१८ साउन, कञ्चन
रुपन्देहीको कञ्चनमा डेँगु रोग नियन्त्रण तथा रोकथामका लागि कञ्चनका जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, बिभिन्न साझेदार संस्था, स्थानीय संचारकर्मी र सरोकारवालाहरुको अभिमुखिकरणात्मक बहुक्षेत्रीय समन्वय बैठक सम्पन्न भएको छ।
डेँगु रोग नियन्त्रण तथा रोकथामका लागि भएको अभिमुखीकरण कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले एडिस जातको पोथी लामखुट्टेले दिउँसको समयमा टोकेपछि लाग्ने भएकोले लामखुट्टे बस्ने बासस्थान नस्ट गर्नु पर्ने बताउनु भयो। डेँगु लागेपछि एक्कासी ज्वरो आउने, कपाल दुख्ने, आँखाको गेडी दुख्ने, शरिरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने गौतमले जानकारी दिनु भएको छ।
डेँगी प्रकोप रोकथाम र नियन्त्रण सम्बन्धमा समाधानका उपायबारे जानकारी दिदै स्वास्थ्य प्रमुख गौतमले एउटा लामखुट्टेको जीवनकाल करिव ३० दिनको हुने र एउटा लामखुट्टेले आफ्नो जीवनभर सात पटक सम्म गरी करिब ८०० वटा सम्म अण्डा पार्ने भएको उक्त लामखुट्टे बासस्थानहरु घर वरीपरीको सफाई अनिवार्य गर्नु पर्ने बताउनु भयो। बिशेषगरी संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित हुने र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्ने भएकोले लामखुट्टेले सामान्यत उज्यालोमा टोक्ने पछि डेँगु रोगको संक्रमण हुने गौतमले बताउनु भयो।
यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालययका प्रमुख गौरव ढकालले डेँगु रोग लाग्ने कुनै निश्चित समय नभएको तर बढी बर्षाको समयमा पानी जम्ने भएकोले पानी जम्ने पोखरी, गमला, मोटरमा टायर, भाँडा माझ्ने ठाउँ लगायत स्थानहरुको सफाईलाई बढी प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो।
यसैगरी कार्यक्रमका अध्यक्ष तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकालाई पुर्ण स्वस्थ पालिका बनाउने योजना भएकोले पालिकामा डेँगु रोग रोकथाम र नियन्त्रणमा सरोकारवाला सबैको भुमिका अझ प्रभावकारी र सशक्त हुनु पर्ने बताउनु भयो।
डेँगु रोग नियन्त्रण र रोकथामका लागि बहुक्षेत्रीय समन्वय, नियमित खोज तथा नष्ट गर्ने अभियान सामुदायिक जनसहभागीता र बानी व्यहोरा परिवर्तन, पर्याप्त निदान तथा उपचार स्वास्थ्य सामाग्रीको उपलब्धता उपचारका लागि अस्पतालको पूर्व तयारी र तत्परता र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्बि जस्ता कार्यक्रमहरु स्थानीय तहका हरेक टोलहरुमा संचालन गर्नु पर्नेमा स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख ढकालले बताउनु भयो।
कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा रुपन्देही लगायत थप ४ जिल्ला डेँगु रोग अति प्रभावित क्षेत्र भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो। अभिमुखीकरण कार्यक्रम पछि कार्यक्रममा सहभागीहरुले गाउपालिका वरीपरी भएको फोहोर तथा झाडी सफाई र पानी जमेका स्थलहरुलाई पुर्ने तथा सफा गरेका थिए।