१ भदौ, बुटवल
साउन ३२ लाई आफ्नो मातृभाषा दमन भएको कालो दिनका रुपमा आदीवासी जनजातीहरुले स्मरण गर्दै आएका छन। बि.स. १९७८ साउन ३२ गतेका दिन राणा प्रधानमन्त्री श्री ३ चन्द्रसमशेर जंगबहादुर राणाले नेपालभित्र एउटामात्र भाषा बोल्नुपर्ने उर्दि जारी गरी आदीवासी जनजातीहरुलाई उनिहरुको भाषालाई बोलचालमा प्रतिवन्ध लगाएका थिए। सोही दिनलाई मातृभाषा माथी दमन भएको स्मरण गर्दै बुटवलमा कविता वाचन गरिएको छ।
मातृभाषा जागरण गर्ने उदेश्यका साथ साउन ३२ गते शुक्रबार बुटवलमा मातृभाषामा कविता बाचन गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बीरकट्टा मगरले नेपालका आदिवासी जनजातिले आदिमकालदेखि बोल्दै आएको मातृभाषालाई बन्देज लगाएको दिनलाई मातृभाषा जागरण अभियानका रुपमा मनाउन थालिएको बताउनु भयो ।
बुटवलस्थित अमर भवनमा भएको कार्यक्रममा ७ जना आदिवासी जनजातिहरूले आ–आफ्नो मातृभाषामा लेखिएका कविता बाचन गरेका थिए । थारु भाषाका आदिकवि बम बहादुर थारु, कवि बलवान थारु, नेवार भाषाका कवि लक्ष्मी श्रेष्ठ, तामाङ्ग भाषाका कबि दीलमाया थिङ्ग, मगरभाषाका कवि अकृति थापा मगर तथा चित्र सुनारी मगर, गुरुङ्ग भाषाका कवि भिम गुरुङ्ग लगायतले कविता प्रस्तुत गर्दै कविता मार्फत भाषा र लिपि सम्पति भएको हुदा यसको संरक्षणलाई जोड दिनुपर्ने बताएका थिए ।
नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले कार्यक्रमको अध्यक्षता गर्दै रुपन्देहीमा आदीबासी जनजातीहरु फुट्ने भन्दा पनि एकजुट भएर आफनो भाषा, संस्कृति जर्गेना गरी नयाँ पुस्तालाई पुस्तान्तरण गर्न जरुरी रहेको बताउनु भयो ।
आफ्नो भाषा, कला संस्कृति र साहित्यको संरक्षण र सम्बद्र्धन अरुबाट होला भनेर बस्यौं भने संरक्षणको पर्खाईमा रहेको हाम्रो भाषा एक दिन दन्त्य कथा बन्ने उल्लेख गर्दै अध्यक्ष थापा मगरले आफ्नो कथा आफै लेखौं भन्ने नाराका साथ नेपाल मगर महिला संघ रुपन्देहीले प्रथम मगर साहित्य महोत्सव गर्न लागेको र महोत्सवलाई मातृभाषा जागरण अभियानको शिलशिलाको रुप भएको प्रष्ट्याउनु भयो।
कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रीय संगठन सचिव चन्दा थापा, नेपाल मगर महिला संघ, लुम्बिनी प्रदेशका अध्यक्ष केशरी तरामू, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष अन बहादुर थापा, रूपन्देही उपाध्यक्ष थर्क बारघरे, युवा संघ, रूपन्देहीका अध्यक्ष हेमन्त थापा मगर, नेवाः पुचका सल्लाहकार तिलक प्रसाद श्रेष्ठ, थारु कल्याणकारिणी सभाका अध्यक्ष कमल प्रसाद चौधरी, नेपाल मगर महिला संघ, रूपन्देहीका सचिव खिम कुमारी थापा मगरले संगठित भएर काम गर्दा प्रतिफल प्राप्त हुने भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रम संयोजक नेपाल मगर महिला संघ, रूपन्देहीका उपाध्यक्ष सरिता थापा मगरले हरेक बर्षको साउन ३२ गते आदीवासी जनजातीको भाषालाई निर्मुल पार्ने उद्धेश्यका साथ चन्द्र शमसेरले देशमा एकै भाषा बोल्नु पर्ने उर्दी जारी गरेको त्यसैको परिणाम आजका नयाँ पुस्तामा प्रभाव परेकै कारण आफ्नो भाषा बोल्नबाट बञ्चित हुनु परेको बताउनु भयो।