
१४ असार, कञ्चन
रुपन्देहीको कञ्चनमा लुम्बिनी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय महिला समुत्थान परियोजना, राप्ती दाङ्गको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा बाल विवाह, बहु विवाह बिरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय महिला समुत्थान परियोजनाका बरिष्ठ महिला अधिकृत सम्झना सुवेदीले लुम्बिनी प्रदेश र कञ्चनमा बाल विवाह र बहु विवाहको अवस्था, त्यसले पार्ने सामाजिक तथा आर्थिक समस्या, बाल विवाह र बहु विवाह रहित पालिका बनाउन सरोकारवालाहरुको भूमिका र प्रतिवद्धतावारे प्रशिक्षण गर्नु भएको थियो।
कार्यक्रमको शुरुवात गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनमा बाल विवाह र बहुविवाह रहित बनाउन सरोकारवाला पक्षहरुको भूमिका महत्वपुर्ण हुने बताउनु भयो। समाजमा हुने बाल विवाह र बहु विवाहमा संलग्न व्यक्ती, समाज तथा समूहलाई निरुत्साहित गर्न कानुनको दायरामा ल्याउन स्थानीय सरकार र प्रशासनको भूमिकालाई नीतिगत अझ प्रभावकारी बनाउन पालिका तहबाट गर्नुपर्ने आवस्यक कार्यहरुमा कुनै कमी आउन नदिने अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले सामाजिक अपराधको रुपमा रहेको बाल विवाह र बहु विवाह मुक्त पालिका बनाउन सरोकारवालाहरुको भूमिकालाई प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्ने बताउनु भयो। उपाध्यक्ष थापा मगरले कार्यक्रम पछि बाल विवाह र बहुविवाह बिरुद्ध कञ्चनका टोल बिकास, संघ संस्था, सरोकारवालाहरुबाट सचेतना कार्यक्रम सहित अभियानले सार्थकता पाउने बताउनु भयो।
जनप्रतिनीधि, कर्मचारी, संघसंस्थाका अगुवा, शिक्षक, विद्यार्थी, साथी सञ्जाल, किशोर किशोरी लगायत सरोकारवालाहरुको सहभागी रहेको कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, कार्यपालिका सदस्य चित्रलाल तुलाचन, कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भूसाल, सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापा मगर, कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले कार्यक्रमबाट प्राप्त सिकाई, अनुभव र महत्ववारे अनुभव बताउनु भएको थियो।
लुम्बिनी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय महिला समुत्थान परियोजना, राप्ती दाङ्गका सचिव बसन्त प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा तथा सामाजिक बिकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण पोख्रेल, कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भूसाल, महिला बिकास निरीक्षक राधा भट्टराईको समेत कार्यक्रममा आतिथ्यता रहेको थियो।