साउन २९,कञ्चन ।
जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै गत सिजनको च्याम्यिन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल बोरुसिया पार्कमा नेपाली समयअनुसार १२:१५ बजे हुनेछ ।
प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको बायर्न बुन्डेसलिगाको पहिलो खेलमै बलियो मोन्चेनग्लाडवाकलाई हराउँदै सुखद सुरुवात लिने लक्ष्यमा हुनेछ । नयाँ प्रशिक्षक जुलियन नागेल्समानले प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न नसकेपनि बुन्डेसलिगामा राम्रो प्रदर्शन हुने अपेक्षा राखेका छन् । टोलीले मुख्य सेन्टरब्याक डेभिड अलाबालाई यो सिजन गुमाएपनि अन्य खेलाडीहरु टोलीमै रहेका छन् ।
अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता रोबर्ट लेवान्डोस्की, थोमस मुलर, सर्ज गिनाब्री, लिरोए साने, जोसुवा किम्मिख, लियोन गोरेट्जका, अलफन्सो डेभिस, बोउना सार भेट्रान गोलरक्षक तथा कप्तान म्यानुयल नोएर टोलीमा रहेका छन् । डिफेन्डर डेविड अलाबाले क्लब छाडेपछि अब लुकास हर्नान्डेज र निकलस सुलले डिफेन्स सम्हाल्ने देखिन्छ ।
यता, मोन्चेनग्लाडवाक पनि बायर्नलाई स्तब्ध पार्दै नयाँ सिजनमा सुखद सुरुवात लिने लक्ष्यमा हुनेछ । युरोमा सानदार प्रदर्शन गरेका स्विस गोलरक्षक यान सोम्मर आफ्नो लय कायम राख्ने लक्ष्यमा हुनेछन् । टोलीसँग लार्स स्टिनडिल, हान्नेस वल्फ, प्याट्रिक हर्मन, फ्लोरिएन नेउहस, निको इल्भेडी र म्याथियस जिन्टरको साथ रहेको छ ।
यि दुई टोलीको पछिल्लो २८ खेलको नतिजामा बायर्न ११ खेलमा विजयी भएको छ । ९ खेल मोन्चेनग्लाडवाकले आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो चार खेलमा दुवै टोलीले समान २ जित निकालेका छन् ।