१७ बैशाख, कञ्चन
रुपन्देहीको कञ्चनमा महिलाहरुमा हुने रजनोवृत्ति सम्बन्धी दुईदिने सचेतनामुलक कार्यक्रम शुरु भएको छ। कार्यक्रममा महिलाहरुको महिनावारी सुरु हुनुजस्तै रोकिनु वा महिनावारी सुक्नु र यसले शारीरिक, मानसिक तथा स्वास्थ्यमा पार्ने असर र प्रभावबारे जानकारी दिइएको छ।
कञ्चन गाउँपालिकाको आयोजना तथा सिर्जनशिल संस्था रुपन्देही नेपालको प्राविधिक सहयोगमा शुरु भएको कार्यक्रममा सहभागी महिलाहरुलाई रजनोवृत्ति हुनु अर्थात महिनावारी रोकिनु आममहिलाको एउटा सामान्य शारीरिक प्रक्रिया भएको र हाम्रो मुलुकका ४५ देखि ५२ वर्ष उमेरको बीचदेखि अधिकांश महिलाहरुको महिनावारी बन्द हुने जसले गर्दा महिलाहरुको सबै प्रकारका प्रजनन क्रियाशीलता अवरुद्ध हुनु अर्थात् गर्भधारण गर्ने सम्भावना सधैंका लागि समाप्त हुनेबारे जानककारी दिइएको थियो।

कञ्चनका ८० जना महिलाहरु सहभागी भएको उक्त कार्यक्रममा सिर्जनशिल संस्था रुपन्देहीका कार्यक्रम अधिकृत सोना न्यौपाने र कार्यक्रम प्रवन्धक सविना चालिसेले सहजिकरण गर्नु भएको छ। नेपाली महिलाहरूमा १०–१२ वर्षको उमेरदेखि सुरु भएको महिनावारी करिब ४५ देखि ५२ वर्ष पुग्न लाग्दा बन्द हुने भएपनि कहिलेकाही कतिपय महिलाहरुमा ५५–५६ वर्षसम्म पनि महिनावारी भइरहने प्रशिक्षक सहजकर्ता सोना न्ययौपानेले जानकारी दिनु भयो।
डिम्ब ग्रन्थीद्वारा रजश्वला गराउने हार्मोन एस्ट्रोजन र प्रोजेस्ट्रोन उत्पादन नहुनु नै महिनावारी रोकिनुको कारण रहेको र महिनावारी रोकिनु महिलाहरुको जीवनमा सामान्य प्रक्रिया हो।

कार्यक्रममा सहजकर्ता सविना चालिसेले महिनावारी एकैचोटि नसुक्ने र महिनावारी सुक्नुअघि यसको नियमितता बिस्तारै परिवर्तन हुने भएकोले मानसिक रुपमा चिन्ता लिन नहुने भन्दै महिनावारी सुक्नु पूर्व एक९दुई महिना रोकिँदै, फेरि हुँदै यो क्रम लम्बिँदै जाने बताउनु भयो । कार्यक्रममाअनियमित महिनावारी, आत्तिनु, डिप्रेसन, थकाइ, बढो ढुकढुकी, जोर्नीमा पीडा, बढी गर्मी अनुभव, बेचैनी, पिसाब फेर्न कठिनाइ, हाड खिइनु, योनि सुक्खा हुनु जस्ता रजनोवृत्तिका लक्षणहरुबारे जानकारी दिइएको छ।
कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षता तथा महिलाबिकास निरीक्षक राधा भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा महिला जनप्रतिनीधि, बिभिन्न आमा समूह तथा वडाका महिलाहरुको सहभागिता रहेको थियो। कार्यक्रमम दियो सभाहलमा आज पनि जारी रहने छ।