जगीलाल थापा
असोजको तेस्रो साता, बुटवलबाट बेनप्रसाद थापा, दलबहादुर गुरुङ र होमबहादुर गलामी कञ्चन गाउँपालिकाको दानापुर तालमा एक्कासी आउनु आउनुभयो। दलबहादुर दाइका पुराना साथीहरुसँग भेटघाट गर्ने, दानापुर घुम्ने गरी। भेटघाट गराउने जिम्मा मलाई थियो। दानापुर तालको गेट अगाडि भएको चन्द्र तरामुको पसलमा भेट भयोैं।
दलबहादुर दाइ, वन तथा वातावरण र पर्यटनसम्बन्धी ज्ञान संगालेका व्यक्ति हुनुहुन्छ। हामी दानापुर ताल घुम्यौं। तालमा पानीको सट्टा ओइलिएर निर्जिव बनिसकेका कमलका फूलहरुका अवसान देखेपछि दलबहादुर दाइ निरास हुनुभयो। आफू बिदेश भ्रमण गएका बेला देखेका पर्यटकीय अनुभव बताउदै होमबहादुर गलामीले दानापुर तालको क्षेत्र देखेपछि "माल पाएर चाल नपाउने हामी नेपाली" भनेर फ्वाक्कै भन्नुभयो।
दानापुर तालको वरिपरि घुम्दैगर्दा ताल वरिपरि पलाएका झाँडी, स-साना बुट्यानहरुको सफाइमा ध्यान दिए तालको सौन्दर्यता बढ्ने दलबहादुर दाइले बताउनुभयो। दलबहादुर दाइ आफै पनि वन, वातावरण क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनु भएको मान्छे हो। आफू राष्ट्रपति चुरे बोर्डसँग सम्बन्धित रहँदा दानापुर तालको संरक्षण,सम्बर्द्धन र पर्यटन प्रवर्द्धनका लागि बजेट पारेको अभिलेख सुनाउनुभयो। सोही बजेटबाट अहिलेको दानापुर तालको विकास भएको रहेछ।
गफिदै जाँदा कालिका मानवज्ञान मा.वि. व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा हाल कालिका क्याम्पस संचालक समितिका अध्यक्ष होमबहादुर गलामीले स्थानीय पाठ्यक्रममा यहाँको विषयवस्तु समावेश गरेर सैद्धान्तिक र व्यवहारिक ज्ञानका लागि अवलोकन भ्रमण गराएमा यहाँका विषयबस्तुबारे बढी ज्ञान लिन सक्ने बताउनुभयो।
मैले कञ्चनमा १९ वटा सामुदायिक तथा ११ वटा संस्थागत विद्यालयहरु भएको जानकारी दिएँ । केही समय तालको छेउ उभिएर टहलिनु भयो वहाँ। दलबहादुर गुरुङ आन्तरिक पर्यटकका रुपमा पुगेर देशका विभिन्न स्थानहरुको भ्रमण गर्दै त्यहाँबाट प्राप्त अनुभवहरुबारे नियात्रा लेख्नुहुन्छ। दानापुरलाई पनि वहाँले त्यसरी अध्ययन गर्नुभयो।
होमस्टे वा होमस्टे खालको होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्ने, डकुमेन्ट्री बनाउने, ब्रोसर तयार गर्ने र प्रचार-प्रसारमा जोड दिएमा दानापुर घुम्न आउने पर्यटकहरुलाई आकर्षित गराउन सकिने विचार सुनाउनुभयो। मैले दानापुरसँगै बेलभरियामा रहेको पुरानो बरको रुख, जलेश्वर मन्दिर, कर्मटसी छुलिङ्ग गुम्बा, लौसाको लभडाँडा, मलावरदेवी, तुल्सीघाट, रुद्रेश्वर मन्दिर जस्ता धार्मिक तथा सम्भावित पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी दिएँ ।
दानापुरलाई आधाफन्को लगाएपछि गेटबाट बाहिरियौं। त्यसपछि हामी रुद्रपुरतिर लाग्यौं। दलबहादुर दाइले संगै पढाउदाताका अर्का दलबहादुर क्षेत्रीसरको घरमा पुराएं । वहाँहरुले २०५०मा हरैया माविमासँगै पढाउँदाका अनुभव र दिनहरुमा गफिनुभयो। हामीले हो मा हो थपेर सुन्यौं। त्यसपछि साविक कचल गाविसको झिंगामाराको सरस्वती आधारभूत स्कुलमा लामो समय पढाउनु भएका भानुभक्त भण्डारी सरपनि दलबहादुरलाई भेट्न दलबहादुरकै घरमा आउनुभयो।
केही छिनको गफगाफपछि हामी मोवाइल तेर्साउँदै आपसमा फोटो खिच्यौं र फेरि तुलबहादुर थापा सरको घरतिर लाग्यौं। तुलबहादुर सरकहाँ कूल पूजा रहेछ। तुलबहादुर सरलाई बाहिरै बोलाएर भेट गरेरमात्र फर्किने कुरा कुरामै सिमित भयो। तुलबहादुर सरले घरै लगेर पूजाको प्रसाद खुवाइहाल्नु भयो। पाहुना भएकाले धेरै कुराकानी गर्न पाइएन। हामी निस्कि हाल्यौं।
यसै बीचमा गुल्मीको सत्यवतीमा सञ्चालन हुने १० दिने काष्ठ, मूर्ति तथा चित्रकला कार्यशालामा जाने सल्लाह भयो। बेनु सरले रुपन्देहीका कलाकारहरुलाई लिएर चाँडै जाने कुरा रहेछ। म पनि १ गते उद्घाटनशत्र भेट्ने गरी जाने योजना थियो।
दलबहादुर दाइको पनि उक्त कार्यशालाको सन्दर्भ पारेर भार्सेसम्म पुग्ने योजना रहेछ। तर कार्तिक ५ गतेमात्र। वहाँसँगै जाने भएपछि मैले उता जाने समय ५ दिन पछिलाई सारें। हामी भैरम घाटनेरबाट छुट्टियौं।
वहाँहरु होमबहादुर गलामीको साथीले सञ्चालन गर्नुभएको बंगुरफर्म हेर्नेगरी कञ्चन १ को लौसातर्फ लाग्नुभयो। मभने घरतिर फर्के । रमाईलो घुमघाम भो ।