रुषा थापा
बुढोपाकाले भन्थे, ‘सुख लुकाएर लुक्छ तर दुःख लुकाएर लुक्दैँन ।’ बजारमा व्यापारीहरु भन्छन्, ‘व्यापार छैन । सटर भाडा तिर्न पैसा छैन ।’ आर्थिक मन्दीका कारण व्यापार ठप्प भइरहँदा घरधनीहरुले भने भाडा नघटाएको र सरकारले समेत भाडा निर्धारणमा चासो नदेखाएको उनीहरुको गुनासो छ ।
झण्डै चार वर्षअघि काठमाडौं उपत्यकासहित देशभरका अधिकांश ठाउँमा सञ्चालित विभिन्न व्यापार व्यवसायीले दैनिक २५ हजार रुपैयाँदेखि लाखौं रकमसम्मको व्यापार गर्थे । अहिले सटर खोल्नु मात्रै हो, बहनी समेत हुदैँन भनेर व्यापारीहरु भन्छन् । भाडा तिर्न नसकेपछि अब बाध्यताले सटर छोड्न लागेको उनीहरु बताउँछन् ।
उपत्यकासहित देशभरका शहरी स्थानमा अहिले पनि घरधनीहरु एउटा सटरको मासिक भाडा २५ हजार रुपैयाँदेखि १९ लाखसम्म लिइरहेका छन् । खाली सटर २० लाखदेखि ६० लाखमा किनबेच गरिरहेको छ । एउटा कोठाको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म मासिक भाडा उठाइरहेका छन्, घरधनीहरु ।
एक फ्ल्याटको २५ हजारदेखि तीन लाख रुपैयाँसम्म भाडा लिइन्छ । बत्ती, पानी, फोहोर, इन्टरनेटको पैसा मनलाग्दी लिन्छन् । सवारीसाधन पार्किङ्गको छुट्टै रकम तिर्नुपर्छ । अहिले व्यापारीहरु भन्छन्, ‘कि सरकारले भाडा निर्धारण गरिदिओस् । नभए अब हामी टिक्न सक्दैनौं ।’ घरधनीहरु चर्को भाडा असुल्छन् । तर, न बिल दिन्छन् न कुनै सेवासुविधा ।
राज्यलाई तिर्नुपर्ने कर छल्छन्, घरधनीहरु । अहिले भाडामा बसेकाहरुको छुट्टै समस्या छ । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । डेरामा बसेका कोहीको रोजगारी छैन । रोजगारी भएपनि कतिपयले महिनौंदेखि तलब पाएका छैनन् । व्यापार व्यवसाय गर्नेहरुको पनि अवस्था नाजुक छ । आम्दानीको बाटो कहीकतै नभएपनि घरधनीलाई मासिक रुपमा भाडा तिर्नैपर्यो ।
नभए घरधनीहरु निस्किएर जा भनिहाल्छन् । त्यसैले, कतिपयले ऋण गरेर भएपनि भाडा तिरिरहेका छन् । अहिले बाटोमा हिँड्दा जताजतै कोठा, सटर र फ्ल्याट खाली लेखिएका पोस्टर वा टुलेट देखिन्छ । घर खाली भएपनि घरधनीहरु भाडा घटाउन मान्दैनन् । बरु वर्षौसम्म खाली राख्न उनीहरु तयार हुन्छन् । घरधनीहरु घरलाई आफ्नो निजी सम्पत्ति भन्छन् ।
त्यसैले, मनलाग्दी भाडा तोक्छन् । अनि डेराबहाललाई सेवासुविधा पनि दिदैँनन् । तर, कुनै पनि घर आम्दानीका लागि भाडामा लगाएपछि त्यो कसरी निजी सम्पत्ति हुन्छ ? निजी सम्पत्ति हुनुको लागि त कमाउधन्दाका लागि घर भाडामा लगाउन मिलेन नि । आफ्नो स्वार्थका निम्ति भाडामा लगाउने अनि निजी सम्पत्ति भन्दै उफ्रिन पाइन्छ ?
यता, घरधनीहरुको पनि अलग्गै समस्या छ । उनीहरु भन्छन्, ‘हाम्रो घर बैंक, वित्तिय संस्थाले लिलाम गर्न थाल्यो ।’ घर बनाउँदा लिएको ऋण तिर्न नसकेपछि बैंकले धितो लिलाम गर्न लागेपश्चात् कतिपयले आत्महत्या गर्न थालेका छन् । कोही आफ्नो घरमा झुण्डिएका छन् भने कोही बाटोमै शरीरमा पेट्रोल खन्याएर आगो लगाइरहेका छन् ।
व्यक्तिदेखि बैंक, वित्तिय संस्थाको लगानी घरजग्गा, गाडी र सेयरमा छ । छिट्टै नाफा कमाउन जोकोहीले यी क्षेत्रमा आँखा चिम्लेर लगानी गरे । यसमा क्षेत्र गरेकै कारण सहकारी डुब्यो । कयौं सर्वसाधारण डुबे । अब बैंकमा पनि समस्या देखिसकेको छ । बैंकमा भएको रकम जनताको हो । तर, सरकारले बेलैमा घरजग्गा, गाडी र सेयरमा लगानी गर्न बैंक, वित्तिय संस्थामाथि कडाई नगर्दा आज आम सर्वसाधारणको निक्षेप जोखिममा परेको छ ।
ऋहिले अर्थविद्देखि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि भन्छन्, ‘घरजग्गा गाडी र सेयरमा मन्दी भयो ।’ यँही क्षेत्रमा लगानी गरेका कारण अर्थतन्त्रमा समेत समस्या निम्तिएको उनले स्वीकारेका छन् । तर, डुबेपछि गल्ती स्वीकारेर के गर्नु ? दलाली, भूमाफियाहरुले आनाको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिनदेखि डाँडाकाँडासम्म खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचबिखन गरे ।
छिमेकी मुलुकमा एक लाखमा पाइने सवारीसाधन यहाँ पाँच लाखदेखि करोडसम्ममा बेचियो । बैंकले एक सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर पनि तीन हजारदेखि ५ हजार रुपैयाँसम्ममा खरिदबिक्री गरियो । त्यतिबेला अर्थ मन्त्रालय, राष्ट्र बैंकले अध्ययन गरेर यी क्षेत्र जोखिमपूर्ण छ, लगानी नगर्नुस् भनी निर्देशन दिएको भए न बैंकमा समस्या देखिन्थ्यो न अर्थतन्त्र संकटमा पथ्र्यो ।
अहिले ९५ प्रतिशत सर्वसाधारणको घरजग्गा, गाडी र सेयर बैंक, वित्तिय संस्थाको नाममा छ । यी जनता बैंक, वित्तिय संस्थाले धितो खाइदिएपछि सडकछाप हुनेछन् । त्यतिबेला अधिकांशले आत्महत्या गर्नेछन् । बैंकको साँबाब्याज तिर्न नसकेपछि अहिले नै कतिपय ऋणीले धितो खाइदिने डरमा डिप्रेसनमा गएका छन् । अस्पताल भर्ना भएका छन् ।
यता, बैंक पनि समस्यामा छ । धितो लिलाम गरेपनि बिक्री भएको छैन । किनकि बजारमा घरजग्गा, गाडी र सेयर कारोबारमा मन्दी छ । यसको मूल्य दिनहुँ घट्दै गएको छ । बैंकले सरकारी मूल्य नहेरी बजारमा कारोबार भइरहेको रेटलाई आधार मानेर यी क्षेत्रमा लगानी गर्यो । दलाली, भूमाफियाहरुले यसको कृत्रिम रुपमा मूल्य बढाएका थिए भनेर बैंकले थाहा पाएन ।
जसका कारण अहिले बैंक टाट पल्टिने अवस्थामा पुगेको छ । एकातिर ऋणीले साँबाब्याज तिर्दैन । अर्कोतिर धितो लिलाम गरेपनि खरिद गर्ने कोही भेटिदैँन । त्यसमा पनि धितो मूल्य घट्दै गएको छ । बैंक तनावमा छ । बैंकका सञ्चालक, अध्यक्षहरु रातभर सुत्न सक्दैँनन् । सहकारीकै अवस्थामा पुग्ने उनीहरुले पनि थाहा पाइसकेका छन् ।
हिजो एक करोड रुपैयाँ कर्जा दिदाँ दश लाख त घुस खाए, बैंकका सञ्चालक, अध्यक्षले । सेवाशुल्क तीन प्रतिशत अनि ब्याज १८ प्रतिशत भनेर ४८ प्रतिशतसम्म असुले । विगतमा ऋणीको उठीबास लगाएका बैंक, वित्तिय संस्था अहिले आफैं भाग्ने स्थितिमा पुगेका छन् । त्यसैले, अब बैंकका बचतकर्ता सचेत हुनुपर्छ । सहकारीका बचतकर्ताजस्तो अवस्थामा नपुग्न बेलैमा सोचविचार गरौं ।
बैंक, वित्तिय संस्थाबाट ऋण लिएका त डुबिहाले । अब बचत गरेका जनता डुब्नु हुन्न । यसका कारण जनता सतर्क हुन आवश्यक छ । नभए सहकारी बचतकर्ताजस्तै रोएर बस्नुपर्छ । बैंक डुबिसक्यो । तर, यो कुरा बाहिरिएमा पैसा निकाल्नेको भीड लाग्छ भनेर अहिले तरलता थुप्रिएको भ्रम फैलाइएको छ । यसैले, अब भ्रममा नपरौं ।
किनकि हिजो सहकारीका बचतकर्ता पनि भ्रममा पर्दा डुब्नुपर्यो । यदि उनीहरुले बेलैमा आफ्नो निक्षेप निकालेको भए आज बिचल्ली हुदैँन्थ्यो । त्यसका कारण जनताले आफ्नो निक्षेपको आफैं सुरक्षा गरौं ।