनोदले सुनायो । मोतिमाया आश्चर्य चकित भइन् । त्यसपछिका दिनहरुमा पनि मोहनबहादुरले विनोदलाई नै फर्काइ रह्यो । मोतिमाया छोरा आउने बाटो हेरिरहिन् ।
सडकपट्टीको झ्याल समेत खोल्नै नमिल्ने गरी बन्द गरी दियो । प्रमोदले आमा छोराको भेट चाल पायो । फेरि आमालाई भेट्न गए मार्ने धम्की दियो । यदि आमालाई भेट्न गएको प्रमाणीत भए घरबाट निष्कासित हुन राजी भएको र अंशको पनि अधिकार छोड्न मञ्जुर भएको कागज लेखी दियो । विनोदको मातृभक्ति र भावनाको बाढीलाई घर, खेत र सम्पत्तिको बाँधले रोक्न सकेन । केही कुराको पनि वास्ता नगरी ऊ मोतिमायालाई भेट्न गइरह्यो । तर दुष्ट मोहनबहादुरको हृदयमा बलियो ताला लागिसकेको थियोे । एउटा न एउटा बहानाको भूमरीमा परी विनोद निराश हुँदै फर्कनु पथ्र्यो । मोतिमायाको यौवन कब्जा गर्नसम्म मात्रै मोहनबहादुरले फकाउने झण्झट उठाएको थियोे । मोहनबहादुरले धुत्र्र्याइ र बदमाशी गरेर अरू तीन जना सिधीसाधी युवतिहरुको जीवन पनि धूलोमा मिलाइ सकेको थियोे । मोतिमायाको निम्ति यतिका वर्षसम्म मोहनबहादुरको भद्रता अपवाद थियो । मोहनबहादुर स्वास्नीमान्छेको यौवन बीस नाघ्यो कि पङ्चर भएको ठान्दथे ।