अनुसा थापा
सर्वसाधारण प्रश्न गर्छन्,‘नागरिक समाज, विद्यार्थी संगठनका नेता, सामाजिक अभियन्ताहरु कुन दुलोमा लुके ?’ हुन त नागरिक समाज, विद्यार्थी संगठनका नेता र सामाजिक अभियन्ता राजनीतिक दलकै झोले हुन् । आफ्नो पार्टीका नेताको विरोधमा यिनीहरुले चुइक्क आवाज निकाल्न सक्दैनन् ।
व्यापारीहरुको ठगीधन्दा, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने दम यिनीहरुमा छैन् । नेताहरुले देश बेचिसकें । धमाधम विदेशीबाट पैसा ल्याएर नेताहरुले मोजमस्ती गरिरहेका छन् । यता, महँगीले जनताको ढाड सेकिएको छ । तर, नागरिक समाज, विद्यार्थी संगठनका नेता र सामाजिक अभियन्ता भनाउँदाहरु कता छन् ? कुनै अत्तोपत्तो छैन् ।
देश धितो राखेर नेताहरुले झण्डै २५ खर्ब रुपैयाँ विदेशीबाट ल्याइसकेका छन् । ल्याउने क्रम जारी नै छ । २०४६ सालभन्दा अगाडि सरकारले कुनै सामानमा एक रुपैयाँ मात्र बढायो भने पनि यहाँ चर्को आन्दोलन हुन्थ्यो । नागरिक समाज, विद्यार्थी संगठन र सामाजिक अभियन्ताहरु सडकमा आउथें ।
टायर बाल्थें, विरोध जनाउथें । बढेको मँहगी फिर्ता लिन सरकारलाई बाध्य बनाएरै छाड्थें । तर, अहिले त सबै राजनीतिक दलका झोले भए । त्यसैले त राजनीतिक दलले देश बेच्न लागिसक्दासमेत खबरदारी नगरेका हुन् । जनताले दुईटा कुराको खोजी कहिल्यै गरेनन् । पहिलोः आफूले तिरेको कर कहाँ गयो ?
दोस्रोः विदेशीबाट ल्याएको खर्बौं रुपैयाँको के गरियो ? नेताले जेसुक गरेपनि जनता मौन बस्छन् । जसको फाइदा नेताहरुले उठाएका हुन् । हुन त जनता पनि आफ्नो व्यक्तिगत स्वार्थमा रमाएका छन् । कसैलाई छोराछोरीको सरकारी जागिरका लागि नेताहरुको लबिङ्ग गर्दै ठिक्क छ ।
कोही राजनीतिक पार्टीको झोले बन्न पाउँदा मख्ख छन् । कसैलाई आफ्नो सन्तान विदेश पठाएर व्याकग्राउण्ड बनाउनु छ । देशको बारेमा कोही सोच्दै सोचेन् । देश तहसनहस पारेपछि श्रीलंकाका जनता केही वर्षअगाडि सडकमा आए । राजनीतिक दलहरु नै भाग्नुपर्यो । बंगलादेशमा हालैमात्र पनि सरकारको निर्णयको चर्को विरोध भयो ।
सो निर्णय त्यहाँको सर्वोच्च अदालतले बदर गरिदियो । जनतामा कति दम हुन्छ ? जनता कति शक्तिशाली हुन्छन् ? भन्ने त यी दुई घटनाले देखाउँछ । तर, यहाँ त जनताले नै नेतालाई खुल्ला छोडिदिएका छन् । जे गर्न मनलाग्छ त्यही गर भनेपछि नेताहरुको हौसला बढिहाल्छ नि ।
राजनीतिक दलले २००७, २०३६, २०४६ र २०६२–६३ सालमा आन्दोलन गरे । त्यतिबेला राजनीतिक दलहरुले राजा र पञ्चायती व्यवस्थाले देश सकाइयो, बर्बाद बनाइयो, देश विदेशीलाई जिम्मा लगाइने भो भनेर जनता उचाले । सर्वसाधारणले पनि ‘होला‘ भन्ठाने । सडक संघर्ष गरे ।
तर, राजनीतिक दलको दाउ त बेग्लै रहेछ । आफू सत्तामा पुगेर राज्यको ढुकुटीलाई दुहुनो गाईं बनाउन आन्दोलन गरिएको त प्रष्टै भएको छ । २०४६ सालपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्यो, ऋण बढ्यो । भारत र चीनले धेरै नेपालको भूभाग मिचिसकेका छन् । विदेशी ऋण २५ खर्ब पुगिसकेको छ ।
अब त जनताले बुझ्नुपर्यो कि हिजो आन्दोलन किन गरिएको रहेछ ? राजनीतिक दलको उद्देश्य के रहेछ ? यो त देखि नै सक्यो । २०४६ सालअघि नेपालीहरु कुनैपनि देशमा श्रम गर्न जाँदैन्थे । पासपोर्ट बनाएर श्रमका लागि विदेश जाने चलन थिएन् । पढ्नलाई चाँहि जान्थें ।
कामका लागि भारत जाने गरिन्थ्यो । नभए सबैलाई आफ्नो खेतीपातीले पुगेको थियो । अहिले वार्षिक सात लाख नेपाली विदेशिन्छन् । पुरुष मात्र नभई महिला पनि वैदेशिक रोजगारीका लागि जान थालेका छन् । विदेशमा नेपालीले रगतपसिना बगाएर पठाएको रेमिट्यान्स खोइ ?
नेता र सरकारी कर्मचारीले मोजमस्ती गरेका होइनन् ? नेपालीहरु बाकसमा फर्किरहेका छन् । तर, सरकारलाई कुनै मतलब नै छैन् । रेमिट्यान्स पाए भयो । नेताहरु देशमा विकास भयो भन्छन् । जतिबेला पनि विकासको नारा लगाउँछ । तर, विकास के हो ? नेताले बुझेका छन् ? कहाँ भएको छ विकास ? यो देखाउनुपर्यो ।
आज पनि कतिपय ठाउँमा बाटो पुगेको छैन् । पुल नहुँदा केही समयअघि दैलेखको झोलुङ्गे पुलमा खच्चड अड्किए । उद्धार गर्न ढिलो हुँदा कति खच्चडको ज्यान पनि गयो । केपी शर्मा ओलीको गृहजिल्लामा भ्यूटावर बन्दैमा विकास हुने हो ? सरकारले काठमाडौंलाई हेरेर विकासको नारा घन्काइरहेको छ ।
तर, राजधानीमा पनि के विकास भएको छ ? घरैघरको शहर बनेको छ । अस्तव्यस्त र दुर्गन्धित छ । योपनि विकास ? विकास हुनलाई त पहिले सरकारसँग योजना हुनुपर्छ । उद्योग, कलकारखानाको स्थापना गर्नुपर्छ । व्यवस्थित शहर बनाउनुपर्छ । राजनीतिक दलहरु जम्मै भ्रष्टाचारी भए ।
जसका कारण आज देश यो अवस्थामा पुग्यो । जनता ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । विभिन्न मुध्दामा लाखौं नागरिक जेलमा छन् । बाटोमा माग्नेको संख्या बढेको छ । छिमेकीले नेपाललाई तहसनहस बनाउँदै छन् । जुनसुकै क्षेत्रमा मारवाडीहरु प्रवेश गरेका छन् ।
उनीहरुले नेपालको दोहन गरिरहेका छन् । नेपाली भने विदेशमा गएर रगतपसिना बगाइरहेका छन् । जति पनि प्राइभेट बैंक यहाँ छ, सबै मारवाडीको हो । नेपालीको त के छ ? केही न केही । जनता हिजो जहाँ थिए आज पनि त्यही छन् । देशको अवस्था त झनै नाजुक बन्दै गएको छ ।
नेताहरुको कल्याण भयो । शेरबहादुर देउवाले आफ्नी श्रीमतीलाई परराष्ट्रमन्त्री बनाए । ओलीले आफ्ना सबै निकटस्थलाई ठाउँमा पुर्याए । पुष्पकमल दाहाल पनि परिवारको स्वार्थ पुरा गर्नमै व्यस्त भए । अन्य नेताले पनि अंकुत सम्पत्ति जोडे । सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् ।
जनता हेरेको हेर्यै । दाहालले आफ्नी छोरीलाई मेयर, स्वकीय सचिव, बुहारीलाई मन्त्री, भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाए । चुनाव हारेको महेश बस्नेतलाई उद्योगमन्त्री बनाइयो । चुनाव नै नजितेको युवराज खतिवडा, देवेन्द्र दाहाललाई मन्त्री बनाइदिए । जनताको मतको त अपमान भइरहेको छ ।
नेताहरुको मनोमानी र जनतामाथि ज्यादतीमाथि कलम चलाउन सञ्चारकर्मी पनि चुकेका छन् । हुन त पछिल्लो समय सञ्चारमाध्यम पनि राजनीतिक पार्टीसम्बद्ध बन्दै गएको छ । ओली, देउवा, दाहाल, माधवकुमार नेपाललगायत देश विकास गर्छौं भन्ने नारा लगाइरहेका छन् ।
जनताले त आँखामा पट्टी नै बाँधेका छन् । नेताहरुको कर्तुत देख्दै देख्दैनन् । नेताहरुलाई त अझैपनि जनता भ्रममा पारेर हामी छिमेकीबाट पैसा ल्याएर खान सक्छौं कि भन्ने छ । नेता, व्यापारी, सरकारी कर्मचारीले भ्रष्टाचार गरेको पैसा विदेशी बैंकमा छ । भोलि देशमा केही भयो भने उनीहरु विदेश टाप कसिहाल्छन् ।
वर्तमान नेताहरु अलिकति पेट दुख्यो भने उपचारका लागि विदेश पुगिहाल्छन् । विदेशमा गएर उपचार गर्ने नाममा अर्बौं रुपैयाँ राज्यको ढुकुटीबाट लिएका छन् । तर, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पतालमा उपचार गराइराखेका छन् । पटकपटक प्रधानमन्त्री भइसकेका उनी पनि विदेश जान सक्थें ।
२०४६ सालअघि भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठले चीन र अन्य मुलुकबाट सामान ल्याएर नेपालीको आवश्यकता पूर्ति गरे । उनी भारतको सामुन्ने झुकेनन् । मूल्य नबढाईकन जनतालाई सामान दिइयो । मरिचमानको मृत्यु हुँदा सरकारले सलामी दिएन् ।
तर, देश बेच्ने नेता भनाउँदा दलालीहरु मरे भनेचाँहि सलामी दिइन्छ । जनताको करमा खेलोफड्को लगाउनेहरुलाई यहाँ सम्मान गरिन्छ । भुपु सभामुख र प्रधानमन्त्रीपत्नी मर्दा सरकारले सलामी दियो, यद्यपि भूपू प्रधानमन्त्रीलाई दिइएन् । जबकी मरिचमानको योगदान धेरै थियो ।
भक्तपुर