आमा शब्द आफैमा स्वर्गानुभूत शब्द हो। आमाको प्रकार हुदैन। आमा एक अविछिन्न पुर्ण शब्द हो। आमा विना कुनै पनि जीवन वा संसारको कल्पना गर्न सकिदैन।
हरेक छोरा छोरीहरुले आमालाई बुझ्ने दृष्टिकोण फरक फरक होला तर छोरा छोरीमाथी आमामा एकै काखको माया र स्नेह हुन्छ। आमा भन्ने शब्दलाई पुर्ण गर्न सरसापटीबाट हुनै सक्दैन। अर्थात आमा एउटै हो र जसलाई जीवनभर आफुसंगै सम्हालेर राखी रहन मन लाग्छ। आमाको त्यो न्यानो काखमा सधै बसिरहँन मन लाग्छ। तर प्रकृतिको अनिवार्य खेलमा सबैले भिड्नै पर्छ । त्यही भिडमा राधाको आमालाई पाएं। अर्थात राधा भट्टराईद्वारा लिखित आमा स्मृति शोक काव्य।
राधा भट्टराईसंगको भेट कञ्चन गाउँपालिकाको कार्यालयमा भएको हो। सहायक महिला बिकास निरीक्षक भएर कञ्चनमा आएपछि कवयित्री राधा भट्टराईसंग नियमित भेट रह्यो। तर उनको आमालाई देख्नै पाइनँ। पालिकाको कुनै कार्यक्रममा सहभागी हुँदा उनको कविता सुन्ने मौका मिल्छ । म ध्यान लाएर सुन्थेँ। अर्थात म कविता प्रेमी।
राधा म्यामको आमालाई भेट्न नपाए पनि आमालाई पढ्न पाएँ। शोक काव्य, श्रद्धासुमन र तीज गीत गरी तिन खण्डमा आमालाई पुनः जन्मदिइएको रहेछ। राधाले काव्य नाम दिइएको आमामा गण तथा छन्दलाई कुनै वास्ता नगरी केवल आमाको अभावमा पीडा बोधलाई समेटेर सम्झना स्वरुप आमाको जीवन चर्चा गरिएको भनेर आफ्नो प्राकथानमा गरिएको भए पनि उनले लेखेका कविताहरुमा छन्दात्मक भेटेँ । छन्दमा लेखिएका कविता पढ्नलाई पनि आनन्द लागेर आउछ। २००३ असार २६ गते जन्मिनु भएकी राधाको आमाले २०८० असार १७ गते भौतिक रुपमा संसार छोड्नु भएको रहेछ।
पहिलो भाग अन्तर्गत शोक काव्यका ६ वटा काव्य कविताको पहिलो कवितामै आमालाई शब्दबाट मात्र वर्णन गरेर सकिन्न तर मन भुलाउन आमाको अभावमा पीडाभावमात्र पोखेको भनेर कवयित्री राधा भट्टराइले यसरी वर्णन गरेका छन।
जीवन गाथा गाई सकिन्न यहाँ, केवल पीडा पोखियो,
धोको बाँचनको पुगेन कि, जीवनमा रहर बहुतै थियो,
निको नहुने घा लाग्यो दिलमा, बल्झिन्छ घरी घरी,
हरेक चिज मिल्ला तर अव आमा पाइर्दन कसैगरी।
कवितामा आमा प्रतिको माया र आमाको अभावमा अल्झिएका हरेक स्नेहहरुलाई बटुल्ने प्रयास गरिएको छ। कविताका हरेक अनुच्छेदहरुमा आमाका तस्बिरहरु टाँसिदै टाँसिदै आएका छन। आमा विनाका अनुच्छेदहरु प्राय शुन्य सावित भएका छन।
छन् दुःखी परिवार किन्तु घरमा, चिसा परेला मुनि,
आँशुमा अव चिप्लियो कलम यो, के लेखुँ मुक बनी,
त्यो आँशु जीवन गुमाई कसरी झुटो कथा यो भनुँ?
बैरीलाई समेत लेख्न नपरोस, यस्ता कहानीहरु...।
जीवनका हरेक मोडहरुमा शत्रु र मित्र दुबै हुन्छन। जसरी आफुले सुख भोग गरिएको छ त्यसरी अरुले पनि सुख प्राप्ती गर्न सकुन तर आफुलाई जस्तो पीडा शत्रुलाई समेत नपरोस भन्ने मानवीय सोंचलाई कवयित्री राधाले कविता मार्फत व्यक्त गर्न सक्नु आफैमा महानता हो । आमा बितेको पीडामा कविता मार्फत जुन धैर्यता कायम गरेका छन सायद कमैमा त्यो हिम्मत हुन्छ।
मुटु गाँठो पारी ठोकी हृदयलाई, हेर्यौं आमा जलेको,
सहे हौ कसरी जन्मदाता तिमी, दन्दनी बलेको,
सतहत्तर बर्ष चलेको जीवन, केही घण्टामै सकियो,
गरेका दुःख सत्कर्म र ममता, सबै यही रोकियो।
शोक काव्यको गुणले परिपक्व राधाका कविताहरुमा एक पटक नजर लगाएपछि सायदै कमै अनुच्छेदहरुले अड्याउछन। तर कवितामा कवियत्री राधाको साहित्यिक श्रृजनशिलता आमाको अभावले मात्र एक्कककासी उत्रिएको हो जस्तो लाग्दैन। नियमित कविता लेख्ने कवि हुन। जहाँ रवि पुगेन त्यहाँ आफैलाई पुर्याएर कविको दर्जमा उतार्न सफल भएको यसै शोक काव्यबाट प्रस्टिएको छ। एउटा सत्य कथा म लेख्छु शिर्षकको शोक कवितामा आमाले परिवार र सन्तानलाई हुर्काउदा भोगेको हरेक कष्टहरुलाई आमाको जीवन साभार गरेर स्वयमले भोग्दाको हरेक पक्षहरुलाई उतार्न सक्नु सामान्य कलाले भ्याउदैन सायद। सोही क्षमता कवियत्रीले आमाको शोक काव्यमा उतार्न सफल भएका छन।
सन्तान बढाई पढाई दुःखले, सक्यौ बिहेवारी नि,
चर्चा चल्यो गाँ शशहरमा, असल गृहिणी भनी,
नाति नातिना समेत भरिए घरमा। सधै खुशी देखियौ
स्याहार सुसार गरेर सबको कर्तब्यमा भेटियौ।
कहँनु कसरी सहँनु कसरी यो काव्य भित्रको एक शिर्षक हो। शिर्षकबाटै कवयित्रीको श्रृजनशिलता अझ प्रष्टिएको छ। आमाको पार्थिव शरीरलाई आगोले दनदनी जलाईरहँदा कुन सन्तानको मुटु भक्कानीदैन? यद्यपी कवयित्री राधाले आमा जल्दै गर्दा आमाका हरेक माया, स्नेह र कोमल हातहरुले सुमसुमाएका न्यानो स्पर्श समेत जलेको देखे पछिको पीडा यसरी व्यक्त गर्ने साहस बटुलेका छन।
हे दैव!निष्ठुरी ! किन चुडि लगिस, पारेर बज्रपात,
टुहुरा बनाईस् आमा नभएका, गरिस् नि अन्तरघात,
ज्यूनु शिवाय रहेन नि अरु क्यै सन्ततीलाई हेरी,
बस्नैको मन हुन्छ एकान्त बासमा रोएरै धोके फेरि।
२८ वटा अनुच्छेद रहेको कविताका सबै हरफहरुले आमाको माया के हो? आमा अभावमा सन्तानले कस्तो पीडाको महसुस गर्नसक्छन भन्ने भावहरुलाई निकै सरल रुपमा प्रस्तुत गरिएको छ।
अरुका आमाहरु देख्दा पनि मुटु, भरिएर आँउछ,
डालीमा बसी कोइली वि।हमा, उनकै गीत गाँउछ,
बिसिन्थेँ भएका सबै दुःखहरु, ती हातले सुमसुमाउँदा,
भेट्नलाई भनी फर्किएर पुग्थे घरको काम भ्याउँदा ।
"कुन दिन होला बिर्सनी" शिर्षकमा लेखिएको कविता पढेपछि आँशु अडिनै सकेन। टप्प चुहियो। शोक काव्यको यो अनुच्छेदले मसंगै मेरो आमा भएको भएपनि एकै छिन साथमा आमा नहुँदा तडपिएको मन कवियत्रीको मनसंगै बहकियो। कवयित्रीमा भएको यो श्रृजनशिल क्षमता हो।
काव्यमा "आमा बिनाको घर", "मनकथा" र "आमा स्मृति पाठ सम्बोधन" शिर्षकमा लेखिएका कविताहरुले पनि घरि घरि मुटु भक्कानिन्छ। कविताहरु आफसेआफ सलल बगेका छन। बगाउन जवरजस्ती कुलो बनाउनु पर्दैन। भावहरु सबै एकोहोरो पनि लाग्दैन। हरेक घटनाहरुमा आमाका स्मृतिहरु र आमाले दिएको साथहरुको याद झल्किरहन्छ।
एक पटक राधाको आमालाई पढ्नै पर्ने काव्य तयार भएको छ। एक निजामती कर्मचारी भएर पनि साहित्य श्रृजनाको अद्भूत श्रृजनशिलतालाई यस काव्यले परिपक्वता दिने प्रयास गरेको छ।
काव्यको दोश्रो भागमा आमाको मृत्यु पछि आफन्तहरुद्वारा व्यक्त गरिएका श्रद्धासुमनहरु समावेश गरिएका छन। यसरी छोरा, छोरी, ज्वाईँ, नाति नातिनाहरुद्वारा व्यक्त गरिएका श्रद्धा सुमनहरुलाई काव्यमा समावेस गर्नु आफैमा अभिलेखिकरण हो। यस कार्यले पुस्तान्तरण गराउँनमा मद्दत गर्छ।
काव्यको तेश्रो भागमा आमाको स्मृतिमा लेखिएका तीज गीतहरुलाई समावेश गरिएको छ। तीज छोरी चेलीहरुको महान पवै हो। जव तीज आउँछ तव छोरी चेलीहरुले गीत मार्फत वेदना पोख्ने अनि बर्षभरीका दुःखहरुलाई माइती आएर आमाको काखमा बिसाउँछन। जति नै दःख कष्ट परेपनि ती सबै सहेर बर्ष दिनमा आउने तीजमा माइतीले लिन आएपछि चेलीहरुले सुखानुभूत गर्छन।
सोही सन्दर्भलाई जोडेर कवयित्री राधाले माइतीको आँगनमा बसेर गाइने तीज गीतलाई आमाको स्मृतिमा यसरी वर्णन गरेका छन।
तीन पटक खानु पर्छ तीजको दर भनेर,
नाच्दै गाउँदै खादैँ गर्थिम मीठो मानेर।
आमाका हातले दर बाबाको साथमा बसेर
दुई दिन तीजमा माइती जाँदा बस्थ्यौं हाँसेर,
शोक काव्यका प्रणेताको रुपमा स्थापित राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई समेत समर्पण गरिएको राधाको आमा शोक काव्यले आमा र बाबालाई देवताका पनि देवताको रुपमा हेरिनु र बुझ्नु पर्ने सन्देश प्रवाह गर्न सफल भएको छ। अर्घाखाँची जन्म र कर्मघर भएका कवयित्रीको हाल रुपन्देहीको सैनामैना २ स्थित सरौलीमा बसाई छ। आमा नम्रताका ७ छोरी मध्ये वहाँ छैठौं अर्थात थाइँली छोरी हुन। छन्द कविता लेखन र प्रस्तुतीमा रुची राख्ने राधा भट्टराईले नेपाली बिषयमा स्नातकोत्तर गरेका छन।
राधाको आमा पढ्ने अवसर पाएकोमा राधा भट्टराई म्यामलाई साधुवाद। राधाको आमालाई काव्यको रुपमा पुर्णत दिन सहयोग गर्नुहुने कवियत्रीका श्रीमान कृष्ण प्रसाद आचार्यलाई अझ धेरै अभर व्यक्त गर्दछु।