रुषा थापा
अहिले बजारमा प्रायजसो मानिसहरु भन्छन्, ‘इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको धेरै जिल्लामा घरजग्गा छ । सुन पनि त्यत्तिकै जोडेका छन् । उनले अंकुत सम्पत्ति कमाएका छन् । आफन्तको नाममा समेत घरजग्गा, पैसा राखेका छन् ।’ कँडेलसँग कति सम्पत्ति छ ?
उनले आफन्तको नाममा सम्पत्ति राखेका छन् कि छैनन् ? अब अख्तियार र सम्पत्ति शुद्धिकरण विभागले छानबिन गर्नुपर्छ । किनकि यो थाहा पाउनुपर्ने अधिकार आम नागरिकको हो ।
कँडेल नेपाली सेनाका पूर्वकर्मचारी हो । अवकाश पाएपछि उनले इन्द्रेणी चलाए । जहाँबाट दुःखी, गरिबलाई सहयोग गर्ने भन्दै कँडेलले पैसा उठाउँदै आएका छन् । बच्चाहरुले खाजा नखाई र बुढाबुढीहरुले भत्तासमेत इन्द्रेणीलाई दिएका छन् ।
विदेश र स्वदेशमै रगत पसिना बगाएर कमाएकाहरुले पनि आफू नखाईनखाई समेत इन्द्रेणीलाई सहयोग गरेका छन् । एउटै व्यक्तिदेखि एक हजारदेखि लाखौं रकमसम्म इन्द्रेणीलाई दिएका छन् । दुःखी, पीडितलाई सहयोग होस् भनेर उनीहरुले आफ्नो पेट काढेर पैसा दिएका हुन् ।
यद्यपि, उनीहरुको सहयोग सदुरुपयोग भएको छ कि दुरुपयोग ? यसबारे सबै अन्जान छन् । इन्द्रेणी सञ्चालनमा आएयता कति रकम उठाइयो ? कति व्यक्ति वा संघसंस्थाबाट रकम उठाइयो ? त्यो रकम कसलाई दिइयो ? किन दिइयो ? र, राज्यलाई कति कर तिर्यो ? सरकारले अब यसबारे छानबिन गर्नुपर्छ ।
दुःखमा परेका व्यक्तिहरुलाई सहयोग गर्नु मानवता हो । विडम्बना, पछिल्लो समय नेपालमा दुःखी, गरिबको नाम बेचेर कमाउधन्दा चलेको छ । नक्कली पीडित खडा गरेर सहयोग उठाउने अनि मोजमस्ती गर्ने गरिएको छ । उता, दुःखीलाई सहयोग गर्न आफ्नो पेट भोको राखेर मानिसहरु सहयोग गर्छन् ।
अनि त्यो पैसामा समाज सेवाको खोल ओढेकाहरुले रमाइलो गरिरहेका छन् । कँडेल साँच्चिकै समाजसेवी हुन् कि भ्रष्टाचारी हुन् ? उनको पुख्र्यौली सम्पत्ति कति थियो र अहिले कति छ ? सेनामा जागिर खाएर उनले कति कमाए ? जसमध्ये कति जोगाए र कति घरखर्चमा सिध्याए ? सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।
छानबिनबाट उनी निर्दोष देखिएमा उनीप्रति जनताको विश्वास र सहयोग झनै बढ्ने छ । राज्यले समेत उनलाई सम्मान गर्नुपर्छ । मानिसहरुले थप सहयोग गर्नुपर्छ । तर, गरिब, दुःखीको नाम बेचेर व्यक्तिगत सम्पत्ति जोडेका रहेछन् भने उनीमाथि कडाभन्दा कडा कानूनी कारबाही गर्नुपर्छ । किनकि गरिबको नाम बेचेर पैसा कमाउने अधिकार कसैलाई छैन । सेवाको नाममा जनताबाट पैसा उठाएर भ्रष्टाचार गर्नेहरु थुप्रै छन् ।
जसको ज्वलन्त उदाहरण हुन्, धुमुर्स–सुन्तली । महाभूकम्पको बेला पीडितलाई घर बनाइदिएर उनीहरु चर्चामा आए । त्यसपछि उनीहरुले चितवनमा क्रिकेट रंगशाला बनाउन भन्दै जनताबाट करोडौं रकम उठाए । तर, रंगशाला बनेन । अलपत्र पारे छोडिदिए ।
अहिले सरकारले आफ्नै लगानीमा सो रंगशाला बनाइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले जेलमा छन् । उनी पनि सेवाकै खोल ओढेर राजनीतिमा आएका थिए । चुनावका बेला पुराना दल र नेतामाथि उनले हिलो छ्याप्नु छ्यापे ।
अन्त्यमा लामिछाने पनि उही ठग भएको पाइयो । उनले सहकारीमार्फत जनताको करोडौं रकम ठगेको भेटिएको छ । जसको परिमाणस्वरुप जेल जीवन बिताइरहेका छन् । समाज सेवाकै खोल ओढेर नायिका स्वेता खड्काले माझी बस्ती नै बेचिदिइन् ।
चर्चामा आउन बैंकबाट ऋण लिईलिई माझीहरुका लागि घर बनाइदिइन् । अहिले ऋण नतिरेपछि बस्ती नै बैंकले लिलाम गर्ने भएको छ । यसरी धुमुर्स–सुन्तली, रवि, स्वेताजस्ता कुनै बेला समाजसेवकको रुपमा निकै चर्चित व्यक्तिहरु त भ्रष्टाचारी भेटिएपनि कँडेल कसरी चोखो हुनसक्छन् ?
त्यसकारण उनीमाथि छानबिन हुन आवश्यक छ । यो देशभरका जनताको माग हो । किनकि आफूहरुले गरेको सहयोग सही ठाउँमा गयो कि गलत ठाउँमा ? यसबारे थाहा पाउनुपर्ने अधिकार हरेक नागरिकमा छ । यहाँ कोही समाजसेवाको नाममा लुटिरहेका छन् त कोही राजनीति गर्ने नाममा ।
अहिलेका नेताहरुको सम्पत्ति खर्बौ छ । हिजो खाली खुट्टा र च्यातिएको कपडाबाट राजनीतिमा लागेका केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपालको हाल महलजस्तो घर छ । देशभर जग्गा छ । चिल्लो गाडीमा हिँड्छन् । कपडा, जुत्ता फेसन फेरी फेरी लगाउँछन् ।
हातमा घडी मात्र लाखदेखि करोडौंको बाँध्छन् । पानी मात्र दिनमै लाखौं पर्ने पिउँछन् । अनि यत्रो सम्पत्ति यिनीहरुले कसरी जोडे त ? यो भ्रष्टाचार होइन र ? कि के हो ? कोही नेताले निस्वार्थ रुपमा राजनीतिमा लागेर आफ्नो जीवन नै सिध्याए ।
कतिपयलाई चाँहि जति लुटेपनि पुगेको छैन । नेपालमा यस्ता नेताहरु पनि थिए, जसले आफ्नो जीवन राजनीति गर्दागर्दै सिध्याए तर एक रुपैयाँसमेत व्यक्तिगत सम्पत्ति जोडेनन् । स्वर्गीय कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, सुशील कोइरालाजस्ता नेतालाई आज पनि जनता सम्झिन्छन् ।
भन्छन्, ‘नेता भनेको त त्यस्तो हुन्छ । जसले देश र जनताको हितका लागि काम गर्छ । व्यक्तिगत सम्पत्ति जोड्दैँन ।’ दुर्भाग्य, पछिल्लो समय त राजनीति पनि लुटधन्दा बन्यो । अचेल राजनीतिमा सेवा गर्न होइन, कमाउन लागिन्छ । नेताहरुले त देश र जनता ठगेर कमाए, हामीले किन कमाउन नमिल्ने भन्दै पछिल्लो समय नक्कली समाजसेवीको बिगबिगी छ ।
तीनैमध्येका एक हुन्, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल पनि । देशमा गरिबी छ भने त्यसको अन्त्य गर्ने काम सरकारको हो । तर, कँडेलजस्ता व्यक्तिहरुले दुई–चार जना गरिबलाई टिभीमा ल्याएर दिनमै लाखौं रकम जनताबाट उठाइरहेका छन् । तर, सहयोग चाँहि पाँच हजार रुपैयाँ गर्छन् । जनता पनि त्यस्तै भए । घरमा आएका माग्नेलाई पाँच रुपैयाँ दिँदैनन् । तर, टिभीमा देखिनका लागि चाँहि लाखौं रकम दिन्छन् ।
फेरि त्यो रकम सही ठाउँमा लगानी भयो नि भएन ? जनता खोजतलास गदैैनन् । टिभीमा आएपछि उनीहरुलाई पुग्छ । अब सरकारले कँडेलजस्ता व्यक्तिहरुमाथि छानबिन गर्नैपर्छ । उनीहरुलाई सहयोग गर्नेहरुले पनि यसबारे आवाज उठाउनुपर्छ । समाज ठगहरुको दलदलमा छ । सहकारीदेखि मीनपावर व्यवसायी, घरजग्गा दलालीसम्मले सेवाकै नाम दिएर जनता ठगे । ठगहरुले नयाँ नयाँ पोलिसी ल्याएर जनता ठगिरहेका छन् ।
जनता र सरकार भने यसबारे बेखबर छन् । अब सरकारले जनताको नाम बेचेर जनतालाई नै ठग्नेहरुमाथि कडा कानूनी कारबाही गर्नुपर्छ । समाजसेवाको खोल ओढेर जनता लुट्ने जोकोही भएपनि कारबाही गरिनुपर्छ । सरकारले कडा कदम चालेमा सेवा गर्ने नाममा जनता ठग्ने, लुट्ने नाम बन्द हुनेछ ।