साउन ३२, कञ्चन । एजेन्सी
साविकको विजेता एट्लेटिको म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ ।सेल्टा डि भिगोलाई उसकै मैदानमा २–१ ले हराउँदै एट्लेटिकोले विजयी सुरुवात गरेको हो ।
एट्लेटिकोको जितमा दुवै गोल एन्जल कोरेआले गरे । घरेलु टोलीका इगो आस्पासले एक गोल फर्काए । एवान्का बालाइडोस भिगोमा आइतबार राति भएको खेलको २३औं मिनेटमा एन्जल कोरेआको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले थोमस लेमारको पासमा गोल गरेका थिए ।
५९औं मिनेटमा इगो आस्पासले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । मार्काेस लोरेन्टले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै घरेलु टोलीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा आस्पास चुकेनन् ।
६४औं मिनेटमा एन्जल कोरेआको व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले खेलमा पुनः २–१ को अग्रता लिन सफल भयो । उनले सउल निग्वेजको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल एट्लेटिकोले आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलको अन्त्यतिर तनावपुर्ण स्थिति बन्दा दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुइस सुआरेजमाथि फउल गरेपछि दुवै टोलीका खोडी एक आपसमा विवादमा उत्रदा रेफ्रीले ह्युगो मालो र मारियो हर्माेसोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
ला लिगामै आइतबार राति भएको खेलमा सेभियाले सफलता हात पारेको छ । सेभियाले १० खेलाडीमा समेटिएको रायो भालेकानोलाई ३–० ले पराजित गरेको हो ।
१६औं मिनेटमा ओउसामा इद्रिसीलाई पेनाल्टी बक्समा फल गरेपछि गोलरक्षक लुका जिदान सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा सेभियाले उठाउन सफल भएको थियो । प्राप्त पेनाल्टीमा युस्सुफ इन न्यास्रीले गोल गरेर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि इरिक लमेलाले ५५औं र ७९औं मिनेटमा गोल गर्दै सेभियालाई सहज जित दिलाए ।
अर्काे खेलमा बार्सिलोनाले रियल सोसिडालाई ४–२ ले पराजित गरेको छ । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ तथा जेरार्ड पिके र सर्जी रोबर्टाेले गोल गरे । सोसिडाडका जलेन लोवेटे र मिकेल ओयार्जावालले गोल फर्काए ।