१३ साउन, भैरहवा
नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा रक्तदान कार्यक्रमको आययोजना गरी बर्षमा १०० भन्दा बढी युनिट रगत संकलन गर्ने रक्तदाता संघसंस्थाहरुलाई सम्मान गरेको छ। नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बुटवल र रक्त सञ्चार सेवा ईकाई भैरहवाको संयुक्त प्राविधिक सहयोगमा गत आ.व.मा रुपन्दहीमा ३४ हजार ७२ युनिट रक्त संकलन गरेको थियो। जसमध्ये, विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेर २८ हजार ७ सय ३५ युनिट र स्वयंसेवी रक्तदाताहरुबाट ५ हजार ३ सय ३७ युनिट रक्त संकलन भएको हो।
रक्तदानमा महत्वपूर्ण भूमिका निभाउने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमील्सिनाले रुपन्देही रेडक्रसको योगदान वारे चर्चा गर्नुभयो । लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताउदै मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशभरीका सबै अस्पतालहरुमा सहज र निःशुल्क रगत उपलब्ध गराउन आवस्यक समन्वय गर्ने प्रतिवद्धता समेत जनाउनुभयो।


६० औं रक्तसञ्चार सेवा दिवशका अवसरमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले सोमबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी रगत संकलन गर्ने ६५ सर्बोकृष्ट विभिन्न संघ संस्थाहरुलाई सम्मान गरेको हो। कार्यक्रममा वार्षिक प्रगती विवरण सार्वजनिक गर्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपाध्यक्ष तथा रक्त सञ्चार सेवा समिति रुपन्देहीका संयोजक शुशील गुरुङ्गले आ.व. २०८१–०८२ मा रक्त संकलित यो परिमाण अघिल्लो आवको तुलनामा २ हजार ३ सय ९३ युनिट बढी भएको जनाउनु भएको छ। संयोजक गुरुङले रुपन्देहीमा रगतको आवश्यकता र महत्वलाई मध्यनजर गर्दै रेडक्रसले २०३४ कात्तिक २० गते रक्तसञ्चार सेवा केन्द्र बुटवल र २०५७ फागुन १२ गते रक्तसञ्चार सेवा इकाई भैरहवाको स्थापना गरी संचालनमा आएको बताउनु भयो । आव २०८१–०८२ मा रुपदेहीमा भएको यो रक्त संकलन नेपालमैं धेरै संकलन गर्ने जिल्लाको रुपमा प्रथम स्थान हासिल गरेको उल्लेख गर्दै संयोजक गुरुङले रेडक्रस रुपन्देहीको ब्लड बैंकलाई अत्याधुनिक बनाउन र बिरामीलाई पूर्ण रुपमा संक्रमण रहित रगत प्रदान गर्न नयाँ प्रबिधिमा जाने दिशामा अघि बढेको समेत बताउनु भयो ।

गत वर्षमा ४ सय ३८ संघसंस्थाले विभिन्न समय र स्थानमा ७ सय ७ वटा रक्तदान कार्यक्रमको आयोजना गरि रक्त संकलन गरेका थिए । लुम्बिनी प्रदेश सरकारले केही वर्षदेखि प्रदेशका सरकारी अस्पतालहरुमा निःशुल्क रगत प्रदान गर्ने कार्य गर्दै आएको उल्लेख गर्दै संयोजक गुरुङ्गले यो कार्यलाई अझ बिस्तार गरि प्रदेशभरिका सवै सरकारी तथा निजी अस्पतालहरुमा पुर्याउनका लागि माग गर्नुभयो । संयोजक गुरुङ्गले शाखालाई डिजिटलाइज्ड बनाउन वेभसाइड लन्च गर्ने कार्यसमेत भएको बताउनुभयो ।
रक्तसंचार सेवा दिवसमा नेपाल स्वयंसेवी रक्तदाता समाज प्रथम
नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले वर्षभरि एक सयभन्दा बढी पिन्ट रक्तदान गर्ने ६५ संघसंस्थाहरुलाई सम्मान गरिहँदा नेपाल स्वयंसेवी रक्तदाता समाजले ५ हजार ५६६ युनिट रगत संकलन गरेर प्रथम भएको छ । प्रथम स्थान हासिल गरे पश्चात नेपाल स्वयंसेवी रक्तदाता समाजले नगद २० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएको छ ।
यसैगरी नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले १ हजार ३७० युनिट रगत संकलन गरी दोस्रो भइ १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित भएको छ भने १ हजार २४८ युनिट रगत संकलन गरी तेश्रो स्थानमा रहेको नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखालाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाद्वारा प्रकाशित शाखाको बुलेटिन र वेभसाइड समेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिना, विजयनगर गाउँपालिका, कपिलबस्तुका अध्यक्ष गोपाल बहादुर थापा, रुरु गाउँपालिकाका अध्यक्ष यदुनाथ ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति लालप्रसाद पंगेनी (कृष्ण), सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, चन्द्रकोट गाउपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले सर्वोकृष्ट रक्तदाता र संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायले संस्थाका सबै कामलाई पेपरलेस र तथ्यांकिकरण अनलाइनमा राख्ने ब्यवस्था भएको बताउदै हाल सोसाइटीबाट विपद ब्यवस्थापन, पारिवारिक पुनस्र्थापना, एम्बुलेन्स सेवा सञ्चालन गर्दै आइरहेको बताउनु भयो। सभापति उपाध्यायले राजनीतिक दल, तिनका भातृ संगठन, व्यवसायिक संघसंस्था, गैरसरकारी संघसंस्था, बैंक तथा वितीय संघसंस्था, सहकारी संघसंस्था, धार्मिक संघसंस्था शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताउदै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा रुरु गाउँपालिकाका अध्यक्ष यदुनाथ ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति लालप्रसाद पंगेनी (कृष्ण), सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण प्रसाद चौहान, नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका उपाध्यक्ष लेखनाथ भण्डारी लगायतले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन गर्दै सोसाइटी, रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापा क्षेत्रीले विश्व रक्तदाता दिवस र रक्तसंचार दिवसमा संस्थागत कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो ।

कञ्चनको श्री निश्चल कृषि सहकारी संस्था सम्मानित
६० औं र१m सञ्चार दिवसको अवसरमा आ.व. २०८१-०८२ मा १२२ युनिट रगत संकलन गरी कञ्चन गाउँपालिकाको श्री निश्चल कृषि सहकारी संस्था लिमिटेड पनि सम्मानि भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले रक्तदान अभियानलाई ग्रामिण क्षेत्रमा सकारात्मक सोंचको बिकास गराउन अहम भूमिका खेल्दै आएको छ।
कञ्चनमा श्री निश्चल कृषि सहकारी संस्था लिमिटेड सहित नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखा, जेसिआई कञ्चन, भैसाही युवा क्लव, रिभरसाइड युथ क्लव, योजना बचत तथा ऋण सहकारी संस्था, कञ्चन सहकारी सञ्जाल, धरोहर बचत तथा ऋण सहकारी संस्था, थारु कल्याण्कारी सभा र नेपाल मगर संघले विभिन्न समय र सन्दर्भमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन। गत आ.व.मा कञ्चन गाउँपालिकाका विभिन्न संस्थाहरुले ५१४ युनिट रगत संकलन गरेको थियो।
‘रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं’ भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा निरन्तर सामाजिक कार्यक्रम अग्रसर रहँदै आएको छ । नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकार हुन् ।