३२ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपािलकामा डेंगु रोग सार्ने लामखुट्टेको बास स्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानसम्बन्धी स्थानीय तहका सरोकारवालाहरुसँग पैरवी कार्यक्रम मंगलवार सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय रूपन्देहीको आर्थिक सहयोगमा तथा कञ्चन गाउँपालिका र रुद्रपुर स्वास्थ्य चौकीको समन्वयमा कञ्चन गाउँपालिका–४, पुर्तीघाट बजारमा भएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवाली र वरिष्ठ भ्याक्टर Control सुपरभाइज केदारनाथ साहले समुदायमा डेंगु रोगको रोकथाम, लक्षण, उपचार तथा सतर्कताका उपायहरूबारे सहजिकरण गर्नु भएको थियो।


कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवराज पोख्रेलले लामखुट्टेबाट सर्ने प्राणघातक रोग डेंगुबाट बच्नका लागि आफ्ने घर वरीपरी सफा राख्ने। लामो समयसम्म पानी जम्ने स्थान, पोखरी, डब्बा, टायर, बाल्टी जस्ता बस्तुहरुमा रहेका पानीलाई फाल्ने वा नियमित सफाई गर्नका लागि मानिसको स्वास्थ्य बानी व्यबहारमा समेत चेतना आवस्यक हुने भएकोले कार्यक्रमलाई नियमित गरिएको बताउनु भयो। नागरिकलाई स्वस्थ राख्नु हरेक सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत पोख्रेलले पालिका तथा जिल्लास्तर रुपमा स्वास्थ्य शिक्षा, सरसफाइ अभिवृद्धि, लार्भा खोज तथा नष्ट गर्ने अभियान, घरदैलो कार्यक्रम, ब्यानर तथा पोस्टर मार्फत जनचेतना, स्वयंसेविकाको परिचालन जस्ता कृयाकलापहरु संचालन गरिदै आएको समेत बताउनु भयो।

यस्तै रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्माले समुदायको सहकार्यमा डेंगु नियन्त्रण सम्भव छ भन्ने विश्वाससहितकञ्चन गाउँपालिकाभित्र डेंगु रोगको नियन्त्रण तथा रोकथामका लागि आगामी दिनुहरुमा थप रचनात्मक, प्रभावकारी र समुदायमुखी कार्यक्रमहरू संचालन गरिने प्रतिवद्धता समेत जनाउनु भएको थियो।

रुद्रपुर स्वास्थ्य चौकी व्यबस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थय शाखाका सह संयोजक गणेश सुनारले पनि बोल्नु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका अध्यक्षहरू, टोल विकास संस्थाका अध्यक्षहरू तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।