२३ माघ, कञ्चन
थकाली जातीको युवाहरुको दोश्रो राष्ट्रिय भेला तथा दोश्रो अधिबेशन बुटवलमा शुरु भएको छ। धर्म, संस्कृति हाम्रो परमपरा, संरक्षण सम्बर्द्धन युवाहारुको अभिभारा भन्ने नाराका साथ शुरु भएको असधबेशनमा बोल्ने वक्ताहरुले आफ्नो जातीको भाषा, धर्म, संस्कृति र परमपराको संरक्षणको अभिभाराको जिम्मेवारी युवाहरुको काँधमा रहेको बिचार व्यक्त गरेका छन।
अधिबेशनको शुभारम्भ गर्दै प्रतिनीधि सभाका सभासद योगेश गौचन थकालीले थकाली समुदाय सांस्कृति, सामाजिक, आर्थिक तथा भाषिक रुपमा उन्नत जाती भएको भएपनि जनसंख्या र शैक्षिक तथा राजनैतिक रुपमा निकै कमजोर भएको बिचार व्यक्त गर्नु भयो। अग्रजहरुको अनुभव र ज्ञानको आधारमा आफ्नो जातीको भाषा, धर्म, संस्कृति र परमपराको संरक्षण गर्ने भनेकै नयाँ पुस्ताको काँधमा रहेको धारणा व्यक्त गर्दै सभासद गौचनले प्राबिधिक रुपमा आफु सांसद भएपनि अग्रजहरुबाट सिक्नुपर्ने धेरै ज्ञान सिप र शिक्षा रहेकोले आफुलाई सधै एक सिकारु विद्यार्थी नै रहेको बताउनु भयो।
महाधिबेशनका प्रमुख अतिथि समेत रहनु भएका सभासद गौचनले अग्रजहरुसंग भएको कला, संस्कृति, परमपरा र भाषा साहित्य अनि सामाजिक र सांस्कृतिक ज्ञान र सिपलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न नसके हाम्रो सबै पहिचान र अस्तित्व समाप्त हुने उल्लेख गर्दै अग्रजहरुको अनुभवलाई नया उर्जा र उत्साहको रुपमा ग्रहण गर्न थकाली युवाहरुलाई आग्रह गर्नु भयो।
गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले हरेक १० बर्ष गणना गरिने जनसंख्यामा थकाली जातीको जनसंख्या घट्दै आइरहेकोमा चिन्त व्यक्त गर्दै अवका पुस्ताबाट अन्तरजातीय बैवाहिक सम्बन्धलाई निरुत्साहित गर्नुको विकल्प नरहेको धारणा व्यक्त गर्नु भयो। थकाली युवा परिवार केन्द्रका सचिव समेत रहनु भएका सभासद शेरचनले अन्तरजातीय बिवाह संस्कारले आफ्नो भाषा, संस्कृति र परमपराको लोप भएर जाने भएकोले नयाँ पुस्तालाई भाषा र संस्कृति पुस्तान्तरण गर्नु पनि थकाली युवाहरुमा चुनौती र अवसर दुबै आएको जिकिर गर्नुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले थकाली युवाहरुको राष्ट्रिय महाधिबेशनले बुटवलको गरिमा र पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याएको बताउनु भयो। बुटवललाई मुस्ताङ्ग, कोरला नाका र शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्तल लुम्बिनीलाई जोड्ने माध्यमको रुपमा बिकास गर्न गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहित संघिय तथा प्रदेश सांसद र स्थानीय जनप्रतिनीधि सहितको समन्वय गोष्ठी गर्ने कार्य योजना तयार भएको उल्लेख गर्दै प्रमुख पाण्डेयले थकाली युवाहरुको राष्ट्रिय महाधिबेशनले थकाली समुदायसंगै त्यो समुदायसंग जोडिएका बिभिन्न क्षेत्रहरुको संरक्षण सम्बर्द्धन र बिकासमा नयाँ आयाम थप्नेमा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा थकाली सेवा समिति नेपालको केन्द्रिय अध्यक्ष गजेन्द्र तुलाचन, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा कमना सेवा बिकास बैंकका अध्यक्ष भिमप्रसाद तुलाचन, आदीवासी जनजाती महासंघ, समन्वय परिषद रुपन्देहीका सल्लाहकार शंकर गाहा, नेपाल मगर युवा संघका केन्द्रिय महासिचव रोशन अस्लामी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति दिनेश पाण्डेय, साहित्यकार मनिषा गौचन लगायतले थकाली युवा परिवार केन्द्रको राष्ट्रिय महाधिबेशनको सफलताको शुभकामना व्यक्त गर्दै राज्यको हरेक क्षेत्रहरुमा आदीवासी जनजातीहरुको पहुँच स्थापित गर्न ती समुदायका नयाँ पुस्तामा शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनैतकि रुपमा सचेत हुँदै नेतृत्व र व्यक्तीत्व बिकासमा सदैव अग्रपंक्तीमा रहनु पर्नेमा जोड दिएका थिए।
थकाली युवा परिवार केन्द्रका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ती गौचन र साहित्यकार तथा आख्यानकार मनिषा गौचनलाई सम्मन गरिएको थियो। यस्तै सोही कार्यक्रममै थकाली समुदायको पवित्र धार्मिक स्थल पुङयुङ ओढार (बाह्र बर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्न स्थल) पुनर्निमार्णका लागि ५० हजार रुपैंया आर्थिक सहयोग समेत प्रदान गरिएको थियो।
बुटवल स्थित फ्लामिङ्गो होटलमा भएको दोश्रो महाधिबेशनले एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष (१ जना महिला अनिवार्य सहित), सचिव, २ जना सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदाधिकारी रहनेगरी १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिबेशनमा पोखरा, काठमाण्डौ, बुटवल, भैरहवा लगायतका १९ क्षेत्र र बिदेशमा ३ क्षेत्र गरी २२ क्षेत्रबाट करिब ७५ जना भन्दा बढी प्रतिनीधि तथा प्रयवेक्षकको सहभागिता रहेको छ।
दुई दिनसम्म चल्ने महाधिवेशनमा थकाली अर्थविज्ञहरु, आदिवासी जनजाति युवा महासंघ, थकाली अनुसन्धान केन्द्रबाट प्रशिक्षित गर्ने तथा युवा थकाली व्यवसायीहरुबाट उद्यमशीलता सम्बन्धी ज्ञान आदान प्रदान गरिने आयोजकले जनाएको छ।
महाधिबेशनको खुल्ला सत्रको अध्यक्षता गर्दै थकाली युवा परिवार केन्द्रका अध्यक्ष योगेन्द्र शेरचनले समुदायको भाषा, कला र संस्कारलाई जिवन्त बनाउने, पूर्वजहरुका योगदान र त्यागलाई सम्बर्द्धन गर्ने, नयाँ पुस्तालाई आफ्नो संस्कृति र मर्यादा प्रति जागरुक गराउने, उच्च ओहदामा थकाली समुदायको वर्चश्व कायम गर्न प्रशिक्षण गर्ने, थकाली समुदायका सम्पदाहरुलाई सरक्षण गर्ने, पूर्वजका गाथा, भाका र भेषलाई मध्यनजर गराई अग्रज र अनुज बिचको सम्बन्धलाई प्रगाढ बनाउने, थकालीहरुको मौलिक तारा खेललाई परम्परागत खेलको रुपमा विकास र सम्बर्द्धन गरी युवावर्गलाई यस खेलमा अग्रसर गराउने लगायतका विषयमा छलफल हुने जानकारी गराउनु भयो ।
खुल्ला सत्रको कार्यक्रम संचालन थकाली युवा परिवार केन्द्रका उपाध्यक्ष चित्रलाल तुलाचनले गर्नुभएको थियो। कार्यक्रममा थकाली कला र संस्कृति सहितको सांस्कृतिक पहिरन सहित थकाली युवाहरुको सहभागिता रहेको छ।