२१ साउन, लुम्बिनी/दिनेश प्रसाद लोध
स्थानीयले सुशासन र पारदर्शिताको माग गर्दै चौतर्फी बिरोध र कार्यालयमा तालाबन्दी गरिरहदा लुम्बिनी विकास कोषले लुम्बिनी साँस्कृति नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । कोषका पदाधिकारी सहित नगरपालिकाका उपप्रमुख, वडाअध्यक्षहरु, विभिन्न विहारका प्रतिनिधि र बौद्ध भिक्षुहरु सहितको उपस्थितीमा उक्त छलफल भएको हो ।
छलफलका क्रममा बुद्धजन्मस्थल लुम्बिनी पुरातात्विक, धार्मिक तथा साँस्कृतिक हिसाबले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा लम्बिनीवासी, स्थानीय सरकार र लुम्बिनी बिकास कोषविच सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले लुम्बिनीको विकास र संरक्षण कोषको एक्लो प्रयासले मात्रै नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाहरुको साथ र सहयोग आवश्यक हुने बताए । उनले कोषको वर्तमान पदाधिकारीहरु स्थानीयहरुको सवालमा संववेदनशिल रहेको बताउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरुको थलोको रुपमा विकास गर्नुपर्ने बताए । लुम्बिनीमा लुम्बिनी बचाउ महाअभियानको मागमा कोषको नियम र विधिले मिल्नेसम्मका बुँदाहरुमा सकरात्मक रहेको तर मागहरु लुम्बिनी अशान्त छ भन्ने सन्देश दिने गरी नगर्न समेत उनले आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनीलाई साँच्चिकै विश्व शान्ति स्थलका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
सो अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी बिकास कोषले स्थानीयबासी र स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याई गरेको भन्दै अब सहकार्य गरेर स्थानीयहरुको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिइन । लुम्बिनी बचाउ महाअभियानले मागेको सूचना तत्काल उपलब्ध गराइ वार्ताका माध्ययमबाट लुम्बिनीमा शान्ति, सुशासन र पारदर्शिता कायम गराउन उनले आग्रह गरिन ।
उपप्रमुख हरिजनले गुरुयोजन बिपरीत निर्माण भएका संरचनाहरुका नक्शापासको प्रकृयाबारे जिज्ञासा राख्दै उनले मायादेबी सुत्केरीमार्गलाइ ब्यवथित रुपले सौन्दर्यकरण गरि संचालनमा ल्याउनुपर्नेमा जोड दिदैस्थानीयलाइ ग्राहयता दिनुपर्ने बताइन । उत्खननका समयमा मायादेबी मन्दिर भित्र फेला परेका मूर्तिहरु सार्बजनिक गर्न आग्रह गर्दै भनिन, ‘लुम्बिनीको बेथिती र भ्रष्टाचारको जिम्मा यहाँका पदाधिकारी र कर्मचारीले लिनैपर्छ ।’
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचिकृत भएको स्थल र विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँको बिषयमा सबैपक्ष संवेदनशिल हुनुपर्नेमा जोड दिए । उनले यूनेस्कोले खतराको सूचीमा नराख्ने निर्णय भएपनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयहरुले समेत साथ सहयोग गर्नुपर्ने बताए । लुम्बिनीभित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदुषण, प्रोफ्रेसर क्वाकले भनेको शान्ति सहर जस्ता बिषयमा समेत प्रश्न उठेकाले यस बिषयमा संघ, प्रदेश र स्थानीय सरकारले समेत चासो र सहकार्य गर्नुपर्ने उनले बताए ।
छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाध्यक्षहरुले लुम्बिनी साँस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरे । वडा नं. १०का वडाध्यक्ष बिनोद कहार र वडा नं. ९का वडाध्यक्ष अख्तर हुसेनले स्थानीयलाइ बेवास्ता गरेर लुम्बिनी नबन्ने भएकाले आन्दोलनरत लुम्बिनी बचाउ महाअभियानसंग तत्काल वार्ता गरि समस्या समाधान गर्नुपर्ने बताए ।
सो अवसरमा विहारहरुका प्रतिनिधिहरुले आफुहरुले धर्मशाला सञ्चालन गरिरहेपनि होटलका रुपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीहरुले गुनासो गरेकोमा दुःख व्यक्त गरेका थिए । उनीहरुले धर्मशालामा आउनेहरु धार्मिक तीर्थयात्रीहरु रहेको भन्दै त्यस्ता बिषयले धार्मिक तीर्थयात्रीहरु लुम्बिनी आउनेक्रम घट्न सक्नेतर्फ सजग गराएका थिए ।
छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, विहारका प्रतिनिधिहरुले समेत बोलेका थिए । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, शसस्त्र प्रहरी बलका प्रतिनीधि, कोषका विभागिय प्रमुखहरु, विहारका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।