२४ जेठ, गुल्मी
नेपाल स्काउट, लुम्बिनी प्रदेश तथा स्थानीय स्काउट कार्य समिति, सत्यवती गाउँपालिका गुल्मीको आयोजनामा २२० जना स्काउटरहरुलाई दिक्षित गर्दै सत्यवती गाउँपालिकाका स्काउट मास्टरहरुका लागि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक स्थित एेतिहासिक हचिनकोट दरवारमा सञ्चालन भएको तालिममा स्काउटहरुमा अनुशासन, मितव्ययित, धैर्यताको महत्व, प्राथमिक उपचार कसरी गर्ने, विपद व्यबस्थापन भनेको के हो, विपद व्यबस्थापन कसरी गर्ने लगायत बिषयहरुमा तालिम प्रदान गरिएको थियो।
स्काउट मास्टर तथा स्काउटरहरुलाई दिक्षित गर्दै सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले स्काउट एक अन्तर्राष्ट्रिय, स्वैच्छिक, गैर राजनीतिक र शैक्षिक अभियान भएकोले स्काउटको माध्यमबाट सत्यवतीका युवाहरूमा शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक विकासमा उत्प्रेरित गर्ने बताउनु भएको थियो । सत्यवतीका स्काउटरहरुको माध्यमाट अनुशासन, नैतिकता, समन्व, सहकार्य स्वालम्बी र सहयोगी तथा सेवाभावलाई आत्मसात गर्न उत्प्रेरित गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो।
यस्तै सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामु मगरले सत्यवतीका किशोर किशोरीहरुमा अनुशासित, स्वावलम्बी र सेवाभावी नागरिक उत्पादन गर्ने उद्धेशयकासाथ सत्यवतीमा स्काउटको स्थापना गरिएको उल्लेख गर्दै स्काउटमा आवद्ध किशोर किशोरीहरुमा नैतिक आचरण, कुनै पनि हिंसाको अन्त्य, अनशासित र सभ्य नागरिक भावनाको बिकास हुन सकेमा मात्र पनि स्काउटको मूल्य र महत्व अझ बढ्ने बताउनु भएको थियो। खासगरी स्काउटको मुख्य धर्म नै "सेवा" भएकोले दैवी प्रकोप (भूकम्प, बाढी, पहिरो) को समयमा उद्धार र राहत कार्यमा कसरी काम गर्ने भन्नेबारे तालिमले स्काउटरहरुलाई दिक्षित हुन सहायकसिद्ध हुने विश्वास व्यक्त गर्नु भएको थियो। स्थानीय स्काउट परिषद सत्यवती गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष तरामु मगरले स्काउटरहरुमा अनुशासन, नियम र प्रतिज्ञाहरूको पूर्ण पालना गर्दै मर्यादित जीवनयापन सहित जुनसुकै परिस्थितिमा पनि अरूलाई मानसिक र शारीरिक रूपमा तयार रहने भावनाको बिकास गर्नमा स्काउटको मुख्य भूकिा रहने र यही स्काउटको माधयमबाट समाजमा हुने विभिन्न विकृति, विसंगती, बालविबाह, छुवाछुट जस्ता अमानवीय संस्कारहरुको अन्त्यका लागि स्काउटरहरु अभियानकर्मीको रुपमा प्रतिवद्ध हुन आवस्यक रहेको बताउनु भएको थियो।
यसैगरी सत्यवती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खडगवीर थापाले स्काउटरहरु वातावरणप्रेमी, भातृत्व र एकतामा बढी विश्वास गर्ने भएकोले हरेक स्काउटहरुमा वातावरण संरक्षणका लागि वृक्षरोपण, सरसफाइ र प्रकृति संरक्षणका कार्यहरूमा सदैव उत्प्रेरित हुनमा तालिम प्रभावकारी बन्ने विश्वास गर्नु भएको थियो।
यस्तै वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामु मगरले नेपालको सय प्रयटकीय गन्तव्य क्षेत्रको रुपमा सुचिकृत सत्यवती क्षेत्रमा रहेको ऐतिहासिक हचिनकोटमा तालिमको आयोजना गरेर यस क्षेत्रको प्रयटन प्रवर्द्धनमा सहयोग पुराएको प्रति आभार व्यक्त गर्दै स्काउटिङ एउटा स्वैच्छिक अभियान भएकाले यसमा "अधिकार" भन्दा पनि "अवसर" र "पहिचान" लाई बढी जोड दिन आग्रह गर्नु भएको थियो ।
तालिममा लुम्बिनी प्रदेशका स्काउट प्रमुख आयुक्त बल बहादुर खप्तरीले धन्यवाद व्यक्त गर्दै स्काउटरहरुमा सेवाभावले भरिपूर्ण हुने आफुलाई मितव्ययी बनाउदै शारीरिक व्यायाम, पदयात्रा र आउटडोर गतिविधिले शरीर र मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्ने भएकोले स्काउटका हरेक तालिम र कार्यक्रमहरु आउडोर हुने बिचार व्यक्र गर्नु भएको थियो। कार्यक्रमलाई सफल बनाउन नेपाल स्काउट, लुम्बिनी प्रदेश र स्थानीय स्काउट कार्य समितिलाई धन्यवाद व्यक्त गर्दै तालिम सञ्चालन गर्न सत्यवती गाउँपालिकाबाट भएको हरेक सहयोग, समन्वय र सहकार्य प्रति खप्तरीले धन्यवाद व्यक्त गर्नु भएको थियो।
सत्यवती गाउँपालिकाका स्थानीय स्काउट प्रमुख आयक्त कृष्ण बहादुर पुलामीले कार्यक्रमको अध्यक्षता गर्दै युवाहरूमा इमानदारिता, बफादारिता र आत्मविश्वास बढाउन स्काउटमा आवद्ध हुनु अनिवार्य रहेको उल्लेख गर्नु भयो । स्काउटिङले व्यक्ति र समाज दुवैलाई सकारात्मक प्रभाव पार्ने र सानै उमेरदेखि समूहको नेतृत्व गर्ने र जिम्मेवारी लिने क्षमताको विकास गराउने भएकोले हरेक विद्यालयहरुमा स्काउट गठन र तालिमको अनिवार्यतालाई आत्मसात गर्दै सतयवतीका स्काउटरहरुका लागि पुनर्ताजगी तालिमको आयोजना गरिएको समेत प्रमुख आयुक्त पुलामीले बताउनु भएको थियो।
तालिममा स्काउटरहरु रमेश गैरे, पावन सारु, पवन धामीले "दिनमा कम्तीमा एक पटक अरूको भलो हुने काम गर।" भन्ने स्काउटको मुलमन्त्रमा आधारित गाँठो पार्ने (Knots), प्राथमिक उपचार (First Aid), टेन्टिङ र नक्सा पढ्ने जस्ता व्यवहारिक सीपहरूको प्रशिक्षण गराउनु भएको छ।
स्थानीय स्काउट सत्यवती गाउँपलिकाका स्थानीय सुशासन श्रोत बिकास तथा वित्त स्काउट आयुक्त मेनका थापाको सञ्चालनमा भएको कार्यक्रममा सत्यवती गाउँपालिकाका १० वटा विद्यालयका २२० जना स्काउटर विद्यार्थी र ३० जना स्काउट मास्टरहरुको सहभागिता रहेको छ। कार्यक्रममा जनता माध्यमिक विद्यालय, सत्यवती १ का स्काउट मास्टर तथा स्थानीय स्काउट कार्य समितिका सदस्य भेषराज पाण्डेले स्वागत गर्नु भएको थियो
सन १९०७ मा बालबालिका तथा युवावर्गलाई उनिहरुको शारिरीक, मानसिक, बौद्धिक बिकास गरी उनिहरुलाई अनुशासित र स्वालम्बी बनाई देश विकासमा संलग्न गराउने उद्धेश्यका साथ वेडेन पावेलले स्काउटको स्थापना गरेका थिए। नेपालमा भने बि।सं। २००९ साल असार ५ गते भएको थियो। बि.सं. २०७९ सालमा सत्यवतीमा स्थापना गरिएको स्थानीय स्काउट परिषदले सत्यवतीका ११ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्काउट गठन गरिसकेको छ।