बसन्त खत्री
‘जुन जोगी आए पनि कानै चिरेको’ भने झैँ नेपालमा जुन पार्टीको सरकार बनेपनि भ्रष्टाचारमा कमी आएन । सरकारी निकायमा हुने गरेको भ्रष्टाचारबाट जनता आजित छन् । शासक दलका नेता र कार्यकर्ताहरू कमिसनको चक्करमा लागेपछि भ्रष्टाचारलाई बढावा दिन अनेक रङ्गमा विचौलियाहरू सलबलाउन थालेका छन् । विचौलियाहरूकै कारण जनता दोहोरो मारमा परेको गुनासो व्यापक बढ्दै छ ।स्थानीय तहको निर्वाचनपछि जनताले सुःख पाउने निकै ठूलो आशा थियो । आफूले चुनेर पठाएका जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्ने सबैले अपेक्षा गरेका थिए । निर्वाचित जनप्रतिनिधिले आफ्नो दुःख–सुःखमा साथ दिनेछन् भन्ने भरोसामा चुनाव जिताएको दिन जनता ठूलै उत्साहका साथ उनीहरूको जयजयकारमा लागे । तर, शासक दलका जनप्रतिनिधिहरूको नियत राम्रो रहेन । शासक दलले फगत चुनाव जित्नको लागि पैसावाल, ठेकेदार, गुन्डा र अपराधीहरूलाई उम्मेदवार बनाए । तिनैले पदमा बसेर अहिले रजाईँ गरिरहेका छन् । जनता पछुताइरहेका छन् ।
स्थानीय तहमा भ्रष्टाचार गर्ने काइदा पनि थरिथरिका छन् । स्थानीय तहको आम्दानी भनेको सिफारिस दस्तुर र अन्य करहरू हुन् । जग्गा कारोबार बढेको बेला जग्गासम्बन्धी सिफारिसबाट धेरै दस्तुर उठ्ने गर्दछ । तर, ती उठेका दस्तुर र कर सबै सरकारी ढुकुटीमा गएका छैनन् । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा जनतासँग उठेको कर रसिद नकाटी खल्तीमा हाल्ने प्रचलन बढ्दै गरेको स्थानीय तहमै कार्यरत केही इमानदार कर्मचारीले बताइरहेका छन् । जनप्रतिनिधिहरूले कर खल्तीमा हाल्नुका साथै आफ्नो मान्छे आए लाग्ने दस्तुर नै नलिई सिफारिस दिने गरेको गुनासो पनि धेरै आइरहेको छ । यसबाट सरकारी राजश्व चुहावट भइरहेको छ । अर्को, बर्सेनि स्थानीय तहमा विकास निर्माणका योजनाको निम्ति बजेट विनियोजन हुन्छ । जनतासँग सरसल्लाह नगरी नेताहरूले अवैज्ञानिक ढङ्गले आपूmखुशी योजना बनाउँछन् । त्यस्ता योजना कार्यान्वयनबारे जनतालाई सुइँको पनि हुन्न । शासक दलका केही आसेपासेले कोठे उपभोक्ता समिति बनाएर कमिसन खाँदै योजना सञ्चालनको जिम्मेवारी ठेकेदारलाई दिन्छन् । योजना कार्यान्वयनको निम्ति स्थानीय जनताको भेला गराएर भेलाबाट उपभोक्ता समिति बनाउनुपर्ने नियम छ । तर, त्यस्तो नियम शासक दलका जनप्रतिनिधिहरूले मान्ने गरेका छैनन् । कतिपय स्थानीय तहहरूले १० लाखभन्दा बढी रुपियाँको योजना ठेकेदारलाई दिने बाध्यात्मक नियम बनाएका छन् । सरकार पनि ठेकेदार पोस्ने बाटोमा छ । जनताको माझबाट उपभोक्ता समिति नबनेपछि जनतामा अपनत्वको भावना रहँदैन । जनतालाई योजनाबारे जानकारी नदिए जनताको चासो पनि नहुने भयो । यसबाट स्थानीय तहका कर्मचारी र नेताहरूलाई कमिसन खान सजिलो भएको छ । विकासको नाममा जथाभावी डोजर चलेका छन् । सरकारी बजेटको दुरूपयोग भइरहेको छ ।
काठमाडौँ उपत्यकामा अहिले जग्गा किनबेच तीव्ररूपमा बढिरहेको छ । बाटो नभएको भीरपाखो पनि धमाधम बिक्री भइरहेका छन् । दलालहरूले बाटो नभएको जग्गा सस्तोमा किन्ने र जनप्रतिनिधिसँग मिलेर बाटोको योजना हाल्न लगाउने क्रम बढ्दै छ । बाटै नभएको ठाउँमा बाटो पु¥याइदिएबापत जनप्रतिनिधिहरूलाई दलालहरूले मोटै रकम ‘भेटी’ चढाउँछन् । जनप्रतिनिधिहरू त्यसरी गरिने विकासको मोलमोलाइको कारण दलालहरूको चङ्गुलमा फस्दै छन् । जनप्रतिनिधिहरू कमिसनको चक्करमा लाग्दा सार्वजनिक पर्ति जग्गा, मठमन्दिर, देवालय, प्राचीन सम्पदा अहिले सङ्कटमा पर्दै छ । डोजर चलाएर जथाभावी बाटो खन्दा कृषियोग्य जमिन तहसनहस भएको छ । जङ्गल मासिनुका साथै पानीका मूलहरू पनि सुक्दै छन् । वातावरण र पर्यावरण क्षेत्रमा पनि नराम्रो असर पर्दै छ ।
पुँजीवादी व्यवस्थाको प्रभावले आजकल घरघरमै जग्गा दलालहरू जन्मिरहेका छन् । सबैलाई पैसा कमाउने रन्को चलेको छ । काम र मेहनत गरेर भन्दा सजिलो ढङ्गले मनग्ये आम्दानी गर्ने लोभ धेरैमा पलाइरहेको छ । पैसाकै पछाडि लाग्दा आफन्तले आफन्तलाई नै भड्खालोमा हाल्ने कुसंस्कृतिको विकास भइरहेको छ । पल्लाघरेको जग्गा बिक्री गर्न वल्लाघरेले ग्राहक ल्याइदिने, वल्लाघरेको सम्पत्तिमाथि पल्लाघरेले आँखा लगाउने प्रवृत्तिको विकास भइरहेको छ । सचेत नागरिक भने चिन्तामा छन् । पैसाकै लागि मरिहत्ते गर्दै युवाशक्ति अन्धाधुन्द दौडिरहेका छन् । देश र समाजको चिन्ताभन्दा पनि युवाहरूमा द्रव्यमोह बढ्दै छ । घरका परिवार र आफन्तले पनि कहाँबाट पैसा ल्यायो ? भन्ने सोच्दैनन् । जहाँबाट जसरी भएपनि पैसा कमाउनुपर्छ भन्ने मान्यता विकास भइरहेको छ । पैसावाल नै समाजमा इज्जतदार कहलिने संस्कारको विकास भइरहेको छ । यसले हाम्रो समाजलाई सही दिशातर्फ लाँदैन ।
मालपोत, भूमिसुधार, नापी, गुठीसंस्थानमा भ्रष्टाचार र अनियमितता हुने कुरा त पुरानो हो । त्यहाँका कर्मचारीले घुस नखाई सिन्को पनि भाँच्दैनन् भन्ने जनताको दृष्टिकोण छ । पहिलेपहिले मालपोत, भूमिसुधार, गुठीसंस्थान, नापीमा कर्मचारीले सेवाग्राहीसँग सिधै घुस माग्दथे । अहिले तरिका फेरिएको छ । यी निकायहरूमा अहिले विचौलियाको प्रवेश भएको छ । यी सरकारी निकायहरूमा जनताले आफ्नो काम लिएर गए काम हुँदैन । विचौलिया गए तुरुन्त हुन्छ । सरकारी कर्मचारीले मात्रै हेर्नुपर्ने फाइलहरू अहिले विचौलियाको नियन्त्रणमा पुगेको छ । मालपोत, नापी, भूमिसुधार, गुठीमा रहेका फाइलहरू अहिले विचौलियाले हेर्ने गर्दछन् । यिनै विचौलियाको कारण जनता बढी मारमा परेका छन् । कर्मचारीहरूले यिनै विचौलियाहरूको माध्यमबाट घुस खाइरहेका हुन्छन् ।
लेखापढी व्यवसायीका आवरणमा रहेका सीमित विचौलियाहरूले भ्रष्टाचारको ठूलै तानाबाना बुनिरहेका छन् । सोझासिधा किसानलाई सरकारी दस्तुर कति लाग्छ ? नियम के के छ ? थाहा हुँदैन । विचौलियाहरूले यसैको फाइदा उठाएर जनतालाई ठग्ने गरेका छन् । आफ्नै पिता पुर्खाका नाउँमा रहेको जग्गा नामसारी गर्दा जनताको घर खेतै सिद्धिएर बिल्लबाठ भएको उदाहरण पनि धेरै छ । बाबुको नाउँ कृष्णबहादुर हुनुपर्नेमा हरिबहादुर भएको रहेछ भने नाम सच्याउनुपर्दा कर्मचारीलाई पैसा नखुवाइ हुँदैन, हाकिमलाई खुवाउनुपर्छ । नत्र तपाइँको काम हुँदैन भनेर सेवाग्राहीसँग दलालहरूले मोटो रकम माग्ने गरेको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका, शिक्षादीक्षा नभएका विपन्न परिवारका जनताले कहाँबाट पैसा ल्याउनु ? गरिब जनता इन्तु न चिन्तुको अवस्थामा पुग्छन् । रकम जुटाउन असमर्थ भएको अवस्थाको फाइदा उठाउँदै दलालहरूले रकमको साटो किसानको जग्गै हात पार्ने गरेका छन् । जनता आफ्नै पितापुर्खाको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा नामसारी गर्दा जग्गाविहीन हुनुपर्ने अवस्थामा पुगेका छन् । कर्मचारीहरूसँग मिलेमतो गरी दलालहरूले सोझासिधा जनताको उठीबास लगाउँदै छन् ।
शासक दलहरूले यस्तै भ्रष्टाचारी र दलालहरूलाई संरक्षण गरी समाजमा गलत संस्कार भित्र्याइरहेका छन् । युवाहरूको दिमागमा पुँजीवादी विचारको बिउ रोपेर अराजकता फलाउँदै छन् । यसको विरुद्ध सम्पूर्ण नेपाली जनता सजग बन्नु जरुरी छ ।
नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापनाकालदेखि भ्रष्टाचारको विरुद्धमा सङ्घर्ष गर्दै आएको हो । भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गराएको इतिहास छ । नेपाल क्रान्तिकारी युवा सङ्घले भ्रष्टाचारविरुद्धको यो अभियानलाई निरन्तरता दिने अभिप्रायका साथ फागुन ३ गते सोमबार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर र नापी विभाग भक्तपुरमा खबरदारी कार्यक्रम ग¥यो ।
नेपाल क्रान्तिकारी युवा सङ्घको टोलीले नापी विभाग र मालपोतका प्रमुखसँग भेट गरी त्यहाँ भएका भ्रष्टाचारलाई नियन्त्रण गर्न सजग गरायो । भ्रष्टाचारविरुद्ध विभिन्न नाराहरू लेखिएको प्लेकार्डसहित नेक्रायुसङ्घको टोलीले मालपोत र नापी कार्यालयबाहिर खबरदारीसभा पनि ग¥यो । सचेत नागरिक भ्रष्टाचारविरुद्धको यो अभियानले निरन्तरता पाउने आशामा छन् । युवाहरू जागरूक भएर अगाडि बढ्नु जरुरी छ ।