साउन ३०,कञ्चन । एजेन्सी
पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको ह्याट्रिक तथा फ्रान्सेली मिडफिल्डर पल पोग्बाको चार असिस्टमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । युनाइटेडको जितमा थप गोल मासन ग्रीनवुड र फ्रेडको नाममा रह्यो । लिड्सका लुके एयलिङले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा समर्थक माझ खेलाइएको खेलमा युनाइटेडले गोलको लागि पहिलो हाफको ३० मिनेटको समय नै कुुर्नु परेको थियो ।
३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ब्रुनोको प्रहार गोलरक्षक इभान मेलिएरलाई लागेपनि गोल भएको थियो ।
दोस्रो हाफको सुरुवातमै लुके एयलिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले स्टुआर्ट डालासको पासमा गोल गरेका थिए । लिड्सको बराबरी गोलपछि ९ मिनेटको अन्तरमा तीन गोल गरेपछि युनाइटेडले खेलमा ४–१ को आरामदायी अग्रता लिन सफल भयो । ५२औं मिनेटमा मासन ग्रीनवुडले पोग्बाकै पासमा गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए ।
त्यसको दुई मिनेटपछि पोग्बाकै पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा युनाइटेडले खेलमा ३–१ को अग्रता लियो । ६०औं मिनेटमा ब्रुनोले ह्याट्रिक पुरा गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले भिक्टर लिन्डेलफको पासमा गोल गरेका थिए ।
नयाँ सिजनमा ब्रुनोको ह्याट्रिक पहिलो ह्याट्रिक बन्यो । युनाइटेड यतिकै रोकिएन । ६८औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए । यही खेलबाट यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट युनाइटेड आएका इंग्लिस मिडफिल्डर जेडान सान्चोले प्रिमियर लिगमा डेब्यु गरे । उनले ७५औं मिनेटमा ड्यानियल जेम्सलाई प्रतिस्थापन गरे । जितपछि युनाइटेडले ३ अंक जोडेको छ । हारसँगै लिड्स अंकविहीन बन्यो ।
यसअघि शुक्रबार राती भएको पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्डले आर्सनललाई २-० ले पराजित गरेको थियो । आज हुने अन्य खेल यसप्रकार छन् :
रातको ७:४५ बजे – बर्नली विरुद्ध ब्राइटन एन्ड होभ आल्बियन
रातको ७:४५ बजे – चेल्सी विरुद्ध क्रिस्टल प्यालेस
रातको ७:४५ बजे -एभर्टन विरुद्ध साउथह्याम्पटन
रातको ७:४५ बजे -लेस्टर सिटी विरुद्ध वल्भ्स
रातको ७:४५ बजे – वाटफर्ड विरुद्ध एस्टन भिल्ला
रातको १०:१५ बजे – नर्विच सिटी विरुद्ध लिभरपुल