४ चैत्र, कञ्चन
जेसीआई कञ्चन वर्ष २०२६ को आयोजनामा महिला सशक्तिकरणसम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिलाको सशक्तिकरणले नै समग्र समाजको उन्नति सम्भव हुने बताउँनु भएको छ। महिलाहरूलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा सक्षम बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले जेसिजले समुदायस्तरमा सञ्चालन गरेका रचनात्मक कार्यक्रमहरूको प्रशंसा गर्दै ती रचनात्मक तालिमहरूले महिलामा सकारात्मक सोच, आत्मविश्वास र क्षमता विकास गरी उनीहरूलाई स्वावलम्बी तथा नेतृत्वदायी भूमिकामा स्थापित गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नु भएको थियो।

तालिममा राष्ट्रिय तालिम आयुक्त राजन शर्मा पौडेलले सशक्तिकरण केवल नारामा सीमित नभई व्यवहारमा उतार्नुपर्ने विषय भएको बताउनु भएको छ। नेपाल जेसिजका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका पौडेलले सीप, आत्मविश्वास र अवसरको उचित संयोजनले मात्र दिगो सशक्तिकरण सम्भव हुने उल्लेख गर्दै महिलाहरूले प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गरी व्यक्तिगत विकाससँगै समाज परिवर्तनमा योगदान दिनुपर्ने धारणा राख्नु भएको थियो।
त्यसैगरी कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेलले महिला सशक्तिकरणलाई समृद्ध समाज निर्माणको आधार स्तम्भका रूपमा व्याख्या गर्दै महिलाको सहभागिता बिना विकास अधूरो रहने बताउनु भएको थियो। परिवारदेखि राष्ट्रसम्मको निर्णय प्रक्रियामा महिलाको सक्रिय र समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले चेतना अभिवृद्धि र नेतृत्व विकासमा ठोस टेवा पुर्याउने संस्थापक अध्यक्ष पौडेलले विश्वास व्यक्त गर्नु भएको थियो।
प्रगति नमुना माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा प्रशिक्षक कल्पना पाण्डे (कुसुम)ले नेपाल जेसिजले युवा महिलाहरुलाई समाजको असल नेतृत्व र उनिहरुको उद्यमशिलता र व्यक्तित्व बिकासमा सञ्चालन गरिने तालिमहरुले महिलाहरुमा अझ उत्साह थप्ने बताउनु भएको थियो।
कञ्चन गाउँपालिका–१ का विभिन्न महिला समूहका ७५ जना महिलाको सहभागितामा तालिममा पूर्व अध्यक्ष तथा अध्यक्ष प्रमुख सल्लाहकार जेसी धनपति ज्ञवाली (सन्देश), पूर्व अध्यक्ष राधिका चौधरी, प्रगति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश पौडेल लगायतको उपस्थिति रहेको थियो।

कञ्चन जेसिजका निवर्तमान अध्यक्ष प्रकाश उपाध्याय पौडेलले स्वागत गर्दै महिलालाई अवसर, सीप र सही मार्गदर्शन प्रदान गर्न सके उनीहरू समाजमा परिवर्तनका अगुवा बन्न सक्ने उल्लेख गर्नु भएको थियो। निवर्तमान अध्यक्ष पौडेलले तालिमले आत्मनिर्भरता, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो। ।
जेसीआई कञ्चन बर्ष २०२६का अध्यक्ष जेसी निरोज पौडेलको कार्यक्रमको अध्यक्षता गर्दै तालिमले स्थानीय महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ।
अमृतबहादुर खड्काले जेसिज आस्था पाठ गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जेसीआई कञ्चनका महासचिव कृष्ण सापकोटाले गर्नु भएको थियो।