१५ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाका चेलिका भूजेलले आफ्नो बुवाको ८४ औं जन्मोत्सवको सन्दर्भमा कञ्चनका सामुदायिक बिद्यालयहरुमा महाविर पुनद्वारा लिखित सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक प्रदान गर्नु भएको छ।
पठन संस्कृतिको बिकास गर्न र चौरासी पुजा गर्नु भन्दा विद्यार्थीहरुमा पनि महाविर पुनमा जस्तै धैर्यता, सहनशिलत र निरन्तर संघर्ष गर्नु पर्छ भन्ने सन्देश लिन सकुन भन्ने उद्धेश्यका साथ विद्यालयहरुमा सो पुस्तक प्रदान गर्नु भएको हो।
चौरासी पुजा गरेर भन्दा विद्यार्थीहरुलाई निरन्तर संघर्ष नै सफलताको सुत्र हो भन्ने सन्देश दिएर महान ब्यक्ती बनाउनमा उत्प्रेरणा प्रदान गर्न सके अझ धेरै पुण्य हुने बिश्वासका साथ पुस्तक प्रदान गरिएको चेलिका भूजेलले बताउनु भयो।
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनको जिवनीमा आधारित महाविर पुनद्वारा लिखित पुस्तक कञ्चनका १९ वटा सामुदायिक विद्यालयहरुमा भुजेलले एक सय भन्दाबढी पुस्तक बिद्यालयमै पुगेर प्रदान गर्नु भयो ।
भूजेलले गत जेठमा महाविर पुनको पुस्तक बिक्री अभियानको क्रममा १ लाख रुपैया बराबरको १३५ थान पुस्तक किन्नु भएको थियो। वहाँले हरैया बहुमखी क्याम्पस र पाल्पाका बिभिन्न स्थानहरुमा समेत बुवाको ८४ औं जन्मोत्सवको अवसरमा पुस्तक प्रदान गर्नु भएको थियो।
भूजेलका बुवा गोपालसिं पुन मगर भारतिय भूतपुर्व सैनिक भएपनि सामाजिक र राजनैतिक चेत भएका ब्यक्ती हुनुहुन्छ । भारतिय सेनाबाट अवकास पछि पुनले सामाज रुपान्तरणको अभियानमा निरन्तर लागेका थिए। अहिले उमेरले ८४ बर्षको दैलो टेकिरहनु भएको छ । शारीरिक रुपमा बृद्ध र अशक्त भएपछि वहाँको काँधको जिम्मेवारी छोरी चेलिकाले लिनु भएको छ ।