१२ असार, गुल्मी
सामाजिक, शैक्षिक र राजनैतिक रुपमा समेत जिल्लाको गणनामा पर्दै आइरहेको गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा बाल शिक्षामा नयाँ आयाम थप्ने उद्धेश्यका साथ बालमैत्री सिकाई केन्द्र सञ्चालनमा ल्याइएको छ। बालबालिकाको सर्वाङ्गिण विकास गर्दै सिकाईलाई सहज, रमाइलाृे र प्रभावकारी बनाउने उद्धेश्यका साथ स्थापना गरिएको बालमैत्री सिकाई केन्द्रको परिकल्पना तथा योजना बालमैत्री शिक्षण सिकाईका प्रशिक्षक पासाङ्ग सिञ्जालीले गर्नु भएको हो ।


हिजो विहिवार सिकाई केन्द्रकोको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति गुल्मीका सदस्य नरमाया रानाले बालबालिकाको रुचि, क्षमता र सिक्ने गति अनुसार सिकाईको व्यबस्थित तथा उचित वातावरण सहित बालबालिकाहरुलाई शिक्षण गर्नु चुनौतीलाई कम गर्न सिकाई केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नु भएको छ । बाललबालिकाहरुलाई शिक्षण गर्नु गराउनु आफैमा जटिल पेसा भएको उल्लेख गर्दै उनिहरुको रुचि, चाहना र क्षमता अनुरुप शिक्षण गर्न सक्ने दक्ष जनशक्ती उत्पादनमा बालमैत्री सिकाई केन्द्रको उदाहरणीय कार्य हुनेमा आशा व्यक्त गर्नु भएको थियो बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालमैत्री तथा मन्टेसरी शिक्षण पद्धति समाजका लागि अनिवार्य आवश्यकताको रुपमा बिकास भइरहेको उल्लेख गर्दै सिकाई केन्द्रको स्थायित्वका लागि सबै पक्षको सहयोग र सहकार्य अनिवार्य रहने रानाले बिचार व्यक्त गर्नु भएको थियो।

यसैगरी सत्यवती गाउँपालिका वडा नं. ३ का वडा अधयक्ष जित बहादुर तरामु मगरले बालमैत्री शिक्षण सिकाईको अभावका कारण धेरै बालबालिकाहरुको क्षमता भन्दा बढी पाठ्य सामग्री र शिक्षण सिकाई कृयाकलाप सञ्चालन गरिंदा बालबालिकाहरुले समयमा उचित शिक्षा प्राप्त गर्नबाट बञ्चित हुने अवस्था सिर्जना भइरहेको धारणा व्यक्त गर्नु भएको थियो। विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय सरकारको सहकार्यबाट गुणस्तरीय शिक्षा सुनिश्चित गर्नमा समेत केन्द्रलाई उपयोग गर्न सकिने भन्दै वडा अध्यक्ष तरामुले बालबालिकाहरुको उमेर, रुचि, चाहना र क्षमता अनुसारको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न सक्ने दक्ष जनशक्तीको अभावलाई पुरा गर्नमा बालमैत्री सिकाई केन्द्र उद्यत हुनेमा विश्वस्त रहेको उल्लेख गर्नु भएको थियो ।

यस्तै उक्त कार्यक्रममा साहित्यकार तथा अध्येता खोमा तरामु मगरले दुर्गमबस्तीका बालबालिकाहरुलाई उमेर अनुसारको गुणस्तरीय शिक्षा दिने उद्धेश्यका साथ सञ्चालन गरिएको सिकाई केन्द्र समाजको अभिन्न अंगको रुपमा स्थापित गराउनमा सबैको अनिवार्य कर्तव्य र जिम्मेवारीको रुपमा ग्रहण गर्नु पर्नेमा जोड दिनु भएको थियो। बनमा लाग्ने डढेलोको शुरुवात आगोको सानो झिल्कोबाट शुरु भएजस्तै सत्यवतीको शिक्षामा नयाँ आयाम थप्ने कार्यमा ठूलो लुम्पेकमा सञ्चालन गरिएको बालमैत्री सिकाई केन्द्र आगोको झिल्को सरह बन्ने अध्येता तरामु मगरले विश्वास व्यक्त गर्नु भएको छ। विभिन्न सन्दर्भ श्रोतहरुको खोज तथा अध्ययन गर्नै आउनु भएका लेखक तरामुले बालमैत्री वातावरण र व्यवहारिक शिक्षाले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र जीवनोपयोगी सीपको विकास गर्ने भएकोले पनि दुर्गमबस्तीहरुमा बालमैत्री सिकाइ केन्द्रको महत्व बढ्दै गइरहेको समेत बताउनु भएको थियो।

धर्मपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक बल बहादुर राहादीले विद्यालयमा सञ्चालन गरिएको बलामैत्री सिकाई केन्द्रले मन्टेश्वरी शिक्षा लिनबाट बञ्चित स साना बालबालिका र उनिहरुका अभिभावकहरुलाई समेत सिकाई केन्द्रको महत्व बढाउने बताउनु भएको थियो। हरेक अभिभावकहरुले बालमैत्री शिक्षण सिकाई भनेको के हो र बालमैत्री सिकाई किन आवस्यक छ भन्ने कुराको ज्ञान र सिप हासिल गर्न सकेमा बालबालिकाहरुको शिक्षण सिकाईमा अझ बृद्धि हुदै जाने प्रधानाध्यापक राहादीको भनाई रहेको थियो।
धर्मपुर उच्च माध्यमिक विद्यालय, सत्यवती ३ ठूलो लुम्पेक गुल्मीको आयोजनामा सञ्चालन गरिएको बालमैत्री सिकाई केन्द्रको औचित्यबारे उल्लेख गर्दै पासाङ्ग सिञ्जालीले बालबालिकाहरुको उमेर, रुचि र क्षमता अनुसार खेल्दै, गर्दै अनुभव गर्दै र खोज्दै सिक्ने भएकाले उनिहरुका लागि बालमैत्री र अकार्षक सिकाई वातावरणको आवस्यकतालाई पुरा गर्न सिकाई केन्द्र स्थापना गरिएको बताउनु भएको थियो।

बिशेषगरी बालबालिकाको भाषा, गणित, सिर्जनशिलता, सामाजिक तथा व्यबहारिक सीप बिकास गर्न बालमैत्री सिकाई केन्द्रको अवधारणा ल्याइएको उल्लेख गर्दै सिकाई केन्द्रका परिकल्पनाकार सिञ्जालीले परमपरागत घोकाईमुखी शिक्षण भन्दा पृथक रुपमा बालबालिकाहरुले सिक्ने अवसर पाउने उल्लेख गनुृ भएको थियो।
धर्मपुर माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अर्जुन तरामु मगरको अध्यक्षता तथा शिक्षक प्रदिपा थापाको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय शिक्षाप्रेमी तथा अभिभावक बेल बहादुर थापाले समेत बोल्नु भएको थियो। धर्मपुर माध्यमिक विद्यालयको पूर्व प्राथमिक तह शिक्षण केन्द्रमा सञ्चालनमा ल्याइएको सिकाई केन्द्रको शुभारम्भ कार्यक्रममा अभिभावक, शिक्षक, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरू उपस्थिति रहेको थियो।
बालबालिकाको शिक्षण सिकाईमा गुणस्तरीय शिक्षाको आधार निर्माण गर्न र विद्यालयप्रति बालबालिका र अभिभावकहरुको समेत आकर्षण र विश्वास बढाउन मद्धत पुर्याउने उद्धेश्यका साथ सञ्चालन गरिएको बालमैत्री सिकाई केन्द्रको शुभारम्भ कार्यक्रममा स्थानीय अभिभावकहरुद्वारा निर्माण गरिएको परमपरा झल्काउनेगरी शिक्षण सिकाईका लागि आवस्यक शैक्षिक सामग्रीहरुको समेत प्रदर्शनी गरिएको थियो।