१५ बैशाख, काठमाडौँ
४४ औँ विश्व सम्पदा दिवस – २०२५ को अवसरमा भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिको आयोजनामा सांस्कृतिक नगर भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणमा ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको मार्गनिर्देशन र चुनौतीबारे छलफल कार्यक्रम शनिबार भयो ।
उक्त कार्यक्रममा पुस्तकका लेखक, वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ आफू जेलमा बस्दा जगदीश शमशेर राणाको ‘नाचगानको राजधानी भक्तपुर’ पुस्तक अध्ययन गरी पुस्तकको कमजोरी लेखेर पठाएको स्मरण गर्नुभयो ।
उहाँले देश कतातिर जाँदै छ भन्ने विषयमा चिन्तित भई ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेको जानकारी दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री हुँदा भक्तपुरका मठ मन्दिरहरू मर्मत तथा जीर्णाेद्धार गर्ने विषयमा कुरा गर्दा कुनै चासो नदिएकोले स्थानीय तहलाई नै संरक्षणको जिम्मा दिनुपर्नेमा जोड दिएको थिएँ ।”
सरकारले स्थानीय सम्पदाहरू मर्मत तथा पुनः निर्माणमा चासो नदिएको र आवश्यक बजेट व्यवस्था पनि नगरेकोले भक्तपुर नगरपालिकाले मर्मत तथा पुनःनिर्माण गर्न विदेशी पर्यटकहरूबाट सेवा शुल्क सङ्कलन गर्न सुरू गरेको प्रयासलाई तत्कालीन स्थानीय विकास मन्त्रीले निरूत्साहित गर्ने दुस्प्रयास गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकारले सम्पदाहरूको संरक्षणमा ध्यान नदिँदा सम्पदा क्षेत्रमा निर्धारित मापदण्डभन्दा बढी उचाइका घर बनाएर नियम उल्लङ्घन भइरहेको छ । मन्त्रीहरूमा स्थानीय सम्पदा र त्यसको महत्वबारे ज्ञान नहुँदा नियम पालना गराउन सकिरहेको छैन† मन्त्री र कार्यालय प्रमुखहरूले स्थानीय सम्पदाको ज्ञान राख्नु जरूरी छ ।”
स्थानीय अग्रजहरूको ज्ञान तथा सीपलाई उपेक्षा गरेको कारण ‘जर्मन प्रोजेक्ट’ को ढल निकासको उपचार पोखरी योजना भक्तपुरमा असफल भएको र यसैको परिणाम भक्तपुरको खोला दूषित भएको उहाँले बताउनुभयो ।
सिंहदरबारमा पुग्नेहरू दूरदर्शी नभएकैले देश र जनताको स्थिति दुःखद हुन पुगेको अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “विश्वमा समाजवादी देशहरू पँुजीवादी देशभन्दा सम्पदा निर्माण र संरक्षणमा छिटो विकास गर्न सक्षम रहेको इतिहासले प्रस्ट गरेको छ । पुँजीवादी देशहरूले २–३ सय वर्ष लगाएर गरेको विकास सोभियत रूसले ३०–४० वर्षमा गरेर देखायो । संसारमा जति पनि उत्पादन भइरहेको छ त्यसको ४३ प्रतिशत चीन एक्लैले उत्पादन गरिरहेको छ ।”
हाम्रो देशको जलविद्युत् देशकै निम्ति उत्पादन गर्नुपर्ने र सबै जनतालाई कम शुल्क विद्युत् वितरण गरी पेट्रोलियम पदार्थको आयातलाई विस्थापित गर्नुपर्नेमा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिज्ञहरू कल्पनाशील भएमा र उनीहरूले दूरगामी दृष्टि राखेर काम गरेको खण्डमा देश विकास हुन समय नलाग्ने प्रमाण संसारको सबभन्दा ठुलो देश सोभियत सङ्घले पुष्टि गरेको चर्चा गर्दै युरोपकै सबभन्दा पछाडि परेको सोभियत सङ्घमा सन् १९१७ को समाजवादी क्रान्तिपछि लेनिनको नेतृत्वमा योजनाबद्ध विकासका कामहरू भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘सय वर्षपछिको भक्तपुर’को चर्चा गर्दा हामीले ५० वर्ष पहिलेको नेपाल, ५० वर्षपछिको नेपाल र सय वर्षपछिको भक्तपुर देख्न सक्छौँ । ५० वर्ष पहिलेको नेपालको अवस्था पुस्तक लेख्दाखेरिको नेपालको स्थिति र ५० वर्षपछिको नेपालको सम्भावित विकासको खाका पुस्तकमा प्रस्ट देख्न सक्छौँ । ५० वर्ष पहिले भक्तपुरका सडकमा कुनै ढलको व्यवस्था थिएन । पानी पर्नासाथ सडकबाट पानी बग्थ्यो । केटाकेटी त्यही पानीमा रमाउने गर्थे । २०५९ सालमा पुस्तकमा लेख्नुभएको समयलाई विचार गर्दा त्यो २००९/१० सालतिरको नेपालको अवस्था थियो ।”
नेताहरू राम्रा भए र शासक दलका नेताहरूमा दूरदृष्टि भए विकास गर्न समय नलाग्ने कुरा लेखकले किताबमा स्पष्ट गरेको प्रमुख प्रजापतिले बताउनुभयो ।
प्रमुख प्रजापतिले ‘५० वर्षपछिको नेपाल’ शीर्षक लेखमा एक इमानदार कर्मचारी र भ्रष्ट व्यक्तिबिचको तुलना गरिएको र भ्रष्ट मान्छेका छोराछोरीहरू कतिले आत्महत्या गर्ने, घृणित जीवन बिताउने र विदेश पलायन हुने र इमानदार व्यक्तिको जीवन गौरवपूर्ण हुने उल्लेख गरिएको बताउनुभयो ।
सय वर्षपछिको पुस्तकले आशालाग्दो तस्बिर देखाएको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “ लेखक बिजुक्छेँले पुस्तकमा निराशा होइन आशाका थुप्रै ठाउँहरू देखाउनुभएको छ ।”
‘सय वर्षपछिको भक्तपुर’ को अध्ययनले हामी सबैलाई भक्तपुरको पुनः निर्माणको लागि घच्घच्याएको छ । त्यसैलाई मार्गदर्शक मानी भनपाले काम गर्दै आएको छ । २०७२ सालको भूकम्पले १३० भन्दा बढी क्षति भए पनि त्यो पुनः निर्माणको एउटा अवसर हो । विभिन्न सम्पदाहरू गरी हालसम्म १९० वटा सम्पदाहरू पुनः निर्माण सम्पन्न गरेका छौँ भने १५ भन्दा बढी निर्माणाधीन छन्, उहाँले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, विकास निर्माण, सीपमूलक तालिम आदि दिएर भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल बनाउने कार्यलाई सार्थक बनाउन भक्तपुर नगरपालिका लागिपरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्राचीन शैलीमा घर बनाउनेलाई अनुदान, डकर्मी–सिकर्मी तालिम दिएर हरेक युवालाई सीपयुक्त बनाउने प्रयास जारी छ ।”
सय वर्षपछिको भक्तपुरको मात्र होइन ५० वर्षपछिको नेपालको सम्भावनाका पक्ष पनि पुस्तकमा उल्लेख गरेको बताउँदै प्रमुख प्रजापतिले पुस्तकका लेखक एवं पार्टी अध्यक्ष रोहित नेपालको स्वप्नद्रष्टाको रूपमा पनि रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको मार्गनिर्देशनबमोजिम सम्पदा संरक्षण गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरको संरचना दुई खोलाको बिचमा अवस्थित भएकोले यी दुई खोला यहाँको सभ्यता विकाससँग जोडिएकोले यी खोलाहरूको धार्मिकमात्र नभई प्राकृतिक रूपले पनि महत्व बोकेको छ भन्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र जतीले भक्तपुरका स्थानीय उत्पादन र यसको जगेर्ना तथा भक्तपुरको मौलिक उत्पादन घरेलु उद्योगबाट रोजगारीमूलक र आर्थिक विकासमा सहयोग हुने बताउनुभयो ।
भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक एवं कार्यक्रमका सहजकर्ता गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षणार्थ विभिन्न समयमा गर्दै आइरहेको कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक वर्ष विश्व सम्पदा दिवसको अवसरमा ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको सम्पदा संरक्षणमा मार्गनिर्देशन भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष प्रेम खर्बुजा, इतिहासविद् विश्वमोहन जोशी, राष्ट्रिय कला सङ्ग्रहालयका अधिकृत यमुना महर्जन, पुरातत्व विभागका अधिकृत रज्जु हाडा, विद्यावारिधि गरिरहनुभएका राजन फेलु, पर्यटन व्यवसायी विनोदचरण राय, इलेक्ट्रिकल इन्जिनियर सुमित बाला, पर्यटन व्यवसायी अजय प्रधानाङ्ग, त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शनका प्राध्यापक डा. पुष्परत्न शाक्य, शिक्षक राजेन्द्रबहादुर कायष्ठले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणको विषयमा विभिन्न सुझाव दिनुभएको थियो ।