विद्यालयमाथि परिवारको निर्भरता
कोभिड १९ भाइरस सङ्क्रमण रोकथामलाई मध्यनजर गर्दै सङ्घीय सरकार र स्थानीय सरकारले चैत ५ गतेभित्र अन्तिम परीक्षा सम्पन्न गरी विद्यालयको पठनपाठन बन्द गर्न निर्देशन गरे । ६ गतेबाट देशभरि सुरू हुने एसईई अचानक ५ गते साँझ ६ बजेतिर अथवा परीक्षा सुरू हुनु १३ घन्टाअगाडि स्थगन गरेको समाचारले विद्यालय, परीक्षार्थी र अभिभावकहरूमा अन्योल छायो । त्यसको पाँचदिनपछि अथवा चैत ११ गतेबाट लकडाउनको घोषणा गर्दा धेरैलाई स्कूल जाने आफ्नो बालबच्चालाई घरमा कसरी सम्हाल्ने भन्ने पिरलो भयो । यही समस्यालाई सम्बोधन गर्ने उद्देश्यले धेरै विज्ञ र मनोविज्ञहरूबाट विभिन्न सञ्चारमाध्यममार्फत आ–आफ्नो विचार र उपायहरू सुझाएको हामी सबैले पढ्न पायौँ । हो, आज हाम्रो समाज र परिवारको संरचना पहिलेको जस्तो छैन । सहरी क्षेत्रमा बढ्दै गएको एकल परिवारको आकारले सामाजिक सम्बन्धहरूदेखि अन्य धेरै कुराहरूमा असर गरेका छन् । शिशुशालाहरू (डे केयर सेन्टर) र वृद्धाश्रमहरूको स्थापना हुँदै जानु पनि यसैको परिणाम हो । एकल परिवारका दुवै आमा र बुबा कामकाजी हुँदा शिशुहरूको स्याहार–सुसार, लालन–पालन र शिक्षा–दीक्षाको लागि उनीहरू विद्यालयमै निर्भर हुँदै गइरहेका छन् । विद्यालयमाथि बढ्दै गएको परिवारको निर्भरताले नै आज लकडाउनबाट कसरी पार पाउने भन्ने चिन्ता अभिभावहरूमा देखिनु अस्वाभाविक होइन ।
परिवार जीवनको पहिलो पाठशाला
परिवार नै बालकको पहिलो पाठशाला र आमा पहिलो शिक्षक भन्ने शिक्षाशास्त्रको प्रामाणिक मान्यताविपरीत वर्षदिनै नपुगेका दुधेबालकलाई विद्यालयमा भर्ना गर्न अभिभावकहरू बाध्य छन् । यसले सानो नानीले घरमै सिक्नुपर्ने धेरै संस्कारगत कुराहरू सिक्न नपाइरहेका हुन्छन् । नानीको सन्तुलित विकासको लागि सबभन्दा महत्वपूर्ण कुरा आमा–बुबाको सामीप्यता उसले पाउँदैन । त्योभन्दा पनि महत्वपूर्ण कुरा साना नानीहरूको बालापनबाट ऊ बञ्चित हुन्छ । पूर्वप्राथमिक र शिशुशालाहरूमा दिनको पाँच घण्टामात्र नानीलाई राख्नमिल्ने विज्ञहरूले ल्याएको अवधारणा नै उसले यी कुराबाट बञ्चित नहोस् भनेर हो । तर, दुर्भाग्य आज–भोलि विभिन्न कारणले उनीहरू १० घण्टासम्म विद्यालयमा हुन्छन् । प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरू पनि थप र ट्युसन कक्षाको नाममा ९–१० घण्टा विद्यालयमै हुन्छन् । यस अवस्थाले विद्यार्थीहरूले जीवनका लागि सिक्नुपर्ने अन्य धेरै जीवनोपयोगी सीप सिक्नबाट उनीहरू बञ्चित भइरहेका हुन्छन् । त्यसैले परिवारसँगै बसेर सिक्ने र सिकाउने अवसरलाई कुनै पनि बेला हामीले उपयोग गर्नुपर्दछ । विद्यालयप्रतिको अति निर्भरताले परिणाम सकारात्मक नै हुन्छ भने होइन ।
धीरूभाइ
भारतीय अर्बपति मुकेश अम्बानी र अनिल अम्बानी हाम्रो लागि नौलो नाम होइन । उनका पिता धीरूभाइ अम्बानी एक स्कुल शिक्षकका छोरा थिए । विद्यालयको शिक्षामा निकै कममात्र भरपर्नुपर्ने र जीवनको लागि आवश्यक धैरै सीपहरू कक्षा कोठाभित्र होइन अनुभव गरेर सिक्नुपर्ने मान्यता राख्ने ब्यक्ति थिए । धीरूभाइ सायदै छोराहरूको स्कूलमा गए । व्यक्तिको सोचाइको दायरा फराकिलो पार्न र उसलाई अलराउन्डर बनाउनुपर्ने र त्यसको लागि विद्यालयमा पढाइने विषयमात्र पर्याप्त नहुने र सामान्य ज्ञानदेखि लिएर अन्य खेलकुद तथा अन्य विभिन्न विषयको बारेमा पनि जानकारी दिनुपर्ने भएकोले यसकै लागिम उनले घरमा शिक्षकको व्यवस्था गरे । यहाँ उनको जोड एक्सटेनसिभ रिडिङ (extensive reading) मा हो, जुन विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तकभित्र रहेर पढाइने (intensive reading)को दायराभन्दा फराकिलो हुन्छ । यस एक्सटेनसिभ रिडिङको लागि कुनै परीक्षाको आवश्यकता पनि हुँदैन । धीरूभाइ अम्बानीको त्यस सोचाइको परिणाम आज हामी सबैसामु छर्लङ्ग छ ।
परिवारभित्र के शिक्षा पाउन सकिन्छ ? भन्ने अर्को एक प्रसङ्ग पनि यहाँ उठाउन सान्दर्भिक होला । आधुनिक बिजुलीको चिम, टेलिग्राफ र अन्य धेरै प्रविधिका जन्मदाता र आविष्कारक थोमस एल्वा एडिसन हुन् । बा¥ह वर्षकै उमेरमा श्रवणशक्ति गुमाउनुपरेका उनी प्राथमिक तहमा अध्ययन गर्दै गर्दा एकदिन उनको आमालाई विद्यालयबाट चिठी पठाउँछ ।
एडिसन
चिठी पढेर आमाको आँखा रसाउँछ । छोरो एडिसनले – चिठीमा के लेखेको छ आमा भनी सोध्दा आमाले आँसु पुछ्दै भनिन्, “तपार्इँको छोरो सा¥है जिनियस छ । हाम्रो स्कूल सानो छ र शिक्षकहरू पनि त्यति तालिम प्राप्त छैनन् । त्यसैले तपाईँ छोरोलाई घरमै शिक्षा दिनुस् ।” एडिसनको विद्यालयको यो चिठीको धेरै वर्षपछि उनको आमाको मृत्यु हुन्छ । यसबीच एडिसन वैज्ञानिक कनिसकेका हुन्छन् । एकदिन उनी अचानक आमाको दराजको कुनामा रहेको सानो कागजको टुक्रा उत्सुकताका साथ के रहेछ भनी हेर्छन् । त्यो त उनकी आमालाई विद्यालयले पठाएको चिठी पो हुन्छ । एडिसन त्यो पढ्छन् र घण्टौँ भकानिएर रून्छन् । वास्तवमा त्यस चिठीमा लेखिएको हुन्छ, “तपाइँको बच्चा बौद्धिकरूपमा कमजोर छ, उसलाई हामी पढाउन सक्दैनौँ, विद्यालय नपठाउनुस् ।” विद्यालयले बौद्धिकरूपमा कमजोर भनी निकालिएको छोरोलाई आमाले कसरी वैज्ञानिक बनाइन् ? एडिसनको विलक्षण प्रतिभालाई विद्यालयले कसरी चिन्न सकेन ? यस तथ्यले विद्यालयको पढाइको सीमा हुन्छ भने प्रस्ट पार्छ ।
केही व्यावहारिक ज्ञान
विद्यालयमा पढ्ने उमेरका केटाकेटीहरूले उनीहरूको व्यक्तित्व विकासको लागि सिक्नुपर्ने अन्य धेरै सीपहरूमध्ये परिवार, छरछिमेक, नातागोता र नौलो व्यक्तिसँगको संवाद र सम्बन्ध सुमधुर (communication and rapport building)बनाउनु पनि हो । यी सीपबिना केटाकेटीहरू व्यावहारिक हँुदैनन् । बरू उनीहरू एकाङ्गी र एकोहोरो हुन्छन् । यस्तो स्वभावले उनीहरूको व्यक्तित्वमा असर गरिरहेको हुन्छ । घर–परिवार, छरछिमेक, नाता–कुटुम्बबाट पनि सिक्ने यस्ता सबै सीपहरू विद्यालयमा सिकाइँदैन । बिजुलीका तार, चिम र अन्य सामानहरूको हेरचाह, कुनै मेसिनलाई खोलेर त्यसको सरसफाइ गर्ने । यस्ता कुराहरू विद्यालयको पाठ्यक्रममा भेट्दा पनि भेटिदैनन् । यस्ता सबै ब्यावहारिक सीपहरूलाई विद्यालयको पाठ्यक्रममा राखेर साध्य पनि हुँदैन । एउटा अर्को उदाहरण लिऔँ, ४÷५ कक्षामा पढ्ने केटाकेटीलाई साइकल चढ्न सिकाउने कुरा विद्यालयको कोर्समा राख्यो भने के होला ? साइकलको इतिहास, पार्टपुर्जाको परिचय, ती पार्टपूर्जाले कसरी काम गर्छ भन्ने भौतिक विज्ञानको (physic) सिद्धान्त सबै समावेश गर्दा यो विषय केटाकेटीलाई टीठ लाग्छ र साइकल चढ्न सिकाउने सीप अलपत्र हुन्छ । यसले महिनौँको समय लिनसक्छ । जबकि टोल छिमेकमा साइकल चढ्ने सीप हामी दिनको केही घण्टाको हिसाबले २-३ दिनमा सिक्छौँ । त्यसैले हरेक कुरा सिक्न विद्यालय नै आवश्यक छ भन्ने होइन । तर, दुर्भाग्य विद्यालय र विश्वविद्यालयको सिकाइलाई हामी आज आवश्यकता भन्दा धेरै महत्व दिन्छौँ र छोराछोरीलाई भन्छौँ, “नानी, बाबु तिमीले घरमा केही गर्नु पर्दैन राम्ररी पढेमात्र पुग्छ ।” यसरी हामी आफै उनीहरूलाई अप्रत्यक्षरूपमा अव्यवहारिक बनाउँदै छौँ । विद्यालय र विश्वविद्यालय बाहिर पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने कुरालाई बेलायतका धनाढ्य, उद्यमी एवं व्यापारी रिचर्ड ब्रेनसनले यसरी भनेका छन् –“यदि तपाईँ आफ्नो लक्ष्यमा पुग्नको लागि तपाईँसँग कुनै राम्रो र उचित अनुभव तरिका छैन भने अर्को उपाय सोच्नुुस् । पाइलट बनेर हवाईजहाज उदाउनु छ भने विमानस्थलमा गएर १६ वर्षकै उमेरमा चिया भए पनि बेच्न थाल्नुस् । तर हरपल सजग र सिक्न तत्पर हुनुस् । फेसन डिजाइनर हुन तपाईँ कुनै आर्ट स्कूलमा जानुनपर्ला । कुनै फेसन कम्पनीमा जानुस् र कुच्चो लगाउने र सरसफाइको काम भए पनि गर्न थाल्नुस् । तर त्यहाँ हुने हरेक कामलाई नियाल्नुस् र सिक्ने कोशिश गर्नुस् ।”
एअरपोर्टमा चिया बेचेर पाइलट बन्ने र फेसन कम्पनीमा कुच्चो लगाएर फेसन डिजाइनर हुने ब्रेनसनको कुरा कता–कता हावाजस्तो लाग्ला । तर, यसमा लुकेको साड्ढेतिक अर्थ भनेको विद्यालय र विश्वविद्यालय बाहिर पनि धेरै ज्ञान र सिप सिक्न सकिन्छ भन्ने आशय हो । केटाकेटीमै डिक्सलेक्सियाबाट लेखाई र सुनाइमा समस्या देखिने रोग) पीडित ब्रेनसन विद्यालयको पढाइमा निकै कमजोर थिए र १६ वर्षमै विद्यालय शिक्षा त्याग्नुपयो । उनले इङ्गित गरेका कुरालाई लिएर सफल र असल व्यक्तिहरूको सूची तयार ग¥र्यौँ भने लामै होला । हामी आफै सोचौँ र आफ्ना छोराछोरीहरूलाई उनीहरू विद्यालयमै नरहँदा पनि धेरै व्यावहारिक कुराहरू सिकाऔँ ।
२२ चैत २०७६