केही साताअघि भारतमा भयानक विमान दुर्घटना भयो । एअर इण्डियाको जहाज उडेको दुई मीनेटमै एक भवनमा ठोक्कियो । सो भवनमा चिकित्सा अध्ययन गरिरहेका धेरै विद्यार्थीको मृत्यु भयो । भुईँमा हिँडिरहेकाहरु पनि बिते । प्लेनमा सवाररत २४२ मध्ये एक जना बाँचे । भारतमा भएको यो डरलाग्दो दुर्घटनाले नेपालीलाई त्रसित बनाएको छ ।
नेपालमा एकपछि अर्को विमानस्थल बनाउने क्रम जारी छ । अन्तर्राष्ट्रिय विमानस्थल नै ठाउँ–ठाउँमा बनिसकेको छ । तर, जति पनि विमानस्थल छन्, ती सबै अव्यवस्थित छन् । विमानस्थल छेउछाउ घना बस्ती छ । जसका कारण विमान दुर्घटना भएमा ठूलो क्षति हुने पक्कापक्की छ ।
भारतको घटनापछि विमानस्थल वरपर बस्ने घरधनी र डेरावाललाई ‘रातमा निद्रा न दिनमा भोक’ भएको छ । कतै विमान आफ्नो घरमा ठोक्किने त होइन ? भनेर डराईडराई बस्नुपर्ने बाध्यता छ । डेरावाल त सरेर जतापनि जान सक्छन्, घरधनीको बेहाल छ । छोडौं भने जिन्दगीभरको कमाइ त्यसमा लगाएको छ बसूँ भने ज्यान नै खतरामा छ ।
एअरपोर्ट वरपरको घर पहिलेपहिले तुरुन्त भाडामा जान्थ्यो । त्यता कोठा पाउन महामुश्किल थियो । तर, अहिले त्यहाँ टन्नै कोठा र सटर खाली देखिन्छ । मूलपानी, गोठाटार, काँडाघारी, पेप्सिकोला, नरेफाँट, जडीबुटी, लोकन्थली, टीकाथली, कोटेश्वर, तीनकुने, गैरीगाऊँ, शान्तिनगर, सिनामंगल, गौरीघाट, बौद्ध, जोरपाटी, नयाँबस्ती, दक्षिणढोकामा प्रशस्तै खाली कोठा र फ्ल्याट देख्न सकिन्छ ।
यो ठाउँको अधिकांश जग्गा पशुपति गुठीको हो भनिन्छ । अर्कोतर्फ ऐलानी र सरकारी जग्गा पनि यहाँ प्रशस्तै छ । यहाँका घरधनीहरु यतिबेला घरजग्गा बेच्ने प्रयास गरिरहेका छन् । तर, किन्ने मान्छे कोही छैन । किन कि सबैलाई एअरपोर्ट वरपर बस्नु जोखिम हो भन्ने थाहा भइसकेको छ ।
यो ठाउँमा विमानको मात्र होइन, इन्धनको पनि जोखिम छ । पेट्रोल, डिजेल, मट्टितेल, हवाईजहाजमा लाग्ने तेल र ग्याँसको डिपो यहीँ छ । उता थानकोटमा पनि डिपो सञ्चालनमा छ । सरकारले जोखिमपूर्ण ठाउँमा बस्ती बसाउन दियो । धेरै मुलुकमा एअरपोर्टको कैयौं टाढासम्म बस्ती बसाउन दिइँदैन ।
खाली ठाउँ राखिएको हुन्छ । विमान दुर्घटना भएपनि बस्तीमा नपरोस् र धेरै क्षति हुन नपाओस् भनेर त्यसो गरिएको हो । तर, हामीकहाँ त एअरपोर्ट छेउछाउ पुरै घरैघर छ । प्लेन ल्याण्डडिङ हुने बेला घरमा ठोक्किने होकि भन्ने डर यात्रुलाई हुन्छ । भारतको जस्तै एउटा घटना नेपालमा भइसकेको छ ।
तर, पाइलटले होसियारी अप्नाउँदा त्यतिबेला बस्ती जोगियो । २०६९ असोज १२ गते सीता एअरको ६०१ उडान नम्बर भएको एउटा विमान काठमाडौंबाट सोलुखुम्बुको तेन्जिङ–हिलारी विमानस्थल, लुक्लाका लागि उड्यो । तर, उडेको केही बेरमै सो विमान मनोहरा फाँटमा दुर्घटना भयो ।
विमानमा पाइलटसहित १९ जनाको मृत्यु भएको थियो । २०७४ फागुन २८ गते बंगलादेशबाट आएको युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भयो । एमबीबीएस पढ्न गएका विद्यार्थीसहित झण्डै पाँच दर्जनको सो विमान दुर्घटनामा ज्यान गयो ।
तिनका परिवार अझैपनि क्षतिपूर्तिका लागि कानुनी लडाइँ लडिरहेका छन् । २०८१ साउन ९ गते काठमाडौंबाट पोखरा उडेको सौर्य एअरको जहाज विमानस्थलभित्रै दुर्घटना पर्यो । १९ जना सवाररत विमानमा १८ जनाको निधन भएको थियो । धन्न त्यतिबेला पनि सो विमान बस्तीमा पर्नबाट जोगियो ।
यस्तो जोखिम हुँदाहुँदै सरकारले ख्यालख्याल गरिरहेको छ । यतिबेला यी ठाउँमा घर भएकाहरुलाई तिनका आफन्तले अन्त सर्न सुझाव दिइरहेका छन् । यो ठाउँको घरजग्गा राखेर अहिले बैंकले पनि ऋण दिँदैन । यो ठाउँ जोखिमपूर्ण छ, जतिबेला जे पनि हुनसक्छ भनेर बैंक सचेत भएको छ ।
सरकारले अब कि यहाँबाट बस्ती हटाउनुपर्छ कि विमानस्थल र डिपो अन्त सार्नुपर्छ । जानाजान जोखिमपूर्ण स्थानमा जनतालाई बस्न दिएर उनीहरुको ज्यान धरापमा पार्न पाइन्छ ? प्लेन चौबिसै घण्टा उड्ने र अवतरण भइराख्छ । यहाँका बसोबासीहरु न दिँउसो सुत्छन् न राति ।
विमानको आवाजका कारण त्यहाँका स्थानीय लामो समयदेखि चेनको निद्रा सुत्न पाएका छैनन् । चार दशकअगाडि यो ठाउँ पुरै खाली थियो । यहाँ खेतापाती हुन्थ्यो । जनसंख्या थोरै भएकाले सानो विमानस्थल बनाइयो । अहिले जनसंख्या बढ्यो, एअरपोर्ट वरपर घरैघर बन्यो । सरकारले एअरपोर्ट वरपर घर बनाउन नपाउने भनेर कानुन बनाउन सकेन ।
भूमाफियाले धमाधम त्यहाँको जग्गा प्लानिङ गर्दै बेचे । त्यहाँ घनाबस्ती बस्यो, सरकार हेरेको हेर्यैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कि अब यहाँको एअरपोर्ट सार्ने कि बस्ती हटाउने भन्ने प्रस्ताव अब मन्त्रीपरिषद्मा लैजानुपर्छ । यो प्रस्ताव लैजान हतारो भइसकेको छ ।
नत्र पछ्ताउनुबाहेक अरु केही पनि बाँकी रहँदैन । भनिन्छ नि,‘दुर्घटना बाजा बजाएर आउँदैन ।’ दुर्घटना जतिबेला पनि हुनसक्छ । सरकारले दुर्घटनालाई मध्यनजर गरेर साबधानी अप्नाउने हो । जनतालाई सुरक्षित बनाउने हो । नाकि कतिबेला दुर्घटना हुन्छ र हामी लाश गन्छौं भनेर हात बाँधेर बस्ने हो ।
एअरपोर्ट वरपर एकदमै जोखिम भइसकेको छ । सरकार अझैपनि टुलुटुलु रमिता हेरेर बसेको छ । भोलि भारतको जस्तै घटना यहाँ भयो भने कसले जिम्मा लिन्छ ? सरकारले क्षतिलाई कम गराउने कि बढाउने ? जनधनको सुरक्षा गर्नु सरकारको जिम्मेवारी हो । सरकारले आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैन ।
जनता मरेपछि दुःख व्यक्त गर्नुको साटो जनतालाई जोगाउनतिर लाग्न आवश्यक छ । त्योसँगै जनता पनि सचेत हुनुपर्छ । यस्तो जोखिमपूर्ण ठाउँमा बस्ने काम गर्नुहुन्न । किन कि जिन्दगी अमूल्य छ । ज्यान छ त सबै कुरा छ । ज्यान भए फेरिपनि कमाइन्छ । त्यसैले ज्यानै जोखिममा पारेर त्यस्तो ठाउँमा नबसौं ।
भारतमा उडेको प्लेन घरभित्र पसेको छ । यहाँ पनि त्यो घटना नहोला भन्न सकिन्न । त्यसैले आफूपनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कुनै समय यस्तो थियो कि यहाँको जग्गा आनाकै करोडसम्म थियो । तर, यो ठाउँ जोखिमपूर्ण छ भन्ने थाहा पाएपछि रेट ओर्लिएको छ ।
यी ठाउँका घरजग्गालाई दिएको कर्जा उठाउन बैंकलाई पनि समस्या हुने देखिएको छ । सरकारले यो ठाउँको बस्ती हटाउन ढिलाइ गर्नुहुँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणको पनि यसतर्फ ध्यान जाओस् । अहिले प्राधिकरण विमानस्थल बनाउने होडमा छ । विमानस्थल ठड्याउनेतर्फ मात्र प्राधिकरणको ध्यान छ ।
तर, विमानस्थल होइन, सुरक्षित र व्यवस्थित विमानस्थल बनाऔं । विमानस्थलको वरपर यति ठाउँसम्म बस्ती बसाउन नपाउने भन्ने नीतिको खाँचो परिसकेको छ । त्यसैले पहिले नीति बनाऔं अनि विमानस्थल । सरकारले देशभर विमानस्थल विस्तार गरिरहेको छ । मुलुकभित्रै सञ्चालन हुने विमानको संख्या बढिरहेको छ ।
अर्कोतिर, सरकारले अन्य मुलुकको विमान कम्पनीसँग सम्झौता गरिरहेको छ । त्यहाँको विमान पनि यहीँ आउँछ । विमानको संख्या थपिएको छ, तर एअरपोर्टको जग्गा त बढेको छैन । बरु भएको पनि सर्वसाधारणले कब्जा गरेका छन् । यसमा सरकारको ध्यान जाँदैन भने महानगरको जानुपर्छ ।
किन कि जनताको ज्यान जोगाउने काम तीनै तहको सरकारको हो । एउटाले गरेन भनेर अर्को रमिता हेरेर बस्न मिल्दैन । अब जनता सचेत होऔं । सम्पत्तिभन्दा ज्यान ठूलो हो भन्ने कुरा बुझौं ।
भक्तपुर