
१५ माघ, काठमाडौँ
प्रतिनिधिसभाको यो निर्वाचनमा सही दलका सही उम्मेदवारहरू निर्वाचित गर्नुपर्छ । देश र जनताको समस्या बुझ्ने, बुझेर सरकारको ध्यानाकर्षण गराउने इमानदार, निःस्वार्थी, निडर उम्मेदवारहरू प्रतिनिधिसभामा आवश्यक छ । यसैले यो निर्वाचनमा कसैको लहलहैमा, लोभलालचमा जनताले जोकोही उम्मेदवारलाई जिताउनु ठीक हुँदैन । जनताले सही दलका सही उम्मेदवारलाई चयन नगरेकै कारण देशमा भ्रष्टाचार, अनियमितता, बेथिति, हत्या, हिंसा, आपराधिक घटना भइरहेको हो । मतदाता मिठा सपना, आकर्षक नारा र महत्वाकाङ्क्षी योजनामा भुल्नु हुँदैन । कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा छाप हाल्नुअघि विचार गर्नुपर्छ; विचार गरेर छाप हाल्नुपर्छ ।
मतदान गर्नुभन्दा अघि जनताले त्यो दल र दलका उम्मेदवारले विगतमा के राम्रो काम गरे ? के बिगारे ? के कस्ता देशघाती र जनघाती सन्धि–सम्झौता गरे, राम्ररी थाहा पाउनुपर्छ । भ्रष्टाचार, अनियमितता गर्ने, ठग्ने, आपराधिक क्रियाकलाप गर्ने र गरे पनि मौन रहने या उनीहरूलाई नै संरक्षण गर्ने दल र दलका उम्मेदवारलाई यो पटक जनताले राम्ररी चिन्नुपर्छ । अब कसैको लोभलाग्दो प्रचार होइन, उसको हिजोको व्यवहार हेरेर मतदान गर्नुपर्छ । विगतमा निर्वाचनमा जितेर सरकारमा पुगेका शासकहरूले के कति जिम्मेवारी निर्वाह गरे ? अब एक एक पर्गेल्नुपर्छ । विगतमा पदको जिम्मेवारी भुलेर अकुत सम्पत्ति कमाउने, सांसद भएर व्यक्तिगत स्वार्थमा लाग्ने दलका उम्मेदवारहरू जनताले चिन्नुपर्छ । जनताले राखेका मत खेर नजाओस्† गलत मान्छेलाई परेर प्रायश्चित गर्न नपरोस् ।
हरेक राजनीतिक दल र दलका नेता, कार्यकर्ता र उम्मेदवारहरू देश र जनताप्रति समर्पित हुनुपर्छ । तत्कालको केही स्वार्थ खोज्ने होइन भविष्यसम्म राम्रो काम गर्ने उम्मेदवार जनताले चयन गर्नुपर्छ । दलको सिद्धान्त र विचार प्रचार गरेर जनताको मत लिन लाग्नुपर्ने दल र दलका उम्मेदवारहरू अहिले अनेक नाटक मञ्चन गरी जनताको घर आँगनमा पुगिरहेका छन् । कोही उम्मेदवारहरू अहिले नै प्रधानमन्त्री बन्ने सपना बाँड्दै जनताको मत लिने चलखेल गर्दै छन् । कोही बहुमत जिताएर प्रधानमन्त्रीलाई अवसर दिए प्रमलाई गाउँमा ल्याउने प्रण गर्दै छन् । कोही विलासी गाडीमा सयर गरेर हात हल्लाउँदै त कोही भारी बोकेर जनताको विश्वास जित्ने यत्न गर्दै छन् । निर्वाचन नजिकिएपछि कति दलका नेता, कार्यकर्ता र उम्मेदवारहरू पैसा बाँड्न गाउँ बस्तीमा आउनेछन् । अहिले नै पैसा बाँडेको रिपोर्टको आधारमा निर्वाचन आयोगले उम्मेदवारसँग स्पष्टीकरण लिन थालेको छ ।
प्रजातान्त्रिक तरिकाले निर्वाचनमा सबैले प्रचार गर्न पाउँछन्; प्रचार गर्नु स्वाभाविक हो । निर्वाचनको प्रचारको क्रममा कसैलाई गाली गरेर जनताको मत लिनेभन्दा दलको सिद्धान्त र विचार या घोषणापत्रको आधारमा जनताको मत लिने काममा दल र दलका नेता, उम्मेदवारहरू लाग्नुपर्छ । देशको सम्पत्तिमा आगो लगाउने, सरकारी सम्पत्तिमा आँखा गाड्ने, नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पु¥याउने, दासी जीवन बिताउन विदेश पठाउने दल र दलका नेताहरूलाई निर्वाचनकै बेला चिन्ने हो । सहकारी ठग्ने, अल्पमतवर्गको पक्षमा लाग्ने उम्मेदवारहरूले देश र जनताको सेवा गर्दैनन् । अतः फागुन २१ गते हुने निर्वाचनमा जनताले सही नेतृत्व गर्ने दललाई छान्नुपर्छ; सही उम्मेदवारलाई जिताउनुपर्छ ।