४ वैशाख, जुम्ला
नेपाल मजदुर किसान पार्टी, सिँजा गाउँपालिकाको आयोजनामा मङ्गलबार कार्यकर्ता प्रशिक्षण दुई चरणमा सम्पन्न भयो । पहिलो चरणको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले अनलाइनमार्फत सिँजामा कार्यकर्तालाई समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभयो, “सरकारमा गएका काङ्ग्रेस, एमालेलगायतका शासक पार्टीहरूले इमानदारीपूर्वक देश र जनताको सेवा गरिदिएका भए नेपाली जनतालाई दुःख हुने थिएन । उनीहरूले नेपाली युवालाई विदेशीको ज्यामी बनाउने काममात्र गरे । राणाहरूले बेलायतसँग पैसा लिएर गल्लावालहरूमार्फत नेपाली युवालाई गोर्खा सेना भन्दै ‘भाडाको सिपाहीँ’ बनाए । अहिले पनि नेपाली युवा विदेशी सेनामा छन् ।”
“नेपाली काङ्ग्रेसले बीपी कोइरालाको सिद्धान्त भन्दै ‘प्रजातान्त्रिक समाजवाद’ को प्रचार गरे तर त्यसको विपरीत मित्र देशहरूले दिएका कलकारखानाहरू कौडीको मोलमा बेचे । कलकारखानाका पार्टपुर्जा इन्डिया पु¥याएजस्तै शासक दलहरूले नेपालको नदीनाला पनि इन्डियालाई बेचे । ‘जसको सिता खायो उसकै गीता गायो’ भनेजस्तै नेपालका शासकहरूले विदेशीको पैसा खाएर विदेशीको स्वार्थको निम्ति काम गर्दै छन् । जनता सचेत हुनुपर्छ,” अध्यक्ष रोहितले भन्नुभयो ।
अध्यक्ष रोहितले नयाँ पुस्तालाई चिट चोर्न सिकाउन नहुने उल्लेख गर्दै परीक्षामा चोरी गराउने शिक्षकलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षकहरू जनताका सेवक बन्ने हो मालिक होइन । शिक्षकहरूले आफ्नो तलब र सुविधा बढाउनको लागि मात्र आन्दोलन गर्ने होइन । गुरुहरूले जनताका छोराछोरीलाई क्रान्तिकारी बनाउने हो । भियतनाम, रुस, क्युवा, कोरियाका क्रान्तिबारे विद्यार्थीहरूलाई सचेत पार्नु शिक्षकहरूको कर्तव्य हो । चीनमा ‘जसको हात पसिनाले भिजेको हुँदैन, जसको खुट्टामा हिलो हुँदैन, त्यो मान्छे गुरु हुँदैन’ भन्ने कथन थियो । हाम्रा शिक्षकहरूले पनि खेत–खेतमा र कारखानामा गएर विद्यार्थीहरूलाई सिकाउनु जरुरी छ ।”
अध्यक्ष रोहितले जनता सरकारको मात्र भर नपरी आफ्नै खुट्टामा उभिने प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “२०१९ सालतिर भक्तपुर नगरमा फोहोर धेरै थियो । यहाँका किसानहरूलाई साहुमहाजनले ज्यापु भनेर हेला गर्थे । तर, हाम्रा कार्यकर्ताहरूले गरिब किसानकै पक्षमा काम गरे; ढल बनाउने, बाटो सफा गर्ने र शिक्षा दिने काम गरे । गाउँ गाउँबाट जितेर आएका नेताहरूले पनि काठमाडौँमा घर बनाएर बस्नुको सट्टा आफ्नै क्षेत्रको विकास गर्नुपर्छ ।”
उहाँले पुँजीवादी सरकारमा गएका शासक पार्टीहरूले आफ्नो घोषणापत्रअनुसार काम नगरेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले संसद्मा गएर गलत काम गर्ने शासकहरूलाई उदाङ्ग्याउने काम गरेको बताउनुभयो । उहाँले पुँजीवादी सरकारको भागबन्डामा नलागी संसद्मा बसेर सरकारलाई खबरदारी गर्ने काम ‘क्रान्तिकारी संसद्वाद’ रहेको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “राजावादी र नयाँ भनिने शासक पार्टीहरू एउटै ड्याङका मुला हुन् । राजाका आउरेबाउरेहरूले विदेशीको पैसा खाएर उपद्रव गर्दै छन् । बेलायत र फ्रान्समा जनताको विरोधमा गएका राजालाई ज्यानसजाय दिइएको थियो । केटाकेटी बेलाको लुगा ठुलो हुँदा ठीक नभएजस्तो राजतन्त्र पनि ठीक हुँदैन ।”
अध्यक्ष रोहितले समाजवादको टोपी सबैले लगाएर आकार बिग्रेजस्तै जनतामा समाजवादबारे भ्रम सिर्जना भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाइने वैज्ञानिक समाजवाद चाहेको चर्चा गर्दै नेपालका माओवादी, एमालेलगायतका कम्युनिस्ट दाबी गर्ने शासक पार्टीहरू रातो झन्डा खसाल्न रातै झन्डा उठाएका नक्कली कम्युनिस्ट रहेको बताउनुभयो ।
सरकारले भक्तपुर नगरपालिकालाई विश्वविद्यालय दिए जनताका छोराछोरीले सस्तोमा चिकित्सा शिक्षा पढ्न पाउने उल्लेख गर्दै उहाँले निजी कलेजहरूबाट पैसा खाएका शासक पार्टीहरूले जनताका छोराछोरीलाई सस्तोमा गुणस्तरीय शिक्षा दिने ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “एमालेको तर्फबाट महिला राष्ट्रपति हुनुभएका विद्या भण्डारीलाई हामीले सुझाव दिएका थियौँ† हिमाल, पहाडतिर महिलाहरूलाई आङ खस्ने रोग लागेको छ । त्यसकारण, मित्र देशहरूले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न एक वर्ष महिलालाई पठाइदिउँ । अनि छोरी डाक्टरलाई गाउँगाउँमा पठाएर महिलाको उपचार गरौँ । तर, छात्रवृत्तिमा पढ्न धनी र मन्त्रीका छोराछोरीलाई पठाइयो ।”
अध्यक्ष बिजुक्छेँले बेथितिको अन्त्य पुँजीवादी व्यवस्थामा नहुने प्रस्ट पार्नुभयो ।
हिमा नदीको बगरमा सञ्चालित दोस्रो चरणको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश समितिका संयोजक सरोजराज गोसाईले पुँजीवादी व्यवस्थाले जुम्लाका गाउँगाउँमा चाउचाउ, बिस्कुटजस्ता पत्रु खानेकुरा पु¥याएको र मकै, गहुँ, कोदो, फापर आदिको रोटी विस्थापित भएको भनाइ राख्नुभयो । पुँजीवादी व्यवस्थाले गरिबलाई झन्झन् गरिब बनाएको भनाइ राख्दै सरकारले रैथाने कृषि उत्पादनको विकासमा खास सहयोग नगरेको विचार राख्नुभयो । उहाँले भगवान्ले संसार बनाएको भए पापी किन बनाए, राम्रोमात्र किन बनाएनन् भन्ने प्रश्न उठाएर भगवान्को अस्तित्वमाथि प्रश्न उठाइएको तर आज पनि नेपाली जनता भगवान् भरोसामा बाँच्नुपरेको उहाँको भनाइ थियो ।
कर्णाली प्रदेशमा २३ प्रतिशत महिलाको पाठेघर खस्ने रोग रहेको, ५२ प्रतिशत बालविवाह भएको, ५४ प्रतिशत बालबालिका ख्याउटे रहेको सरकारी तथ्याङ्क प्रस्तुत गर्दै केन्द्रीय सदस्य गोसाईले सरकारले कर्णालीको परिवर्तनमा कुनै ध्यान नदिएको तर्क गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खड्कराज शाहीले जुम्ला बनाउन जुम्लाकै जनता तयार हुनुपर्ने भन्दै अर्काको भरमा बस्ने विचार गलत हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरुङले कर्णालीमा चिट चोरेर पास गर्ने रोग अझै निको नभएको तर नेक्राविसङ्घले चिट चोर्ने कामलाई रोक्ने अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।
सिँजा गाउँपालिका अध्यक्ष लालभक्त सार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा, कर्णाली प्रदेश समिति सदस्य हस्त कुवँर, नेमकिपा जुम्लाका सदस्य लालबहादुर बुढा, सदस्य नरबहादुर बुढा, नेक्राविसङ्घका सुजि ह्योङ्गजूलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।