सुमन
२०४६ सालको जनआन्दोलनले पञ्चायत ढल्यो । प्रजातन्त्र आयो र आजका शासक दलका नेताहरू सत्तामा पुगे । जनताको आन्दोलनबाट आएका उनीहरूले भ्रष्टाचार गरेर, अकुत सम्पत्ति कुम्ल्याउने, विभिन्न षड्यन्त्र गरेर नेता र जनताको हत्या गर्ने पञ्च मण्डलेहरूलाई कारबाही गरेनन् । बरु उनीहरूलाई पार्टी ठुलो बनाउने नाममा अविर र फूलमाला लगाएर पार्टीमा ज्वाइँलाई जस्तो भित्याए । उनीहरूले हिजो अँगाल्दै आएको सङ्घर्षशील विचार, निष्ठा, त्याग, सङ्घर्षको राजनीतिलाई बिर्सँदै गए । पञ्चहरूको ठाउँ यी शासक दलका नेताहरूले लिँदै गए । त्यसैको परिणाम हिजो उनीहरूको विरुद्ध उठाएको मुठी सोझाएको औँलो आज आफैतिर सोझिए ।
शासक दलका नेताहरू ३५ वर्ष यता पटक–पटक सरकारमा गए । काङ्ग्रेसका नेता शेरबहादुर देउवा पाँच पटक प्रम भए । एमालेका नेता खड्गप्रसाद ओली ४ पटक, माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ३ पटक, काङ्गे्रसकै नेता गिरिजाप्रसाद कोइराला २ पटक प्रम भए भने नेपाली काङ्ग्रेसकै नेता कृष्णप्रसाद भट्टराई, सुशीला कोइराला, एमालेका नेता मनमोहन अधिकारी, नेकपा समाजवादीका माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादीका बाबुराम भट्टराई, राप्रपाका सूर्यबहादुर थापा, लोकन्द्रबहादुर चन्द १/१ पटक प्रम भए । त्यस्तै एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल, काङ्गे्रसका प्रकाशमान सिंह, राप्रपाका कमल थापा, राजेन्द्र लिङ्देन, राजमोका चित्रबहादुर केसी, जसपाका उपेन्द्र यादवलगायतका नेताहरू उपप्रम भए । कार्यालयमा आफ्नो तस्वीर झुन्ड्याउन भए पनि बँुख्याचाजस्ता मन्त्री भएका कति छन् गनेर साध्य छैन । तर, बहुसङ्ख्यक नेपाली जनताको जीवनस्तरमा कुनै परिवर्तन आएन । देशको अवस्थामा कुनै आमूल परिवर्तन भएन । सत्ताबाहिर रहँदा चर्को विरोध गर्ने उनीहरू सत्ताभित्र कुनै बोलेनन् । बरु फाटेको चपल, च्याटेको, मैलो लुगा गलबन्दी लगाएर राजधानी छिरेका उनीहरू सबैले पालैपालो भ्रष्टाचार गरेर देश लुटे । राजधानीमा बङ्गलाहरू ठड्याए । उनीहरूको जीवन शैलीमा सुधार भयो । सात पुस्तालाई पुग्ने गरी विदेशमा पैसा थुपारेको सञ्चारमाध्यममा आइरहेकै छ । देश बनाउने हो भने उनीहरूको निष्पक्ष छानबिन हुनुपर्छ । सरकारले आँट गर्यो भने उनीहरू सबै जेल जानेछन् । यसमा विगतका र हालका मुख्य सचिव, निजामती कर्मचारीहरू, न्यायाधीश, नेपाली सेना, प्रहरीहरू पनि अछुतो हुनेछैनन् । लुटकै कारण आज देश अनि जनता सुकेका रुखजस्ता भएका हुन् ।
पिँडालु खान पल्केका सुँगुर र भ्रष्टाचार गरी अकुत सम्पति कुम्ल्याउन पल्केका मान्छेहरू त्यस्तै त्यस्तै हुन् । अहिले एमाले, काङ्ग्रेसलगायतका शासक दलका नेताहरू प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री, मन्त्री, सांसद, सल्लाहकार, निजी सचिवलगायतका पद खुस्किँदा पिँडालु खान नपाएको सुँगुरजस्तो बेचैन छन् । उनीहरू भोकाएका सिंहजस्ता भएका छन् । त्यो खान नपाएको पीडा, पद नपाएको बेचैनी, भोकको झोक, कहाँ कहाँ पोखौँ, कहाँ कसरी पोखौँ उनीहरूलाई भइरहेका छन् । उनीहरू जसरी पनि प्रतिनिधिसभा ब्युँताउन लागिपरेका छन् ।
हिजो एमाले, काङ्ग्रेसको स्वार्थको कारण प्रतिनिधिसभाको विघटन, स्थानीय तहको म्याद थप नगर्दा, निर्वाचन नगर्दा देशमा जनप्रतिनिधिविहीन भयो । त्यसले देशको विकास २०/३० वर्ष पछाडि धकेलियो । त्यस राजनीतिक सङ्कटको बेला निकास दिन नेपाल मजदुर किसान पार्टीले संसद् पुनःस्थापना गर्न सर्वोच्चमा रिट हाल्यो । नेमकिपाको आह्वानमा जनताको साथ र सहयोगमा भक्तपुरदेखि काठमाडौँसम्म प्रतिनिधिसभा बिउँताउन, पुनःस्थापना गराउन विशाल पैदल जुलस भयो । नेमकिपा र जनताको मागबमोजिम राष्ट्र प्रमुखले प्रतिनिधिसभा बिउँताएर देशलाई निकास दियो । त्यसबेला आजका एमालेको यी नै नेताहरूले मरेको मान्छे बिउँताउने भन्ने मात्र विघटन गरेको या मरेको प्रतिनिधिसभा बिउँतिन्छ भनेर खिसी उडाएका थिए । आज तिनै पार्टीका नेताहरू कुन मुखले, कुन नैतिकताले कसरी विघटित प्रतिनिधिसभाको माग गर्न सके होलान् ?
प्रजातन्त्रमा विश्वास गर्ने पार्टीका नेता निर्वाचनमा जानदेखि डराउँदैनन्, खुट्टा कमाउँदैनन् । तर, एमाले, काङ्ग्रेसलगायतका शासक दलका नेताहरू निर्वाचनमा जान डराइरहेका छन् । जनताले मतदानबाट जनतालाई धोका दिने, विश्वासघात गर्ने, भ्रष्ट उम्मेदवारलाई हराएर सजाय दिने हुन् । देशभक्त, इमानदार, कर्मशील, जनताप्रति उत्तरदायी उम्मेदवारलाई अत्यधिक मत दिई जिताउने पनि जनता नै हुन् । शासक दलका नेताहरूले सात पुस्तालाई पुग्ने गरी भ्रष्टाचार गरी अकुत सम्पति जोडे विदेशी एनजीओ, आइएनजीओको डलर खाएर मोटाए । त्यसैको सावाँ ब्याज खाएर उनीहरूले अमेरिका, पच्छिमी देश र भारतले एमसीसी, लगानी बोर्ड, महाकाली सन्धि, डब्लुटीओ, विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान पास गरिसकेका छन् । उनीहरूले देशको होइन विदेशको सेवा गर्ने प्रवासीलाई मतदानको अधिकार दिन खोज्दै छन् । विदेशीको नुन खाँदा, भ्रष्टाचारको फोहर पोखरीमा चुर्लुम्म डुब्दा, अकुति सम्पत्ति कुम्ल्याउँदा, जोड्दा त्यसको अपराधबोधले लाखौँ सङ्गठित, सक्रिय नेता, कार्यकर्ताहरू भएको भनिएको एमाले र आफ्नो नेतृत्वको झन्डै दुईतिहाइको बलियो सरकारलाई जेन–जीको नाममा भएको दुईदिने आन्दोलनले हटायो । देशको सम्पत्ति जलाउँदा पनि उनीहरूले चुइँक्क बोल्न सकेनन् । उनीहरू ज्यान जोगाउन भाग्नुपर्यो या लुक्नुपर्यो । त्यसको कारक उनीहरूको दम्भ, अहङ्कार र घमण्ड नै थिए ।
शिक्षा र स्वास्थ्यजस्तो जीवनका आधारभूत सेवा प्रदान गर्ने संस्थाहरू विदेशीको कब्जामा गए । यसलाई गरिब जनताको पहुँचमा पु¥याउनुको सट्टा व्यापार, नाफाको साधन बनाइयो । यसले बहुसङ्ख्यक जनता समान शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित भए । विदेशीहरूले सहयोगको नाममा उनीहरूलाई बिरालोले मुसा खेलाएझँै खेलाइरहेका छन् । त्यसैको शिकार उनीहरू आफै भइरहेका छन् । सिस्नो रोपेर तुल्सी उम्रँदैन । त्यसको फल उनीहरू चाख्दै छन् ।
दूरदर्शी सोच र परिणामलाई ख्याल गरेर उनीहरूले सुरुदेखि नै पार्टी, सिद्धान्त, विचारअनुसार निष्ठा र इमानदारीको राजनीति गरेका भए आज उनीहरू त्यसरी पछुताउनुपर्ने अवस्थामा रहने थिएनन् । भ्रष्टाचारको फोहर पोखरीमा चुर्लुम्म डुब्ने थिएन, देशघाती काम गर्ने थिएन । देशको सम्पत्ति जलेर ध्वस्त हुने थिएन । यसरी विदेशी एनजीओ, आइएनजीओको कार्यकर्ताको, विदेशी प्रभावमा परेको मान्छेको सरकार बन्ने थिएन । यसको तमाम जिम्मेवार र दोषी उनीहरू नै हुन् । त्यस्तै विदेशीले उनीहरूलाई पुतली खेलाएजस्तो खेलाउन सक्ने थिएन । विदेशीले देशको भूमि मिच्ने, अतिक्रमण गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने थिएन । यदि विदेशीहरूले त्यस्तो देश हितविपरीतका काम गर्न खोजे ।
उनीहरू भ्रष्टाचारको फोहर पोखरीमा चुर्लम्म डुब्दा, विदेशी डलर खाँदा, राजधानीमा बङ्गला ठडयाउँदा, देश र जनतालाई घात गर्दा त्यसको अपराधबोधले चुनावमा जान डराइरहेका हुन् । उनीहरू जेन–जीका युवाहरूलाई सार्वजनिक जग्गा विहार हडपेर बनाएको होटेल छायाँ कम्पलेक्समा बोलाएर फकाउँदै छन् । उनीहरू आफ्नो स्वार्थको लागि नाङ्गिएर घात गर्न पछि पर्दैनन् भन्ने कुरा उनीहरूले बुझेकै हुनुपर्छ । त्यस्तै तल्लो स्तरको नीच सोच र विचार त्यागेर, जनतासँग माफी मागेर निर्वाचनमा जानुको विकल्प छैन । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा विगतमा जस्तो करोडौँ खर्चेर जनतालाई मासुको पोका, भोजभतेर, जाँड रक्सी, राँगो, खसी ढाल्ने, कुर्ठा, सारी, ग्यास सिलिन्डर, पैसा बाँड्ने, डर धम्की देखाउने काम रोक्नुपर्छ । जनतालाई देश निर्माणको लागि सचेत गराई यो निर्वाचन सम्पन्न गर्नु सबैको कर्तव्य हो ।