२१ मंसीर, मणिग्राम
स्याङ्जाको बिर्घामा ८४ वर्ष पुगेकी सासुको “सहस्रचन्द्र दर्शन उत्सव”मा तीनजना ज्वाईँहरूले अचम्मको उपहार प्रस्तुत गरेका छन् । कालीगण्डकी गाउँपालिका – ३, बिर्घा–धोवादीखोलामा आयोजित केशरी पाण्डेको चौरासी पूजामा उहाँकै जीवनीसहितको रंगीन पुस्तक प्रकाशन गरी ज्वाइँहरूले उहाँकै हातबाट विमोचन गराएका हुन् ।
ज्वाईँहरूः ड्राइभरटोल–रूपन्देहीका तोलाकान्त भण्डारी, बुटवल–पोखराबारीका भेषराज ढकाल र सोह्रखुट्टे–काठमाण्डौंका छायाँदत्त खरालले ५२ पृष्ठको पुस्तक जानकारी विना नै प्रकाशन गरी एकाएक विमोचन गर्न लगाउँदा उपस्थित परिवारजन सहित सयौं आगन्तुक अचम्मित भएका थिए ।

साहित्यकार एवम् पुस्तकका सामाग्री संकलक खगेन्द्रप्रसाद बस्यालको सञ्चालनमा भएको विमोचन कार्यक्रममा चौरासी पूजाका मूलकर्ता केशरी सहित पूर्वसांसद मोहनप्रसाद पाण्डेय, परिवारका ज्येष्ठ सदस्य र प्रकाशकहरूले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रकाशक एवम् वास्तु कन्सल्टेण्ट तोलाकान्त भण्डारीले ज्वाईँहरू दातव्य ग्रहण गर्नेमात्र नभई छोरासरह दायित्व र कर्तव्य निर्वाह गर्ने पात्र समेत भएकाले कृति प्रकाशन गरिएको बताउनुभयो ।

अर्का प्रकाशक उपप्राध्यापक भेषराज ढकाल र छाँयाँदत्त खरालले परम्परा, दर्शन र शास्त्रले समेत ज्वाईँहरूलाई छोराको विकल्पको रूपमा प्रस्तुत गरेको भन्दै एक जागरणको उद्घोषको रूपमा पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।
चौरासी पूजाका मूलकर्ता केशरी पाण्डेका भानिज एवम् साहित्यकार खगेन्द्रप्रसाद बस्यालको सामाग्री संकलन र नाति मुक्तिनाथ गैह्रेको सम्पादनमा प्रकाशित पुस्तकमा केशरी पाण्डेको जीवनी, चौरासी पूजाको सामाजिक, धार्मिक र आध्यात्मिक पक्ष, पारिवारिक शान्तिका लागि वास्तुविज्ञानको विवेचना, उहाँसँग सम्बन्धित कुलरवंशको वंशवृक्ष, विस्तृत पारिवारिक सञ्जाल, आफन्तका शुभकामना, विभिन्न यात्राका देशविदेशका फोटोहरू, आफन्तका फोटो सहितका शुभकामना लगायत विषयवस्तु प्रकाशित छन् ।

पुस्तक विमोचनमा सहभागी केशरी पाण्डेका छोरा ताराप्रसाद र बुहारी भगवती पाण्डे त्यस्तै छोरीहरूः लक्ष्मी भण्डारी, तुलसा ढकाल र सीता खराल, नाति–नातिना लगायतले आफूहरू समेतलाई चकित पार्नेगरी चौरासी पूजामा नौलो आयाम थपिदिनुभएको भन्दै आभार व्यक्त गर्नुभएको थियो ।