भदौ ५,कञ्चन ।
एजेन्सी – सेनेगलका साडियो माने र पोर्चुगिज डिएगो जोटाको गोलको मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमा नर्विच सिटीलाई ३–० ले पराजित गरेको लिभरपुलले शनिबार घरेलु मैदानमा भएको खेलमा बर्नलेमाथि २–० को सहज जित हात पारेको हो । जोटाले पहिलो हाफमा तथा मानेले दोस्रो हाफमा गोल गरे ।
एनफिल्डमा खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड बनाएको लिभरपुलले खेलको १८औं मिनेटमा डिएगो जोटाको गोलबाट अग्रता लिएको थियो । उनले कोन्सटानटिनोस सिमिकासको क्रसमा हेडरमार्फत गोल गरेका थिए । २७औं मिनेटमा हार्भे एलिओटको पासमा मोहम्मद सलाहले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता नपाउँदा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । भिएआरमा उनी अफसाइड पोजिसनमा रहेको देखिएको थियो ।
४५औं मिनेटमा म्याथ्यु लोटनको लामो फ्रिकिकमा जेम्स टार्काेओस्कीले गोलरक्षक एलिसन बेकरले बिट गर्दै गरेको हेडर पोस्ट नजिकैबाट बाहिरिदा बर्नले बराबरीबाट चुक्यो । दोस्रो हाफको शुरुमै लोटनकै क्रसमा हार्भे बार्नेसले गोल गरेपनि उनी अफसाइड ठहरिदा बर्नले पुनः बराबरीबाट चुक्यो ।
५८औं मिनेटमा साडियो मानेले अवसर खेर फाल्दा लिभरपुलले अग्रता दोब्बर पार्न सकेन । ६२औं मिनेटमा डिएगो जोटाकै पासमा मानेको प्रहारलाई बर्नले गोलरक्षक निक पोपले विफल पारे । ६९औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
७३औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसलाई भर्जिल भान डाइकले गोलरक्षक पोपलाई अल्झाइरहेको अवस्थामा जोएल मटिपको प्रहार फितलो बन्दा बार्नेसले गोल लाइनबाट बचाउँदै बर्नलेको अर्काे संकट टारे ।
यो जितसँगै लिभरपुलको २ खेलबाट ६ अंक पुगेको छ । दुवै खेलमा पराजित बर्नलेले दुई खेलबाट अंक जोड्न सकेको छैन । बर्नले पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको थियो ।