भदौ १२,कञ्चन ।
एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित दर्ता गरेको छ । पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले घरेलु मैदानमा ५–० ले पराजित गरेको हो ।
इतिहाद स्टेडियममा घरेलु टोलीको सानदार जितमा फेरान टोरेसले २ तथा इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले १-१ गोल गरे । एकपक्षीय खेलमा सिटीले खेलको सातौं मिनेटमा नै गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । गाब्रियल जेससको क्रसमा उनको हेडर गोलरक्षक बर्न्ड लेनोको हातमा लाग्दै गोल भएको थियो ।
१२औं मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर पारे । १९औं मिनेटमा इमिल स्थिम रोवीको प्रहारलाई गोलरक्षक इडर्सन मोराएसले बचाउँदा आर्सननले गोल अन्तर घटाउन सकेन । ३५औं मिनेटमा ग्रानिट झाका सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल थप दवावमा आएको थियो । जोओ क्यान्ससेलोमाथि फल गरेपछि रेफ्रीले झाकालाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
४३औं मिनेटमा ब्राजिली गाब्रियल जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले ज्याक ग्रेलिसको पासमा सहज गोल गरेका थिए । पहिलो हाफमा नै निकै दबाबमा रहेको आर्सनलले दोस्रो हाफमा पूर्ण रुपमा रक्षात्मक रणनीति अपनाउँदै सिटीलाई रोक्ने काम मात्र गरिरह्यो ।
५०औं मिनेटमा ग्रेलिसको पासमा बर्नाडो सिल्भाको प्रहारलाई गोलरक्षक लेनोले विफल पारे । ५३औं मिनेटमा फेरान टोरेसको पासमा रोड्रीले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । टोरेसले ८४ औं मिनेटमा माहरेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाएका थिए ।
प्रिमियर लिगमा सिटीको यो दोस्रो जित हो । पहिलो खेलमा टोटेनहमसँग १–० ले स्तब्ध भएपछि सिटीले दोस्रो खेलमा नर्विच सिटीमाथि ५–० को जित निकाल्दै जितको लयमा फर्किएको थियो । यो जितसँगै सिटीको तीन खेलबाट ६ अंक पुगेको छ ।
यता, खराब सुरुवात गरेको आर्सनलले लगातार तेस्रो खेलमा गोल गर्न नसक्दा अंकविहिन नै रहयो । यो आर्सनलको क्लब इतिहासकै सबैभन्दा खराब सुरुवात हो । आर्सनल पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० ले पराजित भएको थियो ।