२६ साउन, कञ्चन
नेवाः देय दबू तथा निसा दबू संस्था, कञ्चनको आयोजनामा रुपन्देहीको कञ्चनमा लाखे नाच प्रदर्शन गरिएको छ। नेवा समुदायमा प्रचलित लाखे नाच प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ ।
यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा प्रदर्शन गरिदै आएपनि पछिल्लो समय नेवार समुदाय बसोबास गरेका स्थानहरुमा पनि यो नाच प्रदर्शन गदिै आएको छ। कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ।
भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । नेवार समुदायले गाऊ घर, टोलमा रोगब्याधीहरु बाट छुत्कारा पाउन भनेर गथामुगको भोलिको दिनबाट लाखेको नाच निकाल्दै आएका छन।
सोही क्रममा रुपन्देहीको कञ्चनमा पनि हिजो नाग पञ्चमीमा नेवार समुदायले लाखे नाच प्रदर्शन गरेका हुन। यो नाचमा विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ ।
लाखे नाच प्रदर्शनको सन्दर्भमा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, नेपाल आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीको अध्यक्ष तथा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलचान, कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नाम बहादुर के.सी., तुल्सीघाट शवदहन बिकास समितिका अध्यक्ष गेम बहादुर थापा लगायतले लाखे नाच र यसको संरक्षण र सम्बर्द्धनमा स्थानीय तह र सरोकारवाला अगुवाहरुको महत्वपुर्ण भुमिका र सहकार्य अनिवार्य हुनुपर्ने बिषयमा जोड दिएका थिए।
कञ्चन ३ स्थित हरैया बजारमा भएको लाखे नाच प्रदर्शनीमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो। बिशेषतःलाखे नाचको क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ्र ।
नेवारको जात र स्थाननुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरिन्छ । साधारण लाखे नाच जुनसुकै बेलामा पनि देखाउने भए पनि मजिपाः लाखे नाच भने इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ ।
अरु बेला यो लाखे प्रदर्शन गरिदैन । साधारण लाखे नाच नेपालमा उपत्यका बाहेक नेवार जातिको बसोवास भएको ठाउँ पनि देखाइने भएकोले लाखे नाच हेर्नको लागि ग्रामीण पर्यटक समेत जम्मा हुने र लाखे नाच हेर्ने प्रचलन पछिल्लो समयमा कञ्चनमा समेत बिकास हुदै गएको छ।
कार्यक्रम नेवाःदेय दबू, कञ्चनका अध्यक्ष क्याप्टेन बिष्णु नारायण श्रेष्ठको अध्यक्षता तथा कापिला श्रेष्ठको संचालनमा भएको थियो भने स्वागत अशोक श्रेष्ठले गर्नु भएको थियो।