साउन ३१, कञ्चन । एजेन्सी
प्रि–सिजनको मैत्रीपुर्ण खेलमा इटालयन क्लब युभेन्ट्स र एसी मिलान विजयी भएका छन् । एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले सिरी ‘ए’ प्रतिद्धन्द्धी एटलान्टालाई ३–१ ले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा पाउलो डिबाला, फेडरिको बर्नरडेस्ची र अल्भारो मोराटाले गोल गरे । एटलान्टाका लुइस मुरेलले एक गोल फर्काए । खेलको आठां मिनेटमा पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो ।
१७औं मिनेटमा लुइस मुरेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ३९औं मिनेटमा फेडरिको बर्नरडेस्चीले तथा ९०औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए ।
यस्तै एसी मिलानले ग्रीसको पानाथिनाइकोसलाई २–१ ले पराजित गरेको छ । मिलानका लागि दुवै गोल न्यु ब्वय ओलिभर जिरुउडले गोल गरे । पानाथिनाइकोसका फोटिस लोननिडिसले एक गोल फर्काए ।
यस्तै अर्काे मैत्रीपुर्ण खेलमा एसएस रोमाले मोरोक्कोको राजा कासाब्लान्कामाथि ५–० को फराकिलो जित निकालेको छ । रोमाको जितमा इल्डर सोमुरोडोभ, जियानलुका मान्सिनी, हेनरिक मिख्तरयन, कार्लेस पेरेज र बोर्जा मायोरलले गोल गरे । एकपक्षीय खेलमा पहिलो हाफमा दुई तथा दोस्रो हाफमा ३ गोल निस्किएको थियो ।
स्पेन, फ्रान्स, इंग्ल्यान्ड र जर्मनीमा नयाँ सिजन सुरु भइसकेको छ । इटालियन सिरी ‘ए’ अर्काे सातादेखि सुरु हुदैछ ।