१८ बैशाख, कञ्चन
रुपपन्देहीको सैनामैनामा नीजिस्तरमा पहिलो पटक देशकै एकमात्र आर्ट ग्यालरी सञ्चालनमा ल्याइएको छ। सुमित्रा थ्री एल आर्ट ग्यालरी नाम दिइएको उक्त ग्यालरीको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले शुभारम्भ गर्नु भयो।
ग्यालरी शुभारम्भकै सन्दर्भमा चित्रकला कार्यशाला समेत आयोजना गरिएको थियो। उक्त कार्यशालाको शुभारम्भ प्राज्ञ बुँद रानाले गर्नुभयो। चित्रकला कार्यशालामा प्राज्ञ यम बहादुर थापा, बेनप्रसाद थापा, प्रितम थापा, एच.वि रम्तेल, हरि बयम्बु, प्राज्ञ गोविन्द चौधरी, अजय नेपाली, नितिन न्यौपाने, घनश्याम थापा, राजु खडका, विष्णुप्रसाद न्यौपाने, खेम घिमिरे, राजकुमार लिगल, डोल बहादुर आले, शान्त राहादी, मन गोल्डी,दिलिप रसाइली, गंगाधर आचार्य, नर बहादुर बि.क. राम औतार थारु लगायत कलाकारहरुले क्यानभासमा चित्र कोरेका थिए।

ग्यालरीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लराज अर्यालले कलाकारले कोरेको चित्र जति आनन्द र आकर्षक देखिन्छ त्यति नै कलाकारहरुबाटै चित्रको भित्री विम्ब र आशय बुझ्दा चित्रको उत्तिकै महत्व र गरिमा बढ्ने बिचार व्यक्त गर्नुभयो। डा. अर्यालले कलालाई व्यबसायिक प्रबर्द्धन गर्न आगामी बर्षदेखि बजेट सहित लुम्बिनी प्रदेशको बार्षिक नीति, कार्यक्रम तथा योजनामा समाबेस गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका जनसम्पर्क सल्लाहकार डा. राम बहादुर राउतले कलाकारलाई चिन्न र बुझ्न कलाकारहरुले कोरेका र निर्माण गरेका कलालाई बुझ्नु पर्ने बताउनु भयो। कलालाई थोरैले मात्र चिन्ने उल्लेख गर्दै डा. राउतले कलाकारहरुको सम्मानका लागि कलाकार सुमित्रा रानाले सञ्चालन गर्नु भएको आर्ट ग्यालरी नयाँ आयाम थप्ने बताउनु भयो।
यस्तै चित्रकला कार्यशालाको शुभारम्भ गर्दै प्राज्ञ बुँद रानाले कलाकार र कलाको सम्मान र उनिहरुको व्यबसायिक प्रबर्द्धनमा स्थानीय र प्रदेश सरकारको महत्वपुर्ण भूमिका र जिम्मेवारी हुने बिचार व्यक्त गर्नुभयो। संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको व्यबस्था भएपनि सरकारले कला र संस्कृतिको संरक्षणमा बजेटको प्राथमिकतामा नपारेको प्रति प्राज्ञ रानाले दुखेसो व्यक्त गर्नुभयो ।

कार्यशालामा लुम्बिनी प्रदेश शिक्षा विज्ञ दल बहादुर गुरुङ्गले कलाकारहरुको कलालाई व्यबसायिक र उद्यमशिलतासंग जोड्न कलाकार सुमित्रा रानाले सञ्चालन गरेको सुमित्रा थ्री एल आर्ट ग्यालरी उदाहरणीय आधार स्तम्भ बन्ने बताउनुभयो।
कार्यक्रममा नेपाल कमर्शियल आर्टिस्ट संघका पूर्वअध्यक्ष तथा कलाकार एच.बि. रम्तेलले ललितकलासंग सम्बन्धित सबै कलाकारहरुको पेसा धरापमा पर्दै गइरहेको र स्थानीय तथा प्रदेश र संघीय सरकारले कलाकारहरुलाई व्यबसायिककतामा जोड्न नीति तथा कार्यक्रममा समेट्नु पर्ने आग्रह गर्नुभएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा विज्ञ दल बहादुर गुरुङ्ग, प्राज्ञ बुंद राना, कवि छवि ज्ञवाली, पुरुषोत्तम पाण्डे, सागर के.सी. दुर्गा थापा मगर, यज्ञलाल सुवेदी, कृष्ण गाउँले जगीलाल थापा जेल संघर्ष, सरला गाहा मगर लगायतले गीत, कविता, गजल तथा कथा प्रस्तुत गरेका थिए।

सुमित्रा थ्री एल आर्ट ग्यालरी शुभारम्भको अवसरमा सहभागी कलाकार, साहित्यकार, शुभेच्छुक, कलाप्रेमी, र सैनामैनावासीहरुमा धन्यवाद दिदै कलाकारहरुलाई व्यबसायिक उद्यमशिलतामा जोड्न र लुम्बिनी प्रदेशलाई कलाको पर्यटन प्रबर्द्धन गर्न सुमित्रा थ्री एल आर्ट ग्यालरी स्थापना गरिएको सञ्चालक सुमित्रा राना सुत्पराईले बताउनु भयो। ग्यालरीमा चित्रहरुको अवलोकन तथा आफुलाई मनपरेको चिकलला पनि बिशेष छुटमा किन्न समेत पाइने व्यबस्था सहित गयलरी सञ्चालनमा ल्याइएको सञ्चालक सुमित्रा रानाले बताउनु भयो।
