२४ पुस, कञ्चन
“विना शिक्षा अध्यारो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज” नाराका रुद्रपुर माध्यमिक विद्यालय, कञ्चन ४ अस्नैया रुपन्देहीले आफ्नो स्थापनाको ५० औ वार्षिक उत्सव तथा स्वर्णमहोत्सव २०८१ अवसरको दोश्रो दिन विविध कार्यक्रम सहित मनाएको छ। पुस २० गते देखी सञ्चालित स्वर्ण महोत्सवको दोस्रो दिन विद्यालयले विद्यालयमा प्राविधिक शिक्षा बिकास पूर्वाधार बिकासका लागि आर्थिक तथा जग्गा दान गर्ने दाता तथा विद्यालयको विभिन्न समयमा विद्यालय व्यास्थापन समिति, शिक्षक अभिभावक संघका पूर्व सदस्यहरुलाई सम्मान गरेको छ।
स्वर्णमहोत्सवको देश्रो दिनको कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाँउपालिकाका अध्यक्ष तथा सो विद्यालयका पूर्व शिक्षक नवराज ढकालले विद्यालयको स्वर्णमहोत्सव आफैमा एउटा पर्व भएको बिचार व्यक्त गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि चन्दादाताहरूले दिएको आर्थिक, भौतिक, नैतिक तथा भूमी दानलाई सही सदुपयोग गरी यस क्षेत्रमा कृषि तथा पशु विज्ञान अन्तर्गत प्राविधिक शिक्षा सञ्चालन गर्न सबै एकमन भएर लाग्नु पर्ने बताउनु भयो।
विद्यालयको स्वर्णमहोत्सवको अवसरमा जनताको घरदैलोमा पुग्दै गर्दा विद्यालयको लक्ष्य र उद्देश्य कृषि तथा पशु विज्ञान अन्तर्गत कुनै एक प्राविधिक शिक्षा सञ्चालन गर्न स्थानीयहरुको सकृयता र चासो बढ्नुले प्राविधिक शिक्षाको ढोका खोलिएको संकेत हो भन्दै अध्यक्ष ढकालले त्यसका लागि विद्यालय एक्लै लागेर सम्भव नहुने भएकोले समाजका हरेक पक्षहरुको सहकार्य, समन्वय र पारस्परिक सहयोगलाई संगठित गर्न आवस्यक रहेको बिचार व्यक्त गर्नु भयो। अभिभावकहरुको चाहानालाई संस्थागत गरी परिणाममा रुपान्तरण विद्यालयको शैक्षिक कृयाकलापलाई अझ व्यबस्थित र बिश्वसनीय बनाउदै लैजानु पर्नेमा जोड दिदै प्राविधिक शिक्षा संचालन गर्नु भन्दा पनि त्यसको निरन्तरतामा चुनौती देखिने अध्यक्ष ढकालले बताउनु भयो।
अध्यक्ष ढकालले कञ्चन गाउँपालिकाको अधिक्तम बजेट शिक्षाको क्षेत्रमा धेरै लगानी गरेको बताउँदै शिक्षामा गरेको लगानीको प्रतिफल तत्कालै नदेखिएता पनि बिस्तारै त्यसको नतिजा देखापर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथी तथा कञ्चन गाँउपालिका उपाध्यक्ष मौसमी थापा मगरले शिक्षा जीवनको अभिन्न अङ्ग भएको हुँदा यस क्षेत्रमा सम्भावना देखिएको कृषि तथा पशु शिक्षा विज्ञान अन्तर्गत प्राविधिक धारतर्फको शिक्षालाई कञ्चन गाउँपालिकाले नीति, नियम र कार्यविधि बमोजिम लगानी तथा योजना बनाउने बताउनु भयो। यदि यस क्षेत्रमा कृषि वा पशु प्राविधिक शिक्षा संचालन गर्न सकिएको अवस्थामा यस पालिका, पालिकासंग जोडिएका नजिकका स्थानीय तहका विद्यार्थीहरुले गरीखाने शिक्षाकाृ रुपमा प्राविधिक शिक्षा सहज रुपमा प्राप्त गर्न सक्ने बताउदै सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा संचालन गर्ने राज्यको नीति अख्तियार गरे यस विद्यालयमा कृषि वा पशु प्राविधिक शिक्षा संचालनका लागि भौतिक पूर्वाधार तयारका लागि पालिकाले यथासम्भव सहयोग गर्ने उपाध्यक्ष थापा मगरले प्रतिवद्धता व्यक्त गर्नु भयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालले अध्यक्षता गर्दै विद्यालयलको सपना, योजना र उद्धेश्य पुरा गर्न आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग प्रदान गर्ने विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी, शुभेच्छुक, चन्दादाता, भूमिदाताहरु प्रति कृतज्ञता व्यक्त गर्नु भयो। अध्यक्ष खनालले विद्यालय स्थापना गर्दा आफ्नो परिवार र आफन्तको चाहानालाई प्रवाहनगरी आफ्नो सबै व्यक्तीगत इच्छाहरुलाई त्यागेर अहोरात्र खटेर विद्यालयलाई यो स्थानसम्म ल्याउन जगको शुभारम्भ गर्ने अग्रज तथा संस्थापकहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो।
स्वर्णमहोत्सव २०८१ को दोश्रो दिनको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलको स्वागत तथा विद्यालय व्यबस्थापन समितिका सदस्य जगीलाल थापाको संचालनमा भएको कार्यक्रममा कञ्चन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष चक्रपाणी पौडेल, मलावरदेवी माध्यमिक विद्यालयका अध्यक्ष शसिधर सापकोटा, कञ्चन गाँउपालिका कार्यपालिका सदस्य सुशिला थापा, समाजसेवी एवं सामुदायिक रेडियो कञ्चनका पूर्व अध्यक्ष क्या. विष्णु नारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष गिरबहादुर थापा, क्रृयटिभ लुम्बिनी इङ्गलिस बोडिङ्ग स्कुलका प्रिन्सीपल हेम बहादुर थापा, नव जागृति आमा समूहका देवी केसी, पूर्तिघाट टोल विकास संस्थाका पदम बहादुर खड्काथोकी, रा.ज.मो.का प्रजापति सापकोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका झविलाल थापा लगायतले विद्यालयको स्वर्णमहोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
सामुदायिक रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्यले गर्नु भएको सांगितिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक सुदिप सिंजाली मगर टीका पुन स्थानीय प्रतिभा कौशिला सुनार सहित विद्यार्थीहरुद्वारा सांस्कृतिक नृत्य तथा सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए भने
शिक्षक अभिभावक सङ्घका अध्यक्ष ठाकुर गौतमले धन्यवाद ज्ञापन गर्नु भएको थियो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले उद्घाटन गर्नु भएको सो विद्यालयको स्वर्णमहोत्सव २५ गते सम्म संचालन हुने छ। उक्त विद्यालयमा नेपाली र अंग्रेजी गरी दुई छुट्टा छुट्टै भवनमा अध्यापन हुदै आइरहेको छ।