१४ असार, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलबाट एसईई दिएका विद्यार्थीहरूको लागि मार्ग निर्देशन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सानो उमेरमा सिकाइएको भाषा बालबालिकाले ठुला हुँदा समेत शुद्धसँग बोल्न र लेख्न सक्ने भएकोले विद्यालयमा एउटा भाषालाई मात्र जोड दिँदा अन्य भाषा बोल्न र लेख्न गा¥हो हुनेतर्फ शिक्षक शिक्षिकाहरू सचेत हुनु आवश्यक छ भन्नुभयो ।
मुख्य पदमा बसेकाहरू, आत्मकेन्द्रित हुन नहुनेतर्फ सचेत गराउँदै मानिसलाई पेसाअनुसार रोग लाग्न सक्ने भएकोले सोहीअनुसारका उपचारको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “संरा अमेरिकाका राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्की दुवै सिनेमासँग सम्बन्धित हुँदा राजनीतिमा गम्भीर भएनन् । मानिसले अरुबाट पनि सिक्नुपर्दछ ।”
पाठ्यपुस्तकमा नभएका विषय अध्ययन गरी शिक्षक–शिक्षिकाहरूले विद्यार्थीलाई पढाउनु जरुरी छ । घर परिवार, आमा–बुबाबाट र विद्यालयका शिक्षक–शिक्षिकाको कारण विद्यार्थीहरूमा भाषा र व्यवहार खस्रो हुनेतर्फ सबै सचेत हुनुपर्दछ, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “परीक्षामा उत्तीर्ण नभई विद्यार्थीलाई पास गर्नुहुँदैन । त्यस्ता विद्यार्थीलाई विदेशीको सस्तो ज्यामी बन्न पठाउने सरकारहरू देशद्रोही हुन् । मदिरा र सुर्तीजन्य पदार्थले मानिसको मस्तिष्क ढिलो हुनेछ, पढाइमा कमजोर पार्नेछ, मदिरा र सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको स्मरणशक्ति कमजोर हुन्छ, नेपालका सरकारहरू यसबारे संवेदनशील छैनन् ।”
विद्यालय शिक्षकहरूकोे आन्दोलन विद्यालय शिक्षा गुणस्तरीय बनाउने भन्दा सुविधा र सहुलियतमा केन्द्रित भयो । जीवनमा ८० हजार पुस्तक पढेका विद्वानहरू पनि सार्वजनिक भयो, उहाँले भन्नुभयो ।
सरकारले सबै विषय पढाउनु पर्दैन भने पनि विद्यार्थीलाई राजनीति, अर्थशास्त्र, भूगोल, इतिहास, कानुनलगायत विषयमा जानकारी दिनु जरुरी भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “इजरायल र संरा अमेरिकाले इरानलाई हमला गरे । इरानले पनि इजरायल र संरा अमेरिकालाई प्रत्याक्रमण ग¥यो । यी देशहरू संसारको नक्सामा कहाँ पर्दछन् भनी विद्यार्थीहरूलाई बताउनु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका सचिव, सङ्घीय सांसद एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले एसईई परीक्षा नै हटाउने तयारी गरेको र नेपाल मजदुर किसान पार्टीले संसद्मा एसईई परीक्षा राष्ट्रिय स्तरमा नै लिनुपर्ने जोड दिएको बताउनुभयो ।
सरकार विद्यालय शिक्षा विधेयकमा एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्न तयार भएको छ । शिक्षक र विद्यार्थीलाई अध्ययनमा लगाव राख्न एसईई परीक्षालाई राष्ट्रिय स्तरमा व्यवस्था गर्नु उपयक्त हुनेछ, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नयाँ पुस्ताले बिहान उठ्नेबित्तिकै आफ्नो ओढ्ने–ओछ्याउने मिलाउने, घर सफाइ, कपडा धुन्ने, खाना पकाउने काममा समेत परिवारलाई सघाउनु आवश्यक छ । विद्यार्थीहरूले पाठ्यपुस्तकसँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा समेत अध्ययन गर्नु आवश्यक छ । संरा अमेरिका र इजरायलले संरा सङ्घको एउटा सदस्य र सार्वभौम देश इरानमा बमबारी गरेको ‘जङ्गलराज’ जस्तै हो । यसको सम्पूर्ण न्यायप्रेमी जनताले विरोध गर्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपति ट्रम्पले नोवेल शान्ति पुरस्कार दाबी गर्न भारत–पाकिस्तानबिचको युद्ध र इजरायल–इरानबिचको युद्धलाई रोकेको दाबी गर्दै छन् । भारतका प्रधानमन्त्री मोदीले भारत–पाकिस्तानबिचको युद्धविराममा अमेरिकी राष्ट्रपति मोदीको कुनै हात नभएको बताएका छन् । एक आक्रमणकारी ट्रम्पलाई नोवेल शान्ति पुरस्कार पाउने अधिकार कसरी होला ?”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले हरेक विद्यार्थीले उज्ज्वल भविष्यको लागि साधना गर्नु जरुरी रहेको र मेहनत गर्नेले मात्र सफलता हासिल गर्न सकिने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजुले समयअनुसार नयाँ प्रविधिसँगै मानविकी सङ्कायका अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल, इतिहास, भाषा, संस्कृति विषयमा पनि निपुण जनशक्ति देशलाई खाँचो परिसकेको विचार व्यक्त गर्दै अर्थशास्त्रको ज्ञान नभएका व्यक्ति अर्थमन्त्री, विश्व राजनीति नबुझेका व्यक्ति कूटनीतिज्ञ बनाइएको अवस्था छ त्यसैले विद्यार्थीहरूमा जहाँ गए पनि, जे पढे पनि देशमा फर्कने, देशको लागि काम गर्ने उद्देश्य लिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभाग प्रमुख ईश्वरी डंगोलले उच्च शिक्षा अध्ययनबारे परामर्श गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य वदनकेशरी प्रजापतिले स्वागत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरू उर्जला सुवाल, निर्मल नेपाल, दीपशिखा गिरीले विद्यालय अध्ययन गर्दाको संस्मरण सुनाउनुभयो ।
कार्यक्रममा शिक्षिका अनिता न्हुछेले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँलगायतले विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।