५ असोज, काठमाण्डौ
 भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ लको आयोजनामा संविधान दिवसको अवसरमा अन्तरसंवाद कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले क्रान्तिको अर्थ भएको सरकारलाई हटाएर नयाँ सरकार गठन गर्नु नभई भएको व्यवस्थालाई पूरै उल्टाएर नयाँ बन्दोबस्त लागु गर्नु हो भन्नुभयो ।
“अहिले हाम्रो देशमा उत्पादनका मुख्य मुख्य साधन र स्रोतहरू (बैङ्क, कलकारखाना) धनीहरूको हातमा छ, यदि साँचो क्रान्ति भएको खण्डमा ती धनीमानीको हातमा रहेको उत्पादनका मुख्य मुख्य साधन र स्रोतहरू राष्ट्र र सारा जनताको हातमा हुुन्थ्यो तर, त्यो पूरा हुन अझै धेरै वर्ष लाग्न सक्छ”, उहाँले स्पष्ट गर्नुभयो ।
सत्तामा पुगेका शासक पार्टीहरूले आफ्नो पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेसको पहिलो आम निर्वाचनको घोषणापत्रमा ‘समाजवाद हाम्रो टाढाको उद्देश्य भएको’ उल्लेख गरिएको थियो । एमाले र नेकपा माओवादी आफूहरू कम्युनिस्ट भन्छन् । कम्युनिस्टहरूले उत्पादनका साधनहरू सामाजिकीकरण गर्छन्, जमिन जोत्नेलाई प्रदान गर्छन् । तर, एमाले र नेकपा माओवादीले धेरै पटक सरकारमा पुगेर पनि घोषणापत्रअनुसार काम पूरा गरेनन् । त्यसकारण, एमाले र नेकपा माओवादी कम्युनिस्ट पार्टी होइनन्, तिनीहरूले कम्युनिस्टको नाममा जनतालाई ठगिरहेका छन् ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “राज्यसत्ता भनेको सरकारमा जाने, राष्ट्रपति या प्रधानमन्त्री हुनेमात्र होइन । राज्यको आफ्नै प्रहरी, गुप्तचर विभाग, प्रशासन, राजदूतजस्ता संयन्त्र हुन्छन् । ती सबै संयन्त्रले जो राष्ट्रको कार्यकारी प्रमुख हुन्छ उसको निर्देशनलाई पालना गर्नैपर्छ । यदि कार्यकारी प्रमुखले दिएका निर्देशनहरू सरकारका संयन्त्रहरूले पालना गर्दैनन् वा ती संयन्त्रहरूले सरकारलाई सहयोग गर्दैनन् भने साँचो अर्थमा त्यो सरकार निष्क्रियसरह हुन्छ ।”
शासन सत्तामा बस्नु भनेको ख्याल ठट्टाको विषय नभएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “राजनीति भनेको तरबारको धारमा हिँड्नु जस्तै हो; सरकारमा बस्नेले सबैलाई सन्तुलनमा राख्न सक्नुपर्छ ।”
देश बिग्रनुमा भ्रष्टाचारी र गलत प्रवृत्तिका ठेकेदारहरूमात्र होइनन् तिनीहरूलाई संरक्षण गर्ने शासक पार्टीहरू पनि दोषी भएको प्रस्ट्याउँदै अध्यक्ष बिजुक्छेँले सरकारले सजाय नगरेमा जनताले भ्रष्टाचारी र गलत प्रवृत्तिका ठेकेदारहरूलाई कारबाही गर्ने दिन आउनेतर्फ खबरदारी गर्नुभयो ।
उहाँले भन्नुभयो, “पैसा बाँडेर सङ्गठन गर्दाको परिणाम एमाले र काङ्ग्रेसले भोग्नुप¥यो । पैसा बाँडेर समाजवाद आउँदैन, न त क्रान्ति नै हुन्छ । ”
“देशको सन्तुलित विकासको लागि सबै सांसदहरूले आ–आफ्नो जिल्लामा गई काम गर्नुपर्छ, काठमाडौँमा आई घर बनाउने होइन”, उहाँले सचेत गराउनुभयो ।
प्रशासनिक संयन्त्रलाई चुस्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जनता सचेत नभएमा र राजनीतिक पार्टीहरू दृढ नभएमा देश अस्तव्यस्त हुनेछ । जनतालाई दिएको आश्वासन पूरा नगर्दाको दुर्गति शासक पार्टीहरूले अहिले भोग्नुपरेको हो ।”
फ्रान्सेली क्रान्तिको १० वर्षमा ४ वटा संविधान बनेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेपालको संविधान २०७२ मा नेमकिपाले ७१ बुँदामा संशोधन प्रस्ताव पेश गरे पनि शासक पार्टीहरू नमान्दा अहिलेको परिणाम निम्तिएको हो भन्नुभयो ।
संरा अमेरिका दुःखको देश भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले अमेरिकाको विकासमा अफ्रिकी जनताको रगत र पसिना मुछिएको छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जुनसुकै पेसा अपनाए पनि राजनीतिकरूपमा सचेत हुनु जरूरी छ । जस्तोसुकै अवसर आइपरे पनि अवसरलाई सदुपयोग गर्ने क्षमता हुनुपर्छ । सरकारमा बस्दैमा योग्य हुन्छ भन्ने होइन । समाजवादी सिद्धान्तप्रति समर्पित बहुसङ्ख्यक जनता तयार नभएसम्म समाजवाद स्थापना हुनेछैन ।”
भक्तपुर नगरपालिकामा प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले संविधान स्थायी दस्ताबेज नहुने भएकोले समयको आवश्यकता र जनताको चाहनाअनुसार संविधानमा संशोधन हुने गर्छ भन्नुभयो ।
उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण गर्न, व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्न, सम्पत्तिको सीमा निर्धारण गर्न, योग्यताअनुसारको काम र कामअनुसार ज्यालाको बन्दोबस्त गर्न, स्थानीय तहलाई विश्वविद्यालय चलाउने अधिकार प्रदान गर्न, भ्रष्टाचार–बलात्कारजस्ता जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्डको व्यवस्था गर्न संविधान संशोधन गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
विचार र सिद्धान्तमा आधारित सङ्गठित संस्थाले गर्ने परिवर्तनमात्र स्थायी हुने धारणा राख्दै भीडको नेतृत्वमा हुने परिवर्तनले स्थायित्व प्राप्त गर्न सकिँदैन भन्नुभयो ।
नगर प्रमुख प्रजापतिले भन्नुभयो, “बहुदलीय व्यवस्था पुनःस्थापनापछिको ३५ वर्षयता संयुक्त वा एकल सरकारमा गएका शासक दलहरूले देश र जनताको निःस्वार्थ रूपमा सेवा नगरेको र भ्रष्टाचार, पक्षपात, भागबन्डालगायत अनियमित गरेको हुँदा भदौ २३ र २४ गतेको जन–असन्तुष्टि छताछुल्ल भएको हो । त्यसपछि देशमा थप राजनीतिक जटिलता उत्पन्न भयो ।”
उहाँले भन्नुभयो, “देश र जनताका समस्या समाधानका लागि राष्ट्रपतिबाट समयमा संविधानको संरक्षण तथा पालन भएन र राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार तत्काल प्रयोग भएन । समयमै शान्ति सुरक्षा कायम नहुँदा अकल्पनीय जनधनको क्षति भयो । शासक दलका नेताहरूको सहमतिमा भदौ २७ गते राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनलगायत संवैधानिक दायरा बाहिरबाट निकास दिनु भनेको जनताको भावनाविपरीत हो । अहिलेको सङ्कटको लागि शासक दलहरू इतिहासमा दोषी साबित हुनेछन् ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले शासक पार्टीका नेताहरूमा रहेको दम्भको आक्रोशपूर्ण जवाफ नै भदौ २३ र २४ गतेको घटना हो भन्नुभयो ।
उहाँले नयाँ पुस्तालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी र ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षकहरूले राख्नुभएको जिज्ञासालाई अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभएको थियो ।