१ कार्तिक, भक्तपुर
चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिन मङ्गलबार निर्धारित कार्यक्रमअनुसार लाँम्हुग टोलमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजको विविध क्षेत्रमा योगदान पु¥याउनुभएका ६ जना व्यक्तित्वलाई भादगाउँले टोपी, बेताली, दोसल्ला, सम्मानपत्र र नगदसमेत प्रदान गरी सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरूमा शैक्षिक व्यक्तित्व मोहनप्रसाद प्रजापति, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, सांस्कृतिक गुरू रत्नभक्त न्हेम्हाफुकी, सामाजिक कार्यकर्ता जगतलाल मानन्धर, सफाइकर्मी गणेशराम दुवाल, अग्रज किसान कार्यकर्ता ललितबहादुर अवाल हुनुहुन्छ ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले बहुसङ्ख्यक कामदार वर्गको पक्ष र सेवाका निम्ति लेखिने साहित्य प्रगतिशील हुने चर्चा गर्दै स्रष्टाहरूलाई समाजको हितका निम्ति लेख्न सुझाव दिनुभयो ।
सिद्धान्त र सिद्धान्तनिष्ठताले एकता र शक्ति सम्भव हुने स्पष्ट पार्दै उहाँले सिद्धान्त केही होइन, चाहिँदैन भन्नु सही होइन भन्नुभयो ।
कम्युनिस्टहरूले कामदार जनतालाई नै ‘देवता’तुल्य मान्ने बताउँदै कामदार वर्गका जनता नै देश बनाउने कर्मी हुन् भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले साहित्य रचना र वाचनमा निखार ल्याउन निरन्तर लेखनमा जोड दिनुपर्ने र साहित्य गोष्ठी गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सार्वजनिक पाटी, पौवा, मठ मन्दिर, इनार, धारा, पोखरी संरक्षण गर्नु सबै जनताको धर्म हो भन्दै नेमकिपाका कार्यकर्ताहरूले सम्पदा संरक्षणका लागि लड्दै पड्दै आफ्नो कर्तव्य पूरा गर्दै आएका छन् भन्नुभयो ।
सबैले जनताप्रति सेवाभाव राखी इमानदारीका साथ कार्य गरे ‘स्वर्ग’ यहीँ छ र हामी देशलाई नै ‘स्वर्ग’ बनाउन लाग्दै छौँ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले हरेक राजनीतिक दल वर्गीय आधार, सिद्धान्त र दर्शनको आधारमा चलेको उल्लेख गर्दै नेमकिपा कामदार वर्गको पार्टी हो भन्नुभयो ।
महँगी, भ्रष्टाचार, भारतीय एकाधिकार पुँजी र साम्राज्यवादबाट मुक्त हुन जनताको या प्रगतिशील साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा उच्च शिक्षा निःशुल्क हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कुनै पनि बेला भारतले नाकाबन्दी गर्ने खतरा भएको हुँदा सन्तुलित विकास गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्ने स्पष्ट पार्दै उहाँले ख्वप विश्वविद्यालय स्थापना नगर्ने शासकहरू शिक्षाविरोधी र प्रतिगामी भएको उल्लेख गर्नुभयो ।
साम्राज्यवादी देश अमेरिकाकै दबाब, हस्तक्षेपको कारण युद्धविराम नभएको उल्लेख गर्दै उहाँले स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने देश आतङ्ककारी तथा आक्रमणकारी हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले साम्राज्यवादी देश अमेरिकाले क्युवा र प्रजग कोरियामा अहिले पनि नाकाबन्दी गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल ऋणको लागि ऋणमा डुबेको छ । वर्तमान सरकार गरिब जनताको पक्षमा छैन ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले अव्यवस्थित बसाइ सराइका कारण काठमाडौँ उपत्यका असुरक्षित हुँदै गएको बताउनुभयो ।
देशमा विपद् व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै उहाँले सहकारीको रकम अपचलन गर्ने ठगहरूलाई पक्राउ गरी उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरेर पीडितहरूको रकम फिर्ता दिनुपर्नेमा जोड दिनुभयो ।
हालै निर्धारण गरेको खोलाको मापदण्डले धेरै सम्पदा नष्ट हुने र लाखौँ रोपनी जग्गा खेर जाने उल्लेख गर्दै उहाँले देशको सन्तुलित विकास गर्न केन्द्रीय राजधानी दाङमा सार्न आवश्यक छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले तःमुंज्या राजनीतिक, बौद्धिक र साहित्यमार्फत सचेत गराउने मञ्च हो भन्नुभयो ।
सरकारले वैज्ञानिक र व्यवहारिक वस्तीको विकास गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले जनता अझै सचेत हुुनु आवश्यक छ भन्नुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले ‘प्रतिपक्षी कलम भाग २’ मा प्रकाशित लेखहरू वर्तमान अवस्थामा पनि सान्दर्भिक लागेर पुस्तक प्रकाशित गरेको बताउँदै भक्तपुरमा भइरहेका दुई सम्मेलन सैद्धान्तिकरुपमा एक नभएसम्म सम्मेलन एक नहुने व्यावहारिक दृष्टान्त दिनुभयो ।
जलस्रोतविद् रत्न भण्डारीले शासकहरूले सात पुस्ताभन्दा बढीलाई पुग्ने गरी राज्य दोहन गरेकोमा आक्रोश व्यक्त गर्दै राजनीतिक आवरणमा माफिया भ्रष्टाचारीको बिगबिगी भएको प्रस्ट पार्नुभयो । उहाँले हालै भएको बाढी प्रकोप प्राकृतिकभन्दा बढी डोजर विकृृति जिम्मेवार छ भन्नुभयो । उहाँले अर्कै एक प्रसङ्गमा भन्नुभयो, “गोर्खा भर्तीकेन्द्रमार्फत बेलायत पुगेका नेपाली युवालाई बेलायतले सिङ्गापुर र ब्रुनाइमा बेचिरहेको छ ।”
कार्यक्रममा प्रा. डा. जटाधर झाले रूसी भाषामा ‘गोर्की’ शब्दको अर्थ ‘तीतो बोल्नु हो’ भन्ने जानकारी दिँदै रूसी, संस्कृत, अङ्ग्रेजी र नेपाली चार भाषामा आफ्नो विचार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कवितामार्फत भन्नुभयो, “गोर्की, तिमी जीवित छौ, हामी सधैँ तिम्रो साथमा छौँ ।”
डा. शम्भु पहाडीले नेपाली युवाको विदेश पलायन रोक्नैपर्नेमा जोड दिँदै देशभक्त जनशक्ति आजको आवश्यकता भएको बताउनुभयो । उहाँले दैनिक ७–८ घण्टा मस्तसित निदाउन र पानी उमालेर मात्र खान सुझाव दिनुभयो ।
डा. सरोज धितालले साहित्यमा दुई खालका पात्रहरू हुने चर्चा गर्दै छलकपटीको विरूद्ध पारदर्शी र उज्यालो उन्मुख पात्रलाई उत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले ‘मानिस र गिद्ध’ कविता वाचन गर्नुभयो ।
कवयित्री सुलोचना मानन्धरले अँध्यारोको गुनासो गर्नुभन्दा एउटा बत्ती बाल्नु जाती भन्दै प्रकृतिलाई नारीसँग दाँज्दै चे ग्वेभारासँग सम्बन्धित कविता ‘आहा जीवन’ सुनाउनुभयो ।
साहित्यकार सूर्यप्रसाद लाकोजुले राजनीतिले भाषा, साहित्य, कला, संस्कृतिले सबैलाई जोड्ने विचार व्यक्त गर्नुभयो । देशका सर्वत्र अन्धकार छाइरहेको बेला भक्तपुरले शिक्षा, स्वास्थ्य, संस्कृति, सम्पदा क्षेत्रमा उज्यालो छरिरहनु सुखद पक्ष हो भन्दै उहाँले ‘सय वर्षपछिको भक्तपुर’ सपना देखेर सङ्कल्पसहित भक्तपुर साकार पार्न लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरले वास्तविक समाजवादको बाटो देखाएको छ ।”
विद्वान् बज्रमुनि बज्राचार्यले साहित्य समाजको ऐनामात्र नभई त्यसमा मानिसको मनोविज्ञानसमेत झल्किन्छ भन्दै भन्नुभयो, “साहित्य क्रान्तिको परिपक्व हतियार हो ।”
स्त्रीरोग विशेषज्ञ डा. सानुमाया दलीले बाँझोपनबारे जानकारी गराउँदै नयाँ सीप र प्रविधिको कारण हरेक महिलाहरू बच्चा पाउन सक्षम भएको बताउनुभयो ।
वरिष्ठ चिकित्सक धनमान श्रेष्ठले स्वस्थ हुनसक्नु नै सबभन्दा ठुलो कुरा भएको धारणा राख्दै मद्यपान, धूमपान र नशालु पदार्थबाट टाढा रहन सके स्वस्थ रहने सक्ने बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यहाँको भेषभूषा, कला र संस्कृति संरक्षणमा तःमुंज्याले ऊर्जा थप्ने काम गरिरहेको उल्लेख गर्नुभयो ।
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठले क्षेत्रफलमा भक्तपुर सानो भए पनि शिक्षा, स्वास्थ्य क्षेत्रमा देशकै आशाको केन्द्र बन्दै गएको चर्चा गर्दै क्यान्सर रोगबाट बच्न व्यायाम गर्ने, सागपात धेरै र माछामासु कम खाने, वडा वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने, ९ देखि १३ वर्षका केटीहरूलाई क्यान्सरप्रतिरोधी खोप लगाउन सुझाव दिनुभयो ।
सत्यमोहन जोशीका सुपुत्र एवं अनुवादक अनुराज जोशीले भाषा साहित्यको क्षेत्रमा आफूले अनुवाद गरेर सक्दो योगदान पु¥याउँदै आएको चर्चा गर्दै नेपालभाषामा शब्दकोषको अभाव महसुस गरेको बताउनुभयो ।
कवि अभय श्रेष्ठले अन्यत्रको साहित्यिक गतिविधि कृतिसँग मात्र जोडिएको हुन्थ्यो भने यहाँ साहित्य जनतासँग जोडिएको देखिन्छ भन्दै ख्वप विश्वविद्यालय विधेयक पारित गराउन सबैतिरबाट दबाब दिनुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवं संस्कृतिप्रेमी विनोदचरण रायको सभापतित्वमा भएको सो सम्मेलनमा आयोजक उपाध्यक्ष लक्ष्मीप्रसाद चवालले स्वागत मन्तव्य, समितिका कोषाध्यक्ष नातिभाइ ह्योम्बाले आय–व्यय विवरण र सचिव सञ्जय मानन्धरले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
साहित्य सम्मेलनमा कवितातर्फ सुनिता गाईसी पहिलो, शम्भु प्रजापति दोस्रो, पल्पसा प्रजापति तेस्रो र रत्नगोपाल सिंख्वाल सान्त्वना हुनुभएको थियो भन्ने कथातर्फ जगतराम सुकमणि पहिलो, रमेश प्रजापति दोस्रो, श्रीया पहिजु तेस्रो र एलके सुन्दर सान्त्वना भएको थियो । त्यस्तै निबन्धतर्फ पुनेन्द्रप्रसाद कुसीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
साहित्य सम्मेलनपछि बेलुका सांस्कृतिक कार्यक्रम देखाएको थियो ।
तःमुंज्याको स्वागत गीत राजेश हाडाको लयमा रवि हाडा, लक्ष्मण पलिखेल र सुलोचना छ्वाजुले गाउनुभएको थियो ।
कार्यक्रममा देशका विभिन्न विज्ञ, जलस्रोतविद्, कानुनविद, चिकित्सक, मानवअधिकारकर्मी, साहित्यकार, संस्कृतिविद्, शिक्षाविद्, इतिहासकार, भाषाविद्, राजनीतिज्ञ आदि विशिष्ट व्यक्तित्वहरूको आ–आफ्नो मन्तव्य र साहित्य वाचनसहित चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या मङ्गलबार सम्पन्न भयो ।