अरूण बम
भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा दुःखद निधन भएको छ । नौ दिनअघि (जुलाई ७) मा बेपत्ता भएका पौड्याल मङ्गलबार पश्चिम बङ्गालको एक नहरमा मृतावस्थामा फेला परेका छन् ।
पौड्याल सिक्किमको पाकयोङ्ग जिल्लाको आफ्नै गृहनगर छोटा सिङ्गताममा बस्दै आएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार ७ जुलाई बिहान ९ बजे घरबाट तल सेतीपुलस्थित अन्तरी दिदीको घर जाने भनी निस्किएका थिए । दिउँसो २ बजे घर आइपुग्छु भनेर निस्किएका पौड्याल त्यो बेलादेखि सम्पर्कविहीन भएका थिए । त्यसपछि खोजीका लागि सिक्किम सरकारले विशेष जाँच दल (एसआइट) गठन गरेर खोजी थालेको थियो । तर, उनको कुनै अत्तोपत्तो लागेन ।
मङ्गलबार पश्चिम बङ्गालको सिलिगुडीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा पौड्यालको शव भेटिएको छ । घडी र पहिरनले उनको शव पहिचान भएको हो । प्रहरीले प्रथम दृष्टिमै उनको शव टिस्टा नदीको माथिल्लो हिस्साबाट बगेर आएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि, उनको मृत्युबारे विस्तृत जाँच भइरहेको पनि बताइएको छ ।
को हुन् आरसी पौड्याल ?
पौड्याल भारतको सिक्किम प्रदेश विधानसभाका पूर्वउपसभामुख र प्रदेशका पूर्वमन्त्री भइसकेका व्यक्ति हुन् । तर, यत्तिले मात्र उनको परिचय पूर्ण हुन्न । सिक्किमलाई भारतमा विलय गराउन भूमिका खेल्दा तत्कालीन सिक्किमका प्रधानमन्त्री (पछि भारतीय राज्यका मुख्यमन्त्री) काजी लेन्डुप दोर्जे खाङसर्पाका प्रमुख सारथि पनि मानिन्छन् । विश्वभर देशद्रोहीको नाम लिँदा लेन्डुपको नाम अग्रपङ्क्तिमा राखिन्छ । उनकै अगुवाइमा १६ मे १९७५ मा सिक्किम भारतमा विलय भएको थियो । दोर्जेकै अगुवाइमा सिक्किम भारतमा विलय हुँदाका एक सशक्त सहयोगी पात्र थिए पौड्याल ।
सिक्किम भारतमा विलय गराउने निर्णय हुँदा पौड्याल उपसभामुख थिए भने पछि दोर्जे मुख्यमन्त्री भएको सरकारमा उनी वनमन्त्री बनेका थिए । पछि देश बेचुवाको आरोप लागेपछि राजनीतिमा सफल हुन सकेनन् । पश्चातापको जिन्दगी व्यतीत गर्दैै बाँकी जीवन धर्मकर्म, नेपाली भाषा संस्कृतिको संरक्षण र उन्नयनमा बिताए ।
सङ्घर्ष, भारतमा विलय र पश्चाताप
सिक्किममा सन् १६४१ मा फुन्त्सोङ्ग नमग्याल पहिलो चोग्याल (राजा) बनेका थिए । तिब्बतका तीन बौद्ध भिक्षुद्वारा फुन्त्सोङ्गलाई पहिला चोग्याल घोषणा गरिएको थियो । त्यसपछि नमग्याल राजवंशले तीन शताब्दीभन्दा बढी सिक्किममा राज ग¥यो । भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीले राज गर्दा सिक्किम पनि उसैको नियन्त्रणमा थियो । १८६१ मा सिक्किमका चोग्यालसँग कम्पनी सरकारले सम्झौता गरेर नमग्याल वंशलाई भारतका अन्य राजारजौटाका राज्यजस्तै कठपुतली बनाएर राखेको थियो ।
भारतबाट अङ्ग्रेज फिर्ता गएपछि सिक्किमको अर्को अध्याय सुरु हुन्छ । भारत स्वतन्त्र हुँदा सिक्किमका तत्कालीन चोग्याल टाँसी नमग्यालले भारतमा विलय हुन चाहेनन् । नागरिकले पनि स्वतन्त्र देशकै रूपमा रहन जनमतसङ्ग्रहमा अभिमत जाहेर गरे । त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले थप बल प्रयोग गरेर हडप्न चाहेनन् ।
तर, सिक्किममा करिब ७५ प्रतिशत नेपालीभाषी समुदाय थियो । जून १४ प्रतिशत रहेको तिब्बती चोग्यालबाट शासित थियो । यही कारण नेपाली समुदाय र अन्य केही लोकतन्त्र चाहने समूहले आन्दोलन गर्न थाले । जसमा भारतको अप्रत्यक्ष सहयोग रहेको बताइन्छ । यसैबिच तिब्बती समुदायकै नेता लेन्डुपले राजतन्त्रको विरोध गर्दै गणतन्त्रका पक्षमा सङ्घर्ष गर्न थाले । जसमा नेपाली समुदायको साथ हुन थाल्यो ।
लोकतन्त्रका लागि आन्दोलन हुँदा राज्यले धरपकड, दमन, हिंसाका घटना हुन थाले । त्यही अशान्ति र अस्थिरताको फाइदा उठाउँदै भारतले सन् १९५० मा सन्धि गरेर भारत संरक्षित राज्य बनायो । जसमा चोग्याललाई सिक्किमको सार्वभौमिकता र स्वतन्त्रतामाथि कदापि दखल नदिने विश्वास दिलाएको बताइन्छ । यो सन्धिमार्फत सिक्किमको बाह्य रक्षा, परराष्ट्र मामिला र सञ्चारमा भने भारत सरकारले नियन्त्रण गर्ने अवसर पायो ।
सन् १९५९ सम्म आइपुग्दा लेन्डुपलाई नेपाली समुदायका नेताहरूले पनि नेता स्वीकारे । लेन्डुपको नेतृत्वमा सिक्किम नेसनल काङ्ग्रेस स्थापना भयो । त्यतिबेला नेपाली समुदायले लेन्डुपलाई नेपाली समाजको सुरक्षाका लागि नेता मानेका थिए । सिक्किम मामिलाका जानकार वरिष्ठ पत्रकार हरिहर विरहीका अनुसार नेपालीले नै नेतृत्व दिँदा राजा बढी दमनमा उत्रिनसक्ने डर थियो । अर्को नेपालीलाई तिब्बती जुनसुकै बेला मिल्नसक्छन् भन्ने भय थियो । त्यसैले लेन्डुपले नेता बन्ने मौका पाए ।
सन् १९६१ मा चोग्यालले अधिकार कटौती गर्दै नयाँ नीति ल्यायो । जसको विरोधमा नेपाली समुदाय उत्रियो । नेतृत्व सिक्किम नेसनल काङ्ग्रेस र सिक्किम स्टेट काङ्ग्रेसले लिए । पछि समाधानका लागि भारतले मध्यस्थता गरेको थियो । त्यसपछि सन् १९६२ मा भारत–चीन युद्ध, १९६३ मा चोग्याल टाँसीको निधन र सन् १९६४ मा नेहरूको पनि निधन हुँदा सिक्किममा भारतको नजर अझै कडा हुँदै गएको बताइन्छ ।
टाँसीको मृत्युपछि उनका छोरा पाल्देन थोन्डुप नमग्याल सन् १९६५ मा सिक्किमका नयाँ चोग्याल बनेका थिए । पाल्देन सन् १९५० को सन्धि खारेजीको माग गर्दै भुटानजस्तै राष्ट्र माग गर्न थाले । पाल्देन त्यतिमा रोकिएनन्; सिक्किम, नेपाल र भुटानसहितको ‘हिमाली सङ्घ’ बनाउने प्रस्ताव राख्न थाले ।
उक्त कुरामा नेहरूको निधनपछि भारतीय प्रधानमन्त्री बनेकी इन्दिरा गान्धीले बाबु नेहरूको जस्तो धैर्य राख्न सकिनन् । उनले सिक्किमबारे आक्रामक रणनीति अख्तियार गरिन् । यसैबिच उनले लेन्डुपलाई विश्वासमा लिने कोसिस गरिन् । जसमा लेन्डुप फस्दै गए ।
सन् १९७२ मा सिक्किम जनता काङ्ग्रेस स्थापना भयो, नेतृत्वमा केसी प्रधान आए । यसैबिच सोही वर्ष भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख रामेश्वरनाथ काओले सिक्किम विलयको योजना बनाए । इन्दिराले अनुमोदन गरिन् । जसमा चोग्याल राजतन्त्रको विस्तारै कमजोर पार्ने र त्यहाँका स्थानीय पार्टीको सहयोग लिने योजना बनेको थियो । सिक्किममा प्रजातन्त्रका लागि सङ्घर्षरत नेपाली समुदायले यो विषयको छनकसम्म पाएनन् ।
यसैबिच सन् १९७३ मा भएको निर्वाचनको नतिजा अस्वीकार गर्दै सिक्किम नेसनल काङ्ग्रेसका नेता लेन्डुप, सिक्किम जनता काङ्ग्रेसका केसी प्रधानले आन्दोलन सुरु गरे । नेपाली समुदाय लगातार आन्दोलित नै थियो । आरसी पौड्याल पनि त्यतिबेलाको लोकतान्त्रिक आन्दोलनमा नेपाली समाजको अगुवाइमा थिए । उनीबाहेक नरबहादुर खतिवडा पनि त्यतिबेला आन्दोलनमा थिए । पौड्यालले त राजधानी गान्तोकमा सातदिने अनसन नै गरेका थिए ।
आन्दोलनकारीले लिखित संविधान, मौलिक अधिकार, बालिग मताधिकार, आरक्षण माग गरिरहेका थिए; तीन दिनकै आन्दोलनमा हजारौँ व्यक्ति सडकमा ओर्लिए । उता दिल्लीको रणनीतिमा लेन्डुपबाहेक अरूलाई थाहा थिएन । तर, अन्य नेतालाई चोग्यालको राजशाहीविरुद्ध सहयोग गर्ने भनेर आश्वस्त पारिएको थियो ।
तर, राज्य दमन बढ्दै गएपछि नेताहरूमा ‘चोग्यालको गुलाम हुनुभन्दा सिक्किमलाई भारतमा गाभ्नु राम्रो हुने’ भन्ने धारणा विकसित भयो । तर, आम नागरिक र लोकतन्त्रवादी नेताहरू व्यवस्था मात्र परिवर्तन चाहन्थे । तर, चोग्यालको दमन बढ्दै गएपछि पौड्याल र खतिवडा पनि विलयकै लाइनमा पुगेका थिए ।
त्यसपछि भारतले आन्दोलनरत पक्ष र चोग्यालसँग दोहोरो संवाद गरेर वार्ताको वातावरण बनायो । सहजीकरण गर्न भन्दै दिल्लीबाट बीएस दास सिक्किम पुगे । १९७३ मे ८ मा राजा, भारत र दलबिच त्रिपक्षीय सम्झौता भयो । सम्झौतामा सिक्किमको रेखदेख गर्न एक भारतीय प्रतिनिधि रहने र आवधिक निर्वाचनको सहमति भयो ।
१९७३ अगस्टमा लेन्डुप र प्रधानले पार्टी एकीकरण गरेर सिक्किम काङ्ग्रेस बनाए । यसै क्रममा लेन्डुप सिक्किमको प्रधानमन्त्री पनि बने । उता लेन्डुपसँगको मिलेमतोमा राजा हुँदाहुँदै भारतले बीबी लाललाई सिक्किमको राज्यपाल पठायो । यसक्रममा उनले राजालाई क्रूर र निरङ्कुश भनेर भारतमा विलयको वातावरण बनाउँदै लगे ।
यसैक्रममा सिक्किम प्रहरीलाई कमजोर बनाउँदै भारतले आफ्नो सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लग्यो । सन् १९७४ मा सिक्किममा निर्वाचन भयो । जसमा सिक्किम काङ्ग्रेसले ३२ मध्ये ३१ सिट जित्यो । सोही निर्वाचनमा पौड्याल पनि निर्वाचित भएका थिए ।
निर्वाचनपछि अप्रिल १९७५ मा बसेको संसद्मा लेन्डुपले भारतको इसारामा ‘सिक्किममा दिगो शान्ति, विकास र जनअधिकारका लागि’ भन्दै एउटा विधेयक प्रस्तुत गरे । अङ्ग्रेजीमा लेखिएको विधेयक २० जना अङ्ग्रेजी भाषा पटक्कै नबुझ्ने सांसदले थाहा नै पाएनन् । विधेयक निर्विरोध पारित भएको घोषणा गरियो ।
जसमा ‘प्रशासन सञ्चालन भारतीय प्रशासकले गर्ने र सिक्किमलाई भारतमा विलय गर्ने विषयमा जनमतसङ्ग्रह गर्ने’ विषय थियो । त्यो निर्णय कार्यान्वयन गर्ने जिम्मेवारीसमेत भारतीय प्रशासनलाई प्राप्त भयो । १४ अप्रिल १९७५ मा जनमतसङ्ग्रह भयो, जसमा ९३ प्रतिशत विलय पक्षमा मत आएको घोषणा गरियो । १६ मई १९७५ मा भारतले २२ औँ पूर्ण राज्यको मान्यता प्रदान ग¥यो ।
त्यसपछि विद्वान् र धाराप्रवाह बोल्नसक्ने नेता मानिने पौड्याल दुई विधानसभाको उपसभामुख भए भने त्यसपछि वनमन्त्री बने । तर, भारतमा विलिन गराएको आरोपले लेन्डुप, पौड्याल, खतिवडालगायत नेतालाई ‘देश बेचुवा’को आरोप लाग्यो । नरबहादुर भण्डारीले नयाँ दल खोलेरै तीनजनाको आलोचना गर्न थाले । जनस्तरमा पनि उनीहरू आरोपित हुँदै गए । उता भारतीय संस्थापनले पनि उनीहरूलाई हेप्न थाल्यो ।
देश बेचुवाकै आरोपमा सन् १९७९ मा भएको विधानसभा निर्वाचनमा लेन्डुपसहित पौड्याल र खतिवडाहरू पनि हारे । बल्ल उनीहरूको चेत खुल्यो । त्यसपछि पश्चाताप गर्दै लेन्डुप कालिम्पोङमा गएर बस्न थाले । खतिवडा मुम्बईतिर गएर वकालत पेसा गर्न थाले ।
विद्वान् मानिने पौड्याल पार्टी गठन गरेर राजनीति गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । त्यसपछि पछुतोले गर्दा योगी भएर गीताज्ञान प्रचारमा लागे । धार्मिक, सांस्कृतिक अभियानमा लागे । यही पश्चाताप पौड्यालले आफूसँगको भेटमा देखाएको वरिष्ठ पत्रकार विरहीले आफ्नो पुस्तकमा समेत लेखेका छन् ।
जसमा पौड्यालले भनेका छन्, “सबैले गलत बुझेका अथवा बुझाइएको मान्छे । हामीजस्ता इमानदार र सोझा मानिसले राजनीति गर्ने समय होइन रहेछ यो । त्यसैले मैले राजनीतिबाट सन्न्यास लिएँ ।” उनले दिल्लीसँग एक पैसा पनि नखाएको बताएको उल्लेख छ । “तर, आफ्नो मातृभूमि कसैले बेच्छ ? दिल्लीसँग मैले आजसम्म एक पैसा पनि खाएको भए आमाको रगत बराबर हो । म नर्कमा परिजाऊँ ।”
विरही पौड्याललाई सिक्किमलाई भारत विलय गराउन लेन्डुपको सारथीभन्दा परिचय नपुग हुने बताउँछन् । विरही भन्छन्, “उनी बहुसङ्ख्यक सिक्किमे नेपालीलाई अधिकार दिलाउन लडेका व्यक्ति हुन् । उनकै सङ्घर्षले नेपालीभाषीले चोग्यालको ठुलो अत्याचारबाट बचेको पनि देख्न सकिन्छ ।” पौड्यालकै सङ्घर्षमा नेपाली भाषा, साहित्य, सनातन हिन्दू धर्म संस्कार पनि सिक्किममा जोगिएको विरहीको बुझाइ छ ।
पश्चातापमा रहेका ८० वर्षीय नेता पौड्यालको निधनलाई शङ्कास्पद मानिएको छ । कसैले उनको मृत्यु आत्महत्या त कसैले हत्याका रूपमा व्याख्या गरिरहेका छन् । मृत भेटिएपछि बुधबार सिक्किममै उनको अत्येष्टि गरिएको छ । अन्त्येष्टि उनका भाइ पूर्वमन्त्री सोमनाथ पौड्यालले गरेका छन् । सोमनाथ पवन चाम्लिङ मुख्यमन्त्रीको मन्त्रिपरिषद्का सदस्य थिए ।
साभार : नागरिक दैनिक, ३ साउन