साउन ३१,कञ्चन । एजेन्सी
इजिप्टियन फरवार्ड मोहम्मद सलाहले एक गोल गर्नुका साथै दुई असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा मर्सिसाइड क्लब लिभरपुलले सहज जित दर्ता गरेको छ ।
लिभरपुलले घरेलु टोली नर्विच सिटीमाथि ३–० को सहज जित हात पारेको हो । लिभरपुलको जितमा डिएगो जोटा, रोबर्टाे फिर्मिनो र मोहम्मद सलाहले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो ।
क्यारो रोड नर्विच नोरफल्कमा लिभरपुलले खेलको २६औं मिनेटमा पोर्चुगिज फरवार्ड डिएगो जोटाको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।
६५औं मिनेटमा सब्सिच्युट रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा जोटाको स्थानमा मैदान छिरेका फिर्मिनोले मैदान छिरेको चार मिनेट भित्र नै सलाहको पासमा गोल गर्न सफल भएका थिए ।
अघिल्लो दुई गोलमा असिस्ट दिएका सलाहले ७४औं मिनेटमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । बेन गिब्सनले क्लियर गरेको बल सलाहसमक्ष पुगेपछि उनले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक टिम क्रुलले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले विजयी सुरुवात गर्न सफल भयो ।
जितपछि लिभरपुलले ३ अंक जोडेको छ । प्रिमियर लिगको पहिलो खेलमा हालसम्म ८ टोलीले जित निकाल्न सफल भएको छ । ब्रेन्फर्ड, म्यानचेस्टर युनाइटेड, चेल्सी, एभर्टन, वाट्फोर्ड, ब्राइटन र लेस्टर सिटीले जित निकाल्न सफल भएका छन् ।