२१ मंसिर, बुटवल
मगर जातीको भाषा, साहित्य, कला र संस्कृति संरक्षणको इतिहासमा पहिलो पटक रुपन्देहीको बुटवलमा मगर साहित्य महोत्सव आज देखि शुरु भएको छ। नेपालको ऐतिहासिक तथा सामरिक स्थल जितगढी किल्लामा शुरु भएको महोत्सवमा मगर लेखक, साहित्यकार, अन्वेशक, अध्येता, पत्रकार, कलाकार, प्राज्ञ, राजनैतिक अगुवा तथा बुद्धिजीवीहरुको सहभागिता रहेको छ।
नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आजदेखि शुरु भएको मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सहित पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता वाचन प्रतियोगिता, पुस्तक विमोचन लगायतका कार्यक्रम सम्पन्न गरिएको छ।
प्रतिनीधि सभाका उपसभामुख इन्दिरा रानाले महोत्सवको उद्घाटन गर्दै मातृ भाषा र सँस्कृतिको संरक्षणमा जातीय एकता आवश्यक रहेको बताउनु भयो । बिभिन्न समयमा भएको देशको राज्उ व्यबस्था परिवर्तनका आन्दोलनहरुमा मगर समुदायले खेलेको भूमिका ऐतिहासिक र बलिदानीपुर्ण भएको उल्लेख गर्दै उपसभामुख रानाले अब आफ्नो पहिचानको अभिलेखिकरण आवस्यक रहेको र बुटवलमा भएको साहित्य महोत्सवले मगर जातीको भाषा, साहित्य, कला र संस्कृतिको ऐतिहासिक अभिलेखलाई लिपिबद्ध बनाउन उद्धत रहने विश्वास गर्नु भयो। आफ्नो जातिय धरातललाई भुल्नेहरुको इतिहास समेत नामेट हुने उल्लेख गर्दै उपसभामुख रानाले सबै जातजाति, धर्म–सँस्कृति, परम्परा तथा राजनीतिक बिचारहरुको सम्मानले मात्र एकता र समृद्धि सम्भव भएको बिचार व्यक्त गर्नु भयो ।
महोत्सवको पहिलो दिन राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार खिलध्वज थापाकृत ‘एक पत्रकारको वकपत्र’ पुस्तक तथा लेखकमाथि परिचर्चा गरिएको छ। उक्त परिचर्चाका लागि साहित्यकार गिरी श्रीसले सहजीकरण गर्नु भएको थियो। महोत्सवमा सहभागी मगर ढुट, काइके र खाम गरी १० कविता मध्ये आज ५ उत्कृष्ट कविताहरुले प्रतियोगितामा वाचन गरिएको थियो। यसैगरी लेखक थमु सिंजालीद्वारा लिखित इतिहासमा बौद्ध धर्म नामक पुस्तक सहित ३ वटा पुस्तक विमोचन गरिएको महोत्सव तयारी समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिनु भएको छ।
महोत्सवमा समाजशास्त्री डा. सुरेश ढकालले ‘भेजा प्रथा : मगर जातिको संगठन र अर्थ सशक्तिकरणको अनुपम दर्शन’ विषयमा प्रस्तुती दिनुभएको थियो । यस्तै ‘मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा डा. विष्णु सिंजाली, भाषविद कर्ण बहादुर बुढा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी र सुनछहारी गाउँपालिका अध्यक्ष धनबहादुर पुनसँग अन्तरकृयात्मक सामुहिक छलफल गरिएको थियो भने उक्त छलफलका लागि पत्रकार श्याम रानाले सहजकिरण गर्नु भएको थियो ।
मगर जातिमा झाँक्री प्रथाका विषयमा गोपाल आचार्यले तयार पारेको ‘आखत’ नामक वृत्तचित्र प्रस्तुत गर्नुका साथै वृत्तचित्रबारे समेत छलफल गरिएको थियो। महोत्सव भोली शनिबारसम्म सञ्चालन हुने छ। ।
मगर साहित्य महोत्सवले देश बिदेशमा रहेका मगर अग्रज, बिभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवि, राजनैतिककर्मी, लेखक, पत्रकार, कलाकार, अन्वेशक, सोधकर्ता, साहत्यिकार लगायतलाई एकै पटक एउटै मञ्चमा उभ्याउन सफल भएको नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापाले बताउनु भयो। नेपालको जनसंख्यामा समेत मगर जातीको जनसंख्या तेश्रो अंकमा भएरपनि मगर जातीको पहिचानको रुपमा रहेको भाषा, साहित्य, कला र संस्कृतिको लिपिवद्ध अभिलेख नभएको अवस्थामा महोत्सवले महत्वपुर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने संघका अध्यक्ष थापाले बिश्वास व्यक्त गर्नुभयो।
कुनै पनि जाती, समुदाय तथा क्षेत्रको अस्तित्व र इतिहास भनेको नै साहित्य भएकाले मगर जातीको आफ्नै भाषा, कला संस्कृति र साहित्यको लिपिवद्ध अभिलेख नभएको कारण आफ्नो कथा आफै लेखौं भन्ने नारा सहित बिभिन्न चुनौती, बहस र छलफल पश्चात आयोजना गरिएको मगर साहित्य महोत्सवले मगर लेखक, अध्यता, अन्वेशक तथा साहित्यकारहरुमा नयाँ उर्जा थपिने र मगर जाती भाषा र साहित्यमा नयाँ ईतिहास कोर्ने प्रयास हुने अध्यक्ष थापाले बताउनु भएको छ।
महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरि यही महोत्सवबाटै ती पुरस्कारहरु वितरण गर्ने कार्यलाई शुभारम्भ गरिएको मगर साहित्य महोत्सव व्यबस्थापन उप समितिका संयोजक राधिका श्रीसले जानकारी दिनु भएको छ।
कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, प्राज्ञ डा बुंद राना, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतले मातृ भाषा सँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन।