
१३ असार, बागलुङ्ग
ढोरपाटन नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु= ६२ करोड ७० लाख ६६ हजार २ सय बराबरको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख धनबहादुर कायतले नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, सुशासन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
प्रस्तुत बजेटमध्ये चालुतर्फ रु.४४ करोड ६२ लाख ६६ हजार २ सय तथा पुँजीगततर्फ रु. १८ करोड ८ लाख विनियोजन गरिएको छ। नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दातलाई बजेटको मुख्य स्रोतका रूपमा लिएको जनाएको छ।
सामाजिक विकासमा सबैभन्दा ठूलो लगानी
नगरपालिकाले सामाजिक विकासतर्फ संघीय सशर्त अनुदानसहित रु। ३१ करोड ४० लाख ७० हजार बजेट विनियोजन गरेको छ। शिक्षा क्षेत्रअन्तर्गत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक, स्थानीय पाठ्यपुस्तक प्रकाशन, ई–हाजिरी, सूचना प्रविधि, प्रारम्भिक बालविकास, शैक्षिक गुणस्तर सुधार तथा खेलकुद विकासका कार्यक्रम सञ्चालन गरिने भएका छन्।
त्यसैगरी, नगरपालिकाले मासिक रूपमा प्रधानाध्यापक बैठक सञ्चालन गरी विद्यालयका असल अभ्यास आदानप्रदान गर्ने तथा विद्यालयसँग शैक्षिक सुधारका लागि कार्यसम्पादन सम्झौता गर्ने नीति अवलम्बन गरेको छ।
स्वास्थ्य र पूर्वाधारमा जोड
स्वास्थ्यतर्फ निःशुल्क स्वास्थ्य शिविर, औषधि खरिद, प्रसूति प्रतिक्षालय स्थापना, स्वास्थ्य बीमा, आयुर्वेद सेवा विस्तार लगायतका कार्यक्रम सञ्चालन गरिनेछन्। पूर्वाधार विकासतर्फ सडक, पुल, भवन, खानेपानी, सिँचाइ र सडक बत्ती विस्तारका लागि उल्लेखनीय बजेट छुट्याइएको छ।
कृषि, पर्यटन र रोजगार प्रवर्द्धन
कृषि उत्पादन वृद्धि, आलु महोत्सव, आधुनिक कृषि उपकरण वितरण, मौरी तथा फलफूल प्रवर्द्धन, पशुपालन, पर्यटन पूर्वाधार निर्माण तथा रोजगार र उद्यमशीलता विकासका कार्यक्रमलाई समेत बजेटले प्राथमिकता दिएको छ।
नगरपालिकाले प्रस्तुत बजेटले कृषि, पर्यटन, मध्यपहाडी व्यापारिक नगर ः समुन्नत र समृद्ध ढोरपाटनू भन्ने दीर्घकालीन सोचलाई कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।