रामप्रसाद प्रजापति
सवारी धनीलाई हुन सक्ने सजाय
दफा १६१ को उपदफा (५) मा भने सवारीधनीले वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
त्यसैगरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६२ ले सवारी दुर्घटनामा परी कुनै मानिस घाइते भएको छ । साधारण उपचारबाट उनको चोट निको नहुने देखिन्छ अथवा उनको कुनै मानव अङ्ग काम नलाग्ने, नचल्ने गरी क्षति भएको छ भने त्यस्तो अवस्थामा सवारी अङ्गभङ्गको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ ।
सवारी अङ्गभङ्ग
दफा १६२ ले सवारी दुर्घटना भई सवारीमा रहेको वा बाहिर जुनसुकै ठाउँमा बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अङ्गभङ्ग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यस्तो चोट वा खत निको भई काम लाग्ने भएमा पाँच हजार रूपैयाँ जरिवाना हुनेछ ।
चालक अनुमतिपत्र नभएको अवस्थामा पाँच हजार रूपैयाँ थप जरिवाना हुने व्यवस्था छ । चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिएमा सवारी धनी वा सवारी जिम्मा लिने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था दफा १६२ को उपदफा (३) मा रहेको पाइन्छ । उपदफा (३) को सवारी धनी वा सवारी जिम्मा लिनेलाई हुने सजाय अलि बढी हो कि ?
व्यवहारमा सवारी ज्यान मुद्दा
सडक दुर्घटनामा परी कसैको ज्यान मरेकोमा सवारी ज्यान मुद्दाको अनुसन्धान र कारबाही हुन्छ । अनुसन्धान र मुद्दाको रोहबाट बाहेक अन्य तरिकाबाट सवारी चलाउने व्यक्तिले उन्मुक्ति पाउन सकिँदैन ।
यस सम्बन्धमा कान्तिपुर पब्लिकेशनका सञ्चालक कैलास सिरोहियाका छोराको ६१०० नं.को गाडी दुर्घटनालाई सुरुमा ढाकछोप गरे तापनि पछि प्रकाशमा आएको उदाहरण पर्याप्त छ ।
सामान्यतया सवारी साधन सडक दुर्घटनामा परी कसैको ज्यान मर्न गएको रहेछ भने जानीजानी गरेको अनुमान गर्न सकिन्न । सवारी चालकले आफ्नो बलबुट्टाले भ्याएसम्म जोगाउन खोज्दा खोज्दै आफ्नो काबु बाहिरको परिस्थिति परेर मात्रै दुर्घटना भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
तर कहिलेकाहीँ सवारी चालकको सवारी चलाउँदा ध्यान नदिने, लापरबाहीपूर्वक सवारी हाँक्ने, सवारी साधनको उचित जाँच नगर्ने, सवारी चलाउँदा ट्राफिक नियमको पालना नगर्ने कारणबाट पनि सवारी दुर्घटना भएको हुनसक्छ ।
सामान्यतया सवारी दुर्घटनापछि तत्काल ट्राफिक प्रहरी पुग्ने र सडक दुर्घटना प्रतिवेदन तयार गर्ने गर्दछ । तर अधिकांश सडक दुर्घटना प्रतिवेदन वैज्ञानिक र तथ्यपरक नहुने, हचुवामा बनाउने, कुनै बेला त २/४ दिनपछि मात्रै प्रतिवेदन बनाउने (घाइते केही दिनपछि मात्रै मृत्यु भएको अवस्थामा) कारणले प्रतिवेदन विश्वसनीय नहुनुका साथै सवारी दुर्घटनाको कारण, अवस्था र कसुरदारको दोषका सम्बन्धमा धेरै कुराहरूको अभाव हुने गरेको देखिन्छ ।
कमजोर अनुसन्धान प्रतिवेदनले पक्कै पनि मुद्दालाई कमजोर बनाउँछ । सर्वसाधारणको आशङ्का बढ्नु स्वाभाविक हो कि कमजोर प्रतिवेदन बनाई सवारी चालकलाई छुटाउन ट्राफिक प्रहरी र अनुसन्धान अधिकृत (प्रहरी) को मिलेमत्तो भयो कि ?
कहिलेकाहीँ भने त्यस्तो हचुवा अनुसन्धान प्रतिवेदन तथा सडक दुर्घटना प्रतिवेदनले गर्दा निर्दोष तथा कम दोषी सवारी चालकले पनि अनाहकमा कडा सजाय भोग्न बाध्य हुनुपरेको छ ।
त्यसैले सवारी दुर्घटना हुनेबित्तिकै वैज्ञानिक रूपमा सडक दुर्घटना प्रतिवेदन तथा प्रतिवेदनमा वास्तविक घटना विवरण, घटना हुनुको कारण र दुर्घटना स्थलको वास्तविक चित्रण प्रस्टरूपमा उल्लेख हुनु जरुरी छ ।
सकेसम्म सीसीटीभी क्यामेराको रेकर्ड समावेश गर्नु राम्रो हुन्छ । तर कतिपय अनुसन्धान प्रतिवेदनहरू पेश गर्ने क्रममा अनुसन्धान अधिकृत तथा सरकारी वकिलको कार्यालयबाट त्यस प्रकारका वैज्ञानिक उपकरणबाट खिचिएका तथ्यपरक सबुद प्रमाणहरू पेश नै नगरिँदा न्यायिक फैसला नहुने गरेको पाइन्छ ।
अदालतबाट फैसला हुँदा कुनै पनि पक्षले आफूलाई अन्याय भएको महसुस गर्न पर्ने स्थिति उत्पन्न हुनु हुँदैन । पीडित पक्षले पनि न्याय पाएको र कसुरदारले पनि आफ्नो कसुरको मात्रा अनुसार सजाय पाई प्रायश्चित गर्न पाएको अनुभूति गर्न सक्ने फैसला हुनु जरुरी छ । जसका लागि सुरु सडक दुर्घटना प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, मौकाको बयान (रेकर्ड गर्न पाउने कानुनी व्यवस्था भए अझै राम्रो) सबुद प्रमाण, साक्षी प्रमाण, विभिन्न अन्य प्रतिवेदनहरू तथा अनुसन्धान प्रतिवेदन चुस्त दुरुस्त हुनु जरुरी छ ।
आवागमन तथा ट्राफिक नियम पालना गर्नुपर्ने
त्यसैले ऐनको परिच्छेद ७ मा आवागमन नियन्त्रण शीर्षकमा विभिन्न ट्राफिक नियमको पालना गर्नुपर्ने कानुनी व्यवस्था गरेको पाइन्छ । जस्तो : सवारीको गति निर्धारण, सवारीको वजन, सवारीमा राखिने मानिस र मालसामानको हद, सवारी चलाउन प्रतिबन्ध लगाउन सक्ने, ट्राफिक सङ्केतको पालना गर्नुपर्ने, पार्किङ्ग स्थल र बस बिसौनी निर्धारण गर्ने, सवारीलाई खतरा हुने किसिमबाट राख्न नहुने, सवारीको अन्य भागमा मानिस राख्न नहुने, चालकलाई बाधा पुग्ने काम गर्न नहुने, आवागमनमा बाधा पार्न नहुने, सार्वजनिक स्थानमा खाल्टो खन्दा साङ्केतिक चिन्ह राख्नुपर्ने, सवारीमा साङ्केतिक चिन्ह राख्नुपर्ने, सवारीलाई मार्ग परिवर्तन गर्न र यात्रीलाई बन्धक बनाउन नहुने, दुर्घटनामा परेको सवारी र यात्रीको हानि–नोक्सानी गर्नु नहुने, सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनुपर्ने, दुर्घटना भएमा चालकले उपचारको लागि तुरुन्त आवश्यक व्यवस्था गर्नुपर्ने, पैदल हिँड्ने मानिस सडक पेटी भएको ठाउँमा सडक पेटीबाट हिँड्नुपर्ने, निर्धारित ठाउँ (जेब्रा क्रसिङ्ग, आकासे पुल) बाट मात्र बाटो काट्नुपर्ने, पाल्तु पशुपन्छी छाड्न नहुने, चालकले आफ्नो अनुमतिपत्र अरूलाई दिन नहुने, मादक तथा लागु पदार्थ सेवन गरी सवारी चलाउन नहुने, राती सवारी चलाउँदा बत्ती बाल्नुपर्ने, अवस्था ठीक नभएको सवारी चलाउन नहुने, लापरवाहीसाथ सवारी चलाउन नहुने आदि व्यवस्था गरेको पाइन्छ ।
यी सवारी आवागमन तथा ट्राफिक नियमको उल्लङ्घनका कारणबाट पनि सवारी दुर्घटना हुने गरेको पाइन्छ । सबै सवारी दुर्घटना सवारी चालकको कारणबाट मात्रै नहुने रहेछ भन्ने कुरा उल्लिखित कानुनी व्यवस्थाबाट पनि बुझ्न सकिन्छ ।
यसरी सवारी चालकको कमजोरी वा गल्तीका कारण नभई सडकमा हिँड्ने बटुवाको कारण, सडक निर्माण गर्ने ठेकेदारको लापरबाहीका कारण, अर्को सवारी साधनका लापरबाहीका कारण वा अन्य तेस्रो पक्षको कारण सडक दुर्घटना हुँदा पनि सवारी चालकलाई बदनियतपूर्वक कसुरदार करार गरी फसाउन नहुने हो तर यस्तो अवस्थाको अन्त्य हुन सकेको छैन ।
सवारी दुर्घटनाका सम्बन्धमा प्रचलित केही मिथ्याहरू :
मिलापत्र भएमा मुद्दा नचल्ने
सवारी दुर्घटना भई कसैको ज्यान गएको छ वा कसैको अङ्गभङ्ग भएको छ तापनि पीडित पक्षसँग उपचार तथा क्षतिपूर्तिको कुरा मिलेपछि मुद्दा चल्दैन वा मुद्दै चले पनि थोरै सजाय हुने र तुरुन्तै थुनामुक्त हुने भन्ने गलत बुझाइ छ । यो भ्रम अर्थात् मिथ्या हो ।
सवारी दुर्घटना भई कसैको ज्यान गएको छ वा अङ्गभङ्ग भएको छ भने प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारवाही भई त्यसैबाट मात्रै मुद्दाको अन्तिम टुङ्गो लाग्ने हो ।
ठुलो गाडीको गल्ती
सामान्यतया सर्वसाधारण तथा कहिलेकाहीँ अनुसन्धान अधिकृतहरूबाट पनि दुर्घटना हुँदा जहिल्यै पनि सानो गाडी वा मोटरसाइकलको गल्ती होइन, स्वतः ठुलो गाडी ट्रक तथा टिपरको गल्ती हुने मिथ्यापूर्ण बुझाइ राख्ने गरेको पाइन्छ ।
गल्ती सानो सवारी साधन, बटुवा, ठेकेदार तथा ठेकेदार कम्पनी, स्थानीय निकाय, सडक विभाग, नेपाल सरकार तथा सडक वरिपरि निर्माण सामग्री राखेर सवारी आवागमनलाई प्रभावित बनाउने जो सुकैको हुन सक्छ ।
यो विषयमा सम्बन्धित सबैको ध्यान जानु जरुरी हुनुका साथै प्रचलित कानुनमा समयानुकूल संशोधन तथा थप कानुनी व्यवस्था हुनु आवश्यक छ ।
बीमा र क्षतिपूर्तिसम्बन्धी व्यवस्था
बिमा र क्षतिपूर्तिसम्बन्धी व्यवस्था पनि सडक दुर्घटनाका मुद्दाहरूमा एउटा महत्वपूर्ण पाटो हुने गरेको छ ।
सडक दुर्घटनामा परी घाइते हुनेको उपचारको लागि होस् वा अङ्गभङ्ग भएका पीडितको क्षतिपूर्तिको लागि अथवा सडक दुर्घटनामा परी मृत्यु हुने मृतकको किरिया खर्च तथा क्षतिपूर्तिको लागि बीमा एक महत्वपूर्ण पाटो हुने गरेको छ ।
सडक दुर्घटनासम्बन्धी मुद्दा मामिलामा बीमाबाट आउने रकमले सवारी धनीहरूलाई निक्कै ठुलो सहयोग मिल्ने गरेको देखिन्छ ।
बिमा नहुँदो हो त सवारीधनीहरूले आफ्नो सवारी–साधन बिक्री गरेर पनि उपचार, क्षतिपूति तिर्न नसक्ने अवस्था आउने देखिन्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले तेस्रो पक्षको बीमा अनिवार्य गर्दा सवारी धनी तथा सवारी चालकहरू नै लाभान्वित हुने गरेको देखिन्छ ।
प्राकृतिक प्रकोपबाट हुने सवारी दुर्घटना
गत भाद्रमा आएको बाढी पहिरोले सयौँ सर्वसाधारणको ज्यान लियो । त्यसमध्ये केही चालक तथा यात्रुहरूले पनि ज्यान गुमाउनुप¥यो ।
नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा परेका दुई वटा बसमा यात्रा गर्ने यात्रुहरू तथा झाक्री खोलाको बाढीले बगाएका गाडीहरूमा यात्रा गर्ने सर्वसाधारणहरूको चिर शान्तिको कामना गर्न सकिन्छ ।
ती मृतक तथा पीडित परिवारहरूले के सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम क्षतिपूर्ति पाउन सकिन्छ ? को बाट क्षतिपूर्तिको आशा राख्ने ? सवारी धनी तथा चालक जसको कुनै गल्ती, कमजोरी एवं दोष छैन ।
त्यसैले यस्तो प्रकारको दुर्घटना हुँदा यात्रु तथा मृतकहरूले न्याय पाउने कानुनी व्यवस्था हुनु आवश्यक देखिएको छ ।
अन्त्यमा
सवारी दुर्घटनाबाट बर्सेनि पच्चीस सय÷तीन हजार सर्वसाधारणले ज्यान गुमाउनुपरेको तथ्याङ्क नेपाल सरकारसँग छ । तर, सडक दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा कुनै ठोस कार्यक्रम तथा योजना एवं सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनमा हेरफेर, संशोधन तथा आवश्यक व्यवस्थाहरूको थपघट गर्न पहल भएको देखिँदैन ।
बर्सेनि हुने मृत्युको तथ्याङ्क जोड्दै जाँदा नेपालमा समय समयमा आउने गरेको भूकम्पबाट हुने मानवीय क्षतिभन्दा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति धेरै बढी रहेको देखिन्छ ।
त्यसैले नेपाल सरकार, यातायात ब्यवसायी, सवारी धनी, चालक सहचालक, यात्रु तथा सर्वसाधारणलगायत सम्बन्धित सबैले सडक दुर्घटना न्यूनीकरण तथा क्षति न्यूनीकरण गर्ने सम्बन्धमा यशासक्य चाँडो पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।