३० साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आफनो पालिकाको स्वास्थ्यतर्फको आ.व. २०८०/०८१ को बार्षिक कार्य योजना गोष्ठी गरेको छ। पालिकाको सभाहलमा भएको कार्यक्रममा पाँचवटै वडामा भएका स्वास्थ्य चौकीका इन्चार्जहरुले स्वास्थ्यचौकीको बार्षिक कार्य समिक्षा तथा योजना प्रस्तुत गरेका थिए।
पालिकाको स्वास्थ्यतर्फको बार्षिक समिक्षा र कार्ययोजनाबारे टिप्पणी गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकालाई स्वास्थ्यका हरेक इन्डिकेटरहरुमा अन्य स्थानीय तहरुभन्दा अव्वलता कायम गर्न स्वास्थ्यर्की, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका, साझेदार संघसंस्था, वडा कार्यलय र सरोकारवालाहरुको भूमिकालाई अझ व्यबस्थित र मजबुद बनाउदै लैजान आग्रह गर्नु भयो। पालिकाको स्वास्थ्य शाखाको समन्वय र सहजिकरणमा संचालन भएका स्वास्थ्य चौकी, गाउँघरे क्लिनिक, खोपकेन्द्र र स्वास्थ्य सम्बन्धी संचालन गरिएका कार्यक्रमहरु अझ प्रभावकारी बनाएर पालिकालाई जिल्लामै पहिलो स्थानमा पुर्याउन सबैपक्षको मेहनत र सक्रियता अनिवार्य रहने अध्यक्ष ढकालले उल्लेख गर्नु भयो।
यसैगरी जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख गौरव ढकालले स्वास्थ्यका आधारभूत समिक्षा वडातहमा रहेका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यचौकीको ब्यबस्थापन समिति, साझेदार संस्थाहरुसंग समिक्षा गर्दै वडातहमा देखिएका समस्या र त्रुटीहरुलाई समधान गरेर पालिका स्तरिय समिक्षा कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गर्न सकेमात्र पालिकाको स्वास्थ्य अवस्थाबारे थाहा हुने र सोही आधारमा पालिकाले जिल्लामा प्रस्तुत गरेमात्र पालिकाको तथ्यांक स्पष्ट हुने बताउनु भयो। पालिकाको स्वास्थ्य अवस्थालाई सुक्ष्म ढंगले केलाएर तयार गरिने यथार्थ तथ्यांकले आगामी बर्षहरुमा पालिकाले स्वास्थ्यतर्फ बार्षिक कार्ययोजना तयार गर्न समेत सहयोग पुर्याउने जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख ढकालले बताउनु भयो।
कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले समुदायको स्वास्थ्य अवस्थाबारे सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको भूमिका महत्वपुर्ण हुने भएकोले पालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन समुदाय स्तरमा स्वास्थ्य शिक्षा पुर्याउने स्वयम सेविकाहरुको कार्यक्षमताको बिकासमा लगानी गर्न आवस्यक रहेको बताउनु भयो। स्वास्थ्य अवस्थाका हरेक इन्डिकेटरहरुबारे समय समयमा पुनरावलोकन गर्न सकियो भने पालिकाले आगामी बर्षमा के कस्ता कार्ययोजना तयार गर्दा पालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिन्छ भन्नेबारे प्राथमिकरण हुने उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यस्तै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले पालिकाको स्वास्थ्यमा अन्य स्थानीय तहरुको भन्दा राम्रो अवस्था बनाउन लक्षित कार्यक्रमहरु संगसंगै नागरिकसंग जोडिएका स्वास्थ्य सम्बन्धी समस्याहरुको पहचिान र त्यसको निराकरण गर्न सकियो भने तोकिएका इण्डिकेटरहरु पुरा गर्न हसज हुने बताउनु भयो। लक्षित कार्यक्रमहरुमा मात्र ध्यान दिँदा अनुमान नगरिएका अन्य पक्षहरुले पालिकाको स्वास्थ्य अवस्थामा प्रतिकुल प्रभाव पार्न सक्नेतर्फ पनि ध्यान दिएर कञ्चनको स्वास्थ्य सेवालाई नागरिकहरुको पहुँचमा पुर्याउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत गौतमले जोड दिनु भयो।
कार्यक्रममा गजेडी स्वास्थ्यचौकीका इन्चार्ज गिताराम रिजाल, रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्मा, आधारभूत स्वास्थ्य केन्द्र, कञ्चन ५ का देवि सुनार, आधारभूत स्वास्थ्य केन्द्र, कञ्चन ३ का मनिषा बुढाथोकी र आधारभूत स्वास्थ्य केन्द्र, कञ्चन १ का मिना थापाले वडागत रुपमा भएका स्वास्थ्यतर्फको खोप, आमा सुरक्षा कार्यक्रम, पोषण, क्षयरोग, कुष्ठरोग, मानसिक स्वास्थ्य समस्या लगायत बिषयमा बार्षिक प्रतिवेदन सहित कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो।
यस्तै कञ्चन गाउँपालिकाका संचालित साझेदार संस्था सुनगाभा सामुदायिक बिकास केन्द्रका अमृत थापा, इन्द्रेणी ग्रामिण बिकास केन्द्रका निमा काउचा, सेतो गुराँस बाल बिकासका मुना कुवँर, किड्सका मिना थापा मगरले कञ्चनमा संचालन भएका स्वास्थ्य सम्बन्धी संस्थागत बार्षिक प्रतिवेदन सहित कार्ययोजना प्रस्तुत गर्नु भएको थियो।
स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य चौकीका इन्चार्ज, स्वास्थ्यकर्मी, बिभिन्न साझोदार संस्थाका प्रीतनीधिहरुलाई सम्मान गरिएको उक्त गोष्ठीमा वढा नं. १ का वडा अध्यक्ष हरिनारयण थारुले स्वास्थ्य भन्दा ठूलो अरु कुनै आवस्यकता ठूलो नहुने भन्दै कञ्चनको स्वस्थ्य सेवामा समर्पित सम्पुर्ण स्वास्थयकर्मीहरुलाई धन्यबाद दिनु भएको थियो। वडा अध्यक्ष थारुले कार्यक्रमको समापन गर्दै ब्यक्ती स्वस्थ भयो भनेमात्र उसले समाजलाई सही मार्गनिर्देश गर्ने भएकोले पालिकाको हरेक स्वास्थ्यका इण्डिकेटरहरुलाई शतप्रतिशत बनाउन सबैले जिम्मेवार भई लाग्नुको बिकल्प नरहेको बताउनु भयो।
कञ्चन गाउापालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले गोष्ठीको सहजिकरण गर्दै कञ्चनले स्वास्थ्यका हरेक इण्डिकेटरहरुलाई अधिक्तम पुरा गर्दै आइरहेको सम्भवतः जिल्लामै उत्कृष्ट स्थानीय तह बन्ने प्रयत्न भइरहेको बताउनु भयो। कञ्चनको स्वास्थ्य सेवालाई कञ्चनवासीको पहुँचमा पुर्याउन, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, जनप्रतिनीधि, सरोकारवालाहरुको भूमिका महत्वपुर्ण रहेको स्मरण गर्दै राम्रो काम गर्नेलाई पालिकाले सदैव सम्मान गर्ने बताउनु भयो।