१ चैत्र,बुटवल ।
‘प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता(२०७७’ को उपाधि जनउत्थान सहकारी समूहले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पत्रकार महिला समूहलाई ९-० को फराकिलो गोल अन्तरले पराजित गर्दै जनउत्थानले उपाधि हात पारेको हो ।
जनउत्थानका लागि रितु दर्लामीले डबल ह्याट्रिक गर्दै ६ गोल र सगुन पाण्डेले ३ गोल गरेकी थिइन् । खेल अवधिभर पत्रकार महिला समूहमाथि हाबी भएको जनउत्थानले उपाधिसँगै १० हजार ५ सय नगद राशी, प्रमाण पत्र र ट्रफि प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा जनउत्थानकी सगुन पाण्डेले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरिन् । उनले प्रतियोगिताको अवधीभर १६ गोल गरेकी थिइन् ।
त्यसैगरी जनउत्थानकै रितु दर्लामीले सर्वोत्कृष्ट खेलाडीको उपाधी चुम्न सफल भएकी छन् । उनले प्रतियोगिताको अवधीभर १५ गोल गरेकी थिइन् । त्यसैगरी सामाजिक अभियन्ता समूहको तर्फबाट इनरह्विल क्लबकी अस्मिना रानाले उत्कृष्ट गोलरक्षक (बेष्ट गोल किप्पर) को उपाधि प्राप्त गरेकी छन् । प्रतियोगितामा उपविजेता बनेको पत्रकार महिला समूहले ५ हजार नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित रेडियो मुक्ति ९५ थोप्लो ५ मेगाहर्जद्वारा सञ्चालित प्रतियोगितामा रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका १० वटा महिला समूहको सहभागिता रहेको थियो । ‘महिला सशक्तिकरणका लागि खेकूद’ भन्ने मूल नाराका साथ बुटवल-११ देविनगरस्थित ग्रिनफिल्ड फुटसल ग्राउण्डमा सम्पन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै बुटवल उपमानगरका मेयर शिवराज सुवेदीले महिलाहरुलाई व्यवसायिक रुपमा खेलकूद क्षेत्रमा लाग्न आग्रह गरेका थिए । व्यवसायिक रुपमा महिलाहरुलाई खेलकूद क्षेत्रमा लैजानका लागि उपमहानगरले आवश्यक सहयोग तथा समन्वय गर्न तयार रहेको उनले बताए ।
ग्लोबल अनलाइन, राज्य टेलिभिजन तथा बुटवल टुडे राष्ट्रिय दैनिक मिडिया पट्नरका रुपमा रहेको प्रतियोगितामा आयोजक संस्थासहित स्वास्थ्यकर्मी महिला समूह, वकिल महिला समूह, सहकारी महिला समूह, एकल महिला समूह, कर्मचारी महिला समूह, सामाजिक अभियान्ता महिला समूह, उद्यमी महिला समुह, राजनीतिक तथा सांसद महिला समूह र पत्रकार महिला समूहको सहभागिता रहेको संयोजक अमृता अनमोलले जानकारी दिइन् । रेडियोकी स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले महिलाहरुलाई शारीरिक तथा मानसिक रुपमा स्फूर्त बनाउनका लागि खेलसँग जोड्न आवश्यक रहेको बताए ।