साउन ३२,कञ्चन ।
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ ।
कोरोना महामारीको कारण खेलाडीहरुको आर्थिक चुनौतिलाई ध्यानमा राख्दै २० प्रतिशतले तलब बढाएको इपिएलले जनाएको छ । इपिएलको अन्तिम संस्करण २०१८ मा भएको थियो । इपिएल अक्सन २०१७ मा भएको थियो । इपिएलको नियम अनुसार एक पटक अक्सन भएपछि तीन वर्ष त्यहिँ आधारमा चल्ने छ । सिजन सुरु हुनुअघि खेलाडी रिलिज र रिटेन (फुकुवा र अनुबन्ध) साथै किनबेच भने गर्न पाइन्छ । अक्सनको चार वर्षपछि आयोजकले २० प्रतिशत तलब बढाएका हो । २०१७ को अक्सनमा न्युनतम मूल्य ५० हजार देखि खेलाडी अधिक्तम १ लाख ७५ हजार रुपैयाँ सम्म पाएका थिए ।
चौथो संस्करण २०१९ मा हुनुपर्ने थियो । तर नेपाली क्रिकेटको ब्यस्त अन्तर्राष्ट्रिय कार्यतालिका कारण हुन सकेन । त्यसपछि लगातार स्थगित हुँदै आएको थियो । गतवर्ष चैतमा गर्ने तयारी गरेपनि कोरोना महामारीको कारण अन्तिम समयमा स्थगित भएको थियो । यस पटक भने आयोजकले समयमै आयोजना गर्ने गरि तयारी अघि बढाएको छ ।
फ्रेन्चाइज टोलीले पनि विदेशी खेलाडी अनुबन्ध गर्न थालेका छन् । काठमाडौं किंग्स ११ ले पाकिस्तानका स्टार पूर्वअलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गरि सकेको छ । भैरहवा ग्ल्याडियटर्सले श्रीलंका विकेटकिपर दीनेश चान्डिमल, चितवनले पाकिस्तानका डानिस अजिजको नाम सार्वजनिक गरि सकेको छ ।
प्रतियोगिताम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज गरि ६ सहरका ६ फ्रेन्चाइज टोली छन् । पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपधि जितेको थियो ।