क्रिस गिल्बर्ट
भेनेजुयलाको विषयमा अहिले वामपन्थीहरूबिच ठुलो छलफल चल्दै छ । जनवरी ३ को आक्रमणपछि डेल्सी रोड्रिगेजको सरकार कतै रणनीतिक रूपमा पछि हटेको त होइन ? अथवा, यो ब्रेस्ट–लितोभ्स्क सन्धि पो हो कि ? यस्तै अनेक आशङ्का छन् । तर, यसमा बढ्ता जोड दिनु मेरो विचारमा सही होइन ।
‘ब्रेस्ट–लितोभ्स्क’ आहानजस्तो बनिसकेको छ । अक्टोबर क्रान्तिको केही महिनापछि भ्लादिमिर लेनिनले जर्मनीसँग अलग्गै शान्ति सन्धि गर्ने निर्णय गर्नुभयो । सो सन्धिमा जर्मनीको हात माथि प¥यो । तथापि, क्रान्तिको रक्षा गर्न त्यो निर्णय प्रभावकारी सिद्ध भयो ।
धेरै विश्लेषकले भेनेजुयाली नेतृत्वले इतिहासको यो पाठ आत्मसात गरेको बताउँछन् । उनीहरू यसलाई सही क्रान्तिकारी निर्णय लिने मोडल भन्दै छन् । जर्मनीलाई केही सहुलियत दिएर लेनिनले सही निर्णय लिएको र सोही शैलीमा अमेरिकी साम्राज्यवादलाई रोड्रिगेजले छुट दिएको उनीहरूको तर्क छ । यसरी क्रान्तिको रक्षा गर्न देशले थप समय पाएको उनीहरूले बताइरहेका छन् ।
यो विचारको आलोचना गर्ने अर्को तप्का छ । उनीहरूको दाबीअनुसार भेनेजुयलामा ब्रेस्ट–लितोभ्स्कजस्तो रणनीतिक पछि–हटाइ सम्भव छैन । किनभने, भेनेजुयलासँग यस्तो रणनीतिक भिजन छैन र अमेरिकालाई दिइएको छुट सानोतिनो छैन भन्ने उनीहरूको तर्क छ । यसलाई उनीहरू पछि–हटाइ नभई आत्मसमर्पण ठान्दै छन् ।
यो बहसमा दुवै समूहले ब्रेस्ट–लितोभ्स्क सन्धिमा बढी जोड दिएको पाइन्छ । यसको अर्थ हो – लड्ने कि रणनीतिक रूपमा पछि हट्ने । भेनेजुयलाको आजको स्थिति यी दुईमध्ये कुनै होइन । भेनेजुयलाको क्रान्तिकारी प्रक्रिया अलि लामो छ । रुसमा जम्मा चार महिनामा अक्टोबर क्रान्ति भएको थियो । रुसी क्रान्ति गरिमापूर्ण र बेजोड थियो । (वास्तवमा बिसौँ शताब्दीको सबैभन्दा महत्वपूर्ण घटना थियो त्यो ।) ब्रेस्ट–लितोभ्स्क सन्धि हुँदा क्रान्ति जारी थियो ।
त्यसैले ब्रेस्ट–लितोभ्स्क सन्धिसँगको तुलना ऐतिहासिक हिसाबले सटिक छैन । यो तुलनाले बोलिभारियाली क्रान्तिलाई कम आँक्छ† विगत २५ वर्षमा यो क्रान्तिले हासिल गरेको भौतिक र सङ्गठनात्मक उपलब्धिलाई बेवास्ता गर्छ । सैद्धान्तिक तहमा ‘ब्रेस्ट–लितोभ्स्क’ सँगको तुलनाले ह्युगो चाभेजको दाबीलाई ओझेल पार्छ । क्रान्तिको क्रममा भेनेजुयलाले हासिल गरेको उपलब्धि ‘उल्ट्याउन नसकिने’ बिन्दुमा पुगेकोमा चाभेजले बारम्बार जोड दिनुभएको थियो ।
दुःखको कुरो अहिले उत्तरी गोलाद्र्धका बुद्धिजीवीहरू यसरी नै तुलना गर्दै छन् । भेनेजुयलाप्रति सहानुभूति राख्नेहरूको पनि यस्तै सोच छ । धेरै वर्षसम्म उत्तरी गोलाद्र्धका अधिकतर बुद्धिजीवीहरूले बोलिभारियाली क्रान्तिले उल्लेख्य प्रगति नगरेको दाबी गरिरहे । क्रान्तिले पुँजीपतिवर्गलाई निमिट्यान्न पार्न नसकेको र उत्पादकका सम्पूर्ण साधन राष्ट्रियकरण गर्न नसकेको उनीहरूको तर्क थियो ।
भेनेजुयलामा सरकार र लोकप्रिय आन्दोलनको ‘द्वैध सत्ता’ चलिरहेको छ भन्ने अर्को दाबी पनि रह्यो । यो शब्दावली अक्टोबर क्रान्तिबाट आएको थियो । सन् १९१७ को फेब्रुअरीदेखि अक्टोबरसम्म रुसमा ‘द्वैध सत्ता’ चलेको थियो । यसरी तुलना गर्दा चाभेज (र पछि मादुरो) ‘करेन्स्की’ हुन् र वास्तविक क्रान्ति अब हुँदै छ भन्नुपर्ने हुन्छ ¤ (किनभने, तिनताक रुसमा करेन्स्कीको सरकार थियो ।) साथै, यसरी तुलना गर्दा भेनेजुयलामा वास्तविक क्रान्ति भएको थिएन र कुनै उल्लेख्य क्रान्तिकारी रूपान्तरण पनि भएको थिएन भन्ने अर्थ लाग्छ ।
क्रान्तिका नेता चाभेजको धारणा माथिका कुनै पनि चित्रणसँग मिल्दैनथ्यो । भेनेजुयलामा वास्तविक क्रान्ति भएको उहाँको बुझाइ थियो । क्रान्तिका क्रममा अनेक संयन्त्रहरूको निर्माण गरेर नेतृत्वले सत्ता र सामाजिक नियन्त्रणको बागडोर जनतालाई सुम्पेको चाभेजको विश्वास थियो ।
उत्पादन र सामाजिक जीवनका विभिन्न पक्षमाथि भुइँतहको नियन्त्रणका लागि चालिएका यस्ता पाइला उल्ट्याउन नसकिनेमा चाभेजले बारम्बार जोड दिनुभएको थियो । किनभने, भुइँतहको नियन्त्रणले गर्दा सामुदायिक परिषद्, नागरिक–सेना, कम्युन र मिलिसियाजस्ता संरचनामा जनसत्ता स्थापित भएको थियो ।
दुई दृष्टिकोण
यहाँनिर कसलाई सही मान्ने ? के अमेरिकी आक्रमणपछि भेनेजुयलामा देखापरेको घटनाक्रमलाई ब्रेस्ट–लितोभ्स्क सन्धिसँग तुलना गर्ने बुद्धिजीवीहरू सही हुन् ? अथवा, बोलिभारियाली क्रान्तिलाई वास्तविक, गहिरो र उल्ट्याउन नसकिने ठान्ने ह्युगो चाभेजलाई सही मान्ने ?
त्यसो त अहिले बहसमा उत्रेका धेरै बुद्धिजीवीहरू कुनै बेला कमान्डेन्ट चाभेजसँग सहमत थिएनन् । तर, धेरै घटनामा इतिहासले चाभेजको पक्षमा फैसला गरेको थियो । किनभने, श्रमजीवीवर्गका जनता उत्पादन, भौगोलिक नियन्त्रण र राष्ट्रिय सुरक्षाजस्ता क्षेत्रमा एकपल्ट नीति निर्माण तहमा सहभागी भएपछि त्यसलाई उल्ट्याउन ठुलै शक्ति चाहिन्छ । हुन त जनसहभागितालाई उल्ट्याउन नसकिने भन्ने होइन । तर, सामाजिक रूपान्तरणमा धेरै अघि बढिसकेको क्रान्तिकारी प्रक्रियालाई नामेट पार्न ठुलै मिहिनेत लाग्छ ।
त्यही भएर सन् १९९१ पछि पूर्वी युरोपका देशहरूलाई पुनः उपनिवेशवादी बनाउनका लागि शिक्षा व्यवस्थामा गहन परिवर्तन गरिएको थियो भने मजदुरहरूको हकअधिकार योजनाबद्ध रूपमा खोसिएको थियो । सोभियत सङ्घका पूर्व गणराज्यहरूमा पुँजीवाद फर्काउन जबरजस्ती ‘शक थेरापी’ वा क्रूर नीति–नियमहरू लागू गरिएको थियो । सुखको कुरा, त्यो ‘थेरापी’ पूर्णतः सफल भएन । रुसी जनताले साम्राज्यवादी अर्थतन्त्रबाट अलग्गिएर बडो दुःखले आर्जेको व्यवस्था पूर्णतः नामेट भएन । यसकारण, भ्लादिमिर पुटिनको नेतृत्वमा (समाजवादी नभए पनि) नयाँ सार्वभौम र साम्राज्यवादविरोधी रुसको उदय सम्भव भएको हो ।
इतिहासले के देखाउँछ भने क्रान्तिको ढाड भाँच्नका लागि तपार्इँले जनसत्ताको जग भत्काउनुपर्ने हुन्छ । यसको लागि धेरै पसिना र लगन चाहिन्छ । यसको लागि वर्षौँसम्म ठुलो रक्तपातको खाँचो पर्छ । जनताको ऐतिहासिक स्मृतिलाई मेट्न संस्कृतिको क्षेत्रमा सशक्त प्रचारबाजी गर्नुपर्ने हुन्छ ।
पछिल्ला महिनाहरूमा भेनेजुयलामा यस्ता दुस्प्रयास भएको प्रमाण उति पाइँदैन । बोलिभारियाली सेना ठीकठाक छ । सत्ताधारी दल (PSUV) र त्यसको नेतृत्व पहिलेझैँ सक्रिय छ । ५ हजारभन्दा बढी कम्युन र कम्युनेली सञ्जाल अझै क्रियाशील छन् । तिनले सरकारबाट झन् बढी वित्तीय सहयोग पाइरहेका छन् ।
हो, भेनेजुयलाको तेल उद्योग र त्यसको वित्त व्यवस्थाको केही हिस्सा देशको नियन्त्रणबाहिर गएको कुरा साँचो हो । तर, यो नयाँ परिस्थितिमा नाकाबन्दी अलि खुकुलो भएको हामीले बिर्सनुहुन्न । मादुरो सरकारले धेरै वर्षदेखि यो दिन देख्न चाहेको थियो । तथापि, घटनाक्रमले यस्तो रूप लिएला भनेर कसैले सोचेको थिएन ।
ऐतिहासिक क्षण केलाउँदा
क्रान्तिमा सबथोक समयको खेल हो । लेनिन र फिडेल क्यास्त्रो दुवैजना यस कुरामा सहमत हुनुहुन्थ्यो । क्यास्त्रोले त उद्घोष नै गर्नुभयो, “ऐतिहासिक क्षण बुझ्नु क्रान्ति हो ।”
अहिले हामी कस्तो ऐतिहासिक क्षणमा छौँ त ? के हामी ब्रेस्ट–लितोभ्स्कको अवस्था छौँ ? अथवा, त्यो भन्दा गतिलो अर्को तुलना पनि हुन सक्ला ?
वास्तवमा हामीले क्रान्तिकारी प्रक्रियाको २५ वर्ष बिताइसकेका छौँ । बोलिभारियाली क्रान्तिका धेरै सङ्गठनात्मक उपलब्धिहरू उस्तै छन् । ब्रेस्ट–लितोभ्स्क सन्धिसँग जोडिहाल्नुपर्ने स्थिति होइन । बरु, हामीले अर्कै ऐतिहासिक सन्दर्भहरू खोज्न आवश्यक छ । चीन र भियतनाम दुवैले विश्व बजार र विदेशी लगानीका लागि ढोका खोलेको प्रसङ्ग बढी सान्दर्भिक हुनसक्छ । लामो अवधिसम्म क्रान्तिलाई सुदृढ पारेपछि उनीहरूले विश्व बजार र विदेशी लगानी भित्याएका थिए ।
सन् १९७० को दशकमा चीनले सुधार र खुलापनको बाटो लियो । त्यसको एक दशकपछि भियतनामले नवीकरण प्रक्रिया अघि बढायो । ती निर्णय लिँदा धेरै विदेशी बुद्धिजीवीहरूले ‘चिनियाँ र भियतनामी नेताहरूले क्रान्ति परित्याग गरे’ भनेका थिए । क्रान्तिलाई पुनस्र्थापित गर्नका लागि फ्रान्सेली राज्य क्रान्तिमा जस्तो उथलपुथल हुने धेरैले दाबी पनि गरेका थिए । तर, ती सतही आलोचकलाई इतिहासले गलत साबित ग¥यो । वास्तवमा नयाँ उपाय अपनाएर चीन र भियतनामले क्रान्तिलाई जोगाएका थिए । सर्वत्र साम्राज्यवादले क्रान्तिविरोधी नवउदारवादी नीति थोपरिरहेको बेला चीन र भियतनाम भने जोगिए ।
आज पुनः इतिहास दोहोरिने देखिन्छ । धेरै विदेशी पर्यवेक्षकहरूले भेनेजुयलाको किल्ला ढलेको बताउँदै छन्† अदूरदर्शिता र निराशा पोख्दै छन् । यसो भन्दै गर्दा उनीहरूले क्रान्तिले खडा गरेको साङ्गठनिक जगलाई ध्यान नदिएको देखिन्छ । जब कि त्यो जग एकदम सुदृढ छ । त्यसैले क्रान्तिकारी प्रक्रिया बन्द भएको छैन बरु भविष्यमा त्यसका सम्भावनाहरू खुलेर आउनेछन् ।
सारमा, साम्राज्यवादी देशका बुद्धिजीवीहरूले भेनेजुयलालाई ब्रेस्ट–लितोभ्स्क सन्धि गर्न चौबाटोमा पुगेको गाडीजस्तो देख्दै छन् । गाडी दायाँ–बायाँ, अघि–पछि जता पनि जान सक्छ भन्दै छन् । चौबाटोमा उभिएको ट्राफिक प्रहरीझैँ उनीहरू गाडीलाई नियालिरहेछन् ।
यस्ता पर्यवेक्षकहरूको एउटा गल्ती गर्छन् । क्रान्तिका २५ वर्षमा भेनेजुयलारूपी गाडी राजनीतिक र सामाजिक रूपमा पहिलेको भन्दा धेरै बदलिएको छ । त्यसको भित्री कार्यशैली बदलिएको छ । त्यसलाई नयाँ, उल्ट्याउन नसकिने तौरतरिकामा अभ्यस्त पारिएको छ । भेनेजुयलाको यो परिवर्तित सार–सत्यलाई बदल्न ठुलै प्रतिक्रान्तिकारी बल लगाउनुपर्ने हुन्छ । – यी यावत सत्यलाई पर्यवेक्षकहरूले देख्न सकिरहेका छैनन् ।
अड्कलबाजीमा उत्रिँदै गर्दा यी पर्यवेक्षकहरूले पुँजीवादी विचारकहरूकै कुरा भट्याइरहेका छन् । मानौँ, यो देशमा क्रान्ति नै भएको थिएन; मानौँ, त्यसकै फल भेनेजुयलाले भोग्दै छ ।
महानगरको अन्तर्राष्ट्रवाद
हालका वर्षहरूमा साम्राज्यवादविरोधी बुद्धिजीवीहरूको नयाँ पुस्ता देखापरेको छ । यिनीहरू खासगरी अनलाइन सञ्जालहरूमा सक्रिय छन् । धेरै अर्थमा उनीहरूका गतिविधिलाई स्वागतयोग्य मान्नुपर्छ । सन् २००८ को आर्थिक मन्दीपछि उत्तरी गोलाद्र्धका देशहरूमा धेरै समाजवादी पत्रपत्रिका देखापरे । तिनको एउटा साझा समस्या थियो । उनीहरूले साम्राज्यवादको कडा विरोध गर्न सकेनन् । प्यालेस्टिनमा अमेरिका र इजरायलले जातिसंहार मच्चाइरहँदा उनीहरूको कमजोरी झन् प्रस्ट भयो । आज अनलाइनमा सक्रिय नयाँ बुद्धिजीवीहरूले त्यो गल्ती सच्याएको प्रतीत हुन्छ ।
यो एकदम जरुरी थियो । साम्राज्यवादविरोधी नयाँ बुद्धिजीवीहरूले आजको मूल अन्तर्विरोध बुझेका छन् । अमेरिकी साम्राज्यवाद र उसले तखतमा राखेका देशहरूबिचको अन्तर्विरोध नै आजको मूल अन्तर्विरोध हो । अघिका बुद्धिजीवीहरूले साम्राज्यवादप्रति आँखा चिम्लेका थिए भने अहिलेका बुद्धिजीवीहरू साम्राज्यवादको खरो विरोधमा उत्रेका छन् । तर, उनीहरू बढी विश्वव्यापी छन् र तिनका जराहरू ठोस सङ्घर्षमा उति गाडिएका छैनन् । उनीहरूको सीमा स्वाभाविक देखिन्छ । उनीहरू आफ्नो वर्गीय र भौतिक धरातलबाट माथि उठ्न सकेका छैनन् । उनीहरूले सजिलो हवाई यात्रा, सहुलियतपूर्ण पासपोर्ट, वित्तीय स्वतन्त्रता र काम गर्ने सहज परिवेश पाएका छन् । यसले गर्दा उनीहरूले संसारका धेरै देश वा क्षेत्रमा गएर विकासका कार्यमा पर्यवेक्षण गर्न, घुमघाम गर्न पाएका छन् ।
एकदम ‘फुक्काफाल’ बुद्धिजीवी पनि छन् र एकदम ‘जैविक’ बुद्धिजीवी पनि छन् । तर, धेरै बुद्धिजीवी पहिलो खालका छन् । निश्चय नै आज हामीलाई साम्राज्यवादको विरोधमा केन्द्रित क्रान्तिकारी अन्तर्राष्ट्रवादको आवश्यकता छ । तर, त्यसलाई ठोस क्रान्तिकारी सङ्घर्ष वा अभियानसँग जोडिएका ‘जैविक’ बुद्धिजीवीहरूले नेतृत्व गर्नुपर्छ । त्यस्तो क्रियाशीलता (प्राक्सिस, प्रतिबद्धता र आत्मालोचनाको परम्परा) बाट आएको बुद्धिजीवीले मात्र सैद्धान्तिक सङ्घर्ष वा सामाजिक परिकल्पनामा संलग्न हुने हैसियत राख्छ ।
अफ्रिकी क्रान्तिकारी अमिल्कार काब्रालले भनेका थिए, “खाना भाँडाभित्र पाक्छ, बाहिर पाक्दैन ।” अर्थात, क्रान्ति गर्न स्थानीय परिस्थिति र बाह्य अवस्था दुवैको गहिरो बुझाइ चाहिन्छ । यस्तो बुझाइ वा तल्लो तहसँगको जोडाइबेगर मध्यम वर्गले गर्ने कच्चो तुलनाले परस्पर र रचनात्मक सिकाइमा बाधा पुग्छ । भौतिक अवस्था र इतिहास नै नबुझी गर्ने यस्ता तुलनामा एकखाले नेता वा एकखाले सङ्घर्ष अर्कोभन्दा बढी जुझारु, पराक्रमी देखिन सक्लान् । त्यसैले कुनै पनि क्रान्तिकारी प्रक्रियालाई बुझ्न त्यसको समय र त्यसमा संलग्न पात्रहरूलाई बुझ्नुपर्छ† त्यो प्रक्रियालाई असर गर्ने स्थानीय परिस्थितिलाई पनि बुझ्नुपर्छ । यसरी हेर्दा हरेक क्रान्ति अरूभन्दा एकदम भिन्न हुन्छन् । त्यसैले सबै क्रान्तिलाई सम्मान गर्न जरुरी छ ।
क्रान्ति नायक ह्युगो चाभेजले पनि यसमा जोड दिनुभएको थियो । उहाँले आफ्नो अन्तर्राष्ट्रवादलाई सबैलाई एकै चस्माले हेर्ने ‘महानगरवाद’ मा पतन हुन दिनुभएन । इरान, इराक वा प्यालेस्टिनको प्रतिरोध सङ्घर्षमा सक्रिय व्यक्तिहरू आरामपूर्वक आआफ्नो देशमा बसेर अनेक आक्रोशपूर्ण टिप्पणी र निम्छरो तुलना गर्ने व्यक्तिजस्ता ‘महानगरवादी’ हुँदैनन् । किनभने, आफ्नो देशको मुक्ति सङ्घर्षमा होमिने ती व्यक्तिहरू आफ्नो मुख्य कामबारे स्पष्ट हुन्छन् । असल र कम–असल छुट्याउनु र कम–असलको आलोचना गर्नु मुख्य काम होइन । बरु, अमेरिकी साम्राज्यवादलाई परास्त गर्नु मुख्य काम हो ।
यसको लागि संसारका विभिन्न देश र त्यहाँका जनताका भिन्न स्थानीय अवस्था, सङ्घर्षको विधि र सामयिकीलाई सम्मान गर्नुपर्छ । साम्राज्यवादविरोधी आन्दोलनको निर्माण गर्न यति त गर्नैपर्छ । अनि यस्तो आन्दोलन नचलाई अन्तिम विजय सम्भव छैन ।
(लेखक भेनेजुयलाको बोलिभारियाना विश्वविद्यालयमा राजनीतिशास्त्रका प्रोफेसर हुन् ।
स्रोत : एमआर अनलाइन । सम्यक