रुषा थापा
केही वर्षअघि सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकले ऋणीको घरमै गार्ड राख्यो । त्यसअघि झापाको दमकमा पनि किस्ता तिर्न दबाब दिँदै उक्त बैंकले ऋणीको घरमै सुरक्षाकर्मी खटाएको थियो । यति मात्र होइन ऋणीलाई नजरबन्दमा नै राख्यो बैंकले । बैंकको यस्तो कार्यको चौतर्फी विरोध भयो ।
चारैतिरबाट आलोचना हुन थालेपछि नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई यस्तो कार्य नगर्न सचेत समेत गराउनु परेको थियो । अहिले बजारमा बैंकको आतंक बढ्दै गएको छ । विभिन्न बैंकले ऋणीको घरमा गुण्डा पठाउनुका साथै ऋणीका बालबच्चालाई धम्क्याउने, थर्काउने गरेको पाइएको छ ।
‘तेरो बाउले बैंकको ऋण खाको छ’ भन्दै बैंकका गुण्डाहरुले ऋणीका छोराछोराको स्कुलमै गएर भन्ने गरेको बताइन्छ । बैंकले ऋणीको घरमा सूचना टाँस्नुका साथै सार्वजनिक स्थलमा समेत ऋणीको फोटोसहित सूचना टाँसेको पाइन्छ । हामी जनताले पनि बुझेनौं कि ऋण भनेको घिन हो र बैंक भनेको लुट, ठग हो ।
करोड मूल्य पर्ने धितो राखेर २० लाख रुपैयाँ कर्जा लिए । बैंकले कर्जा दिने बेला एक प्रतिशत सेवाशुल्क भनेपनि लिने बेला तीन प्रतिशतसम्म लियो । तीन लाख रुपैयाँ घुस खायो । कर्जाको १२ प्रतिशत ब्याज भनेर ७५ प्रतिशत असुल्यो । ऋणीले बैंकले २० लाख त ऋण लियो । तर, मालपोतमा राजस्व तिर्दा, लेखनदासलगायतलाई दिँदा १५ लाख मात्र हातमा पर्यो ।
अनि ऋणीले तीन किस्ता तिर्न नसक्नेबित्तिकै बैंकले करोड मूल्य पर्ने धितो १५ लाखमै पचाइदियो । बैंकले लाखौं मान्छेलाई सडकछाप बनाइसकेको छ । हजारौं सर्वसाधारण बैंककै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । बैंकमा जाँदा कर्मचारीहरु मिठो बोल्छन् । चिया, पानी कि चिसो खाने भनेर फर्काउँछन् ।
अनि ऋण लिएपछि तीन किस्ता नतिर्नेबित्तिकै ऋणीको घरमा गुण्डा पठाउनेदेखि अनेक गर्छन् । अहिले बैंकहरुको आतंक बढ्दै गएको छ । ऋणीको गाडी तान्नदेखि घरजग्गा, सेयर लिलाम गर्न समेत बैंकहरुले गुण्डा प्रयोग गर्ने गरेका छन् । यति मात्र होइन ऋणीको उठीबास लगाएर उनीहरुलाई कालोसूचीमा राख्छन् ।
तीन पुस्ते पत्रपत्रिकामा निस्काल्छन् । बैंकका कर्मचारीहरुले राति १२ बजे समेत ऋणीलाई फोन गरेर टर्चर दिने गरेको बताइन्छ । सार्वजनिक बिदाको दिन समेत ऋणीको घरमै पुगेर पूरै समाजकै अगाडि उसको बेइज्जत गर्ने गर्छन् । ऋणीलाई मर्नुपर्ने अवस्थामा बैंकले पुर्याउने गरेको छ ।
बैंकको टर्चरका कारण कयौं ऋणीले आत्महत्या गर्नुका साथै घरपरिवार नै सकाएको समेत उदाहरण छन् । केही वर्षअघि भक्तपुरको थिमीमा बैंकले घरजग्गा लिलाम गरेपछि एक व्यक्तिले आफ्नो श्रीमती, छोरा र कुकुरलाई समेत विष खान दिएर मार्नुका साथै आफु पनि झुण्डिए । यो प्रतिनिधिमूलक घटना मात्र हो । बैंककै कारण धेरै ऋणीले आत्महत्या गरेका छन् ।
अहिले बैंकले ऋणीलाई मात्र नठगेर बचतकर्तालाई समेत लुटेको पाइएको छ । बैंकका कर्मचारीहरुले बचतकर्ता खाताबाटै पैसा चोर्ने गरेको घटना बाहिरिएका छन् । यति मात्र होइन पढे नलेखेका अशिक्षित व्यक्तिलाई बैंकले झनै ठग्ने गरेको छ । पछिल्लो समय हरेक काम बैंकमार्फत गर्नुपर्ने अवस्था आएको छ ।
त्यसैले, शिक्षितदेखि अशिक्षित व्यक्तिहरु बैंकसँग जोडिन पुगेका छन् । तर, बैंकले यसको फाइदा उठाउँदै उनीहरुलाई ठगेको पाइन्छ । नपढेको व्यक्तिले अक्षर चिन्दैन । अनि उसले बैंकमा पैसा राखेपनि बैंकले दिएको रसिद बुझ्दैन । यसैको फाइदा उठाएर बैंकले कयौं बचतकर्तालाई उठेको पाइन्छ ।
अहिले बजारमा सुनिन्छ कि बचतकर्ताहरुले बैंकमा ३३ लाख रुपैयाँ राखेपनि कर्मचारीहरुले रसिदमा ३३ हजार मात्र लेखिदिँदा बचतकर्ता आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी कयौं बचतकर्ता रसिद पढ्न नसक्दा समेत बैंकबाट ठगिने गरेका छन् । बैंकले अशिक्षित, सीधासाधा सर्वसाधारणलाई भुलाएर समेत लुट्ने गरेको छ ।
कतिपय बचतकर्ताले घरपरिवारलाई जानकारी नगराई बैंक तथा वित्तिय संस्थामा ठुलो रकम जम्मा गरेका हुन्छन् । तर, बचतकर्ताको कुनै कारणवश निधन भएमा र उसको घरपरिवार कोही पनि रकम लिन नआएमा पनि बैंक, वित्तिय संस्थाहरुले कुनै जानकारी वा सूचना नै ननिकाली सो रकम पचाइदिन्छन् ।
पछिल्लो समय बैंकहरुप्रति सर्वसाधारणको अविश्वास बढ्दै गएको छ । एकातिर बैंकको लापरबाही, गैरजिम्मेवारी अर्कोतिर कर्मचारी, सञ्चालकहरुकै मिलेमतोमा चोरी हुनु । सबै बचतकर्तालाई कुन कुन मितिमा कति रकम राखेको भनेर स्पष्ट याद हुँदैन । यसैको फाइदा उठाएर बैंकले बचतकर्ताको रकम चोरी गर्ने गरेको पाइन्छ ।
अनि आफ्नो रकम चोरी भएको भनेर बोल्न वा प्रमाण पेश गर्न सक्ने बचतकर्तालाई बैंकले ‘तपाईँको रकम अरुको खातामा ट्रान्सफर भएछ’ भन्दै फिर्ता गर्ने र बोल्न वा प्रमाण पेश गर्न नसक्ने बचतकर्ताको रकम नै पचाइदिने गरेको पनि बताइन्छ । अहिले बैंकमा बचतकर्ता गर्ने र ऋण लिने दुवै बैंकलाई चोर, ठग भन्छन् ।
बैंकले घरजग्गा दलालीदेखि सेयर दलाली, गाडी दलाली सबै पालेका छन् । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर चार हजार पुर्याएर सर्वसाधारण फसाउने पनि यीनै दलाली र बैंक हुन् । रोपनीको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिन वा डाँडापाखा समेत प्लाटिङ वा खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बिक्री गर्ने पनि यीनै हुन् ।
दुई रुपैयाँ किलोमा बिक्री नहुने फलाम, प्लास्टिक, सिसाबाट भारत र चीनले गाडी बनाए । अनि छिमेकी मुलुकबाट एक लाखमा गाडी ल्याएर यहाँ करोडसम्ममा बेच्ने पनि यीनै बैंक र दलाली नै हुन् । बैंकले करोडौं जनतालाई सुकुम्बासी बनाइसकेको छ । अहिले सार्वजनिक स्थलमा आम नागरिकहरु बैंक चोर, ठग हुन् भनेर कुरा गरिरहेको भेटिन्छ ।
बैंकलाई सर्वसाधारण ठग्न छुट दिने सरकार नै हो । किनकि बैंकले जतिसुकै सर्वसाधारण जनतालाई ठगेपनि वा लुटेपनि राष्ट्र बैंक र अर्थ मन्त्रालय केही गर्दैन । वित्तिय संस्थाहरुले पनि आम नागरिकको रुवाबासी गराएका छन् । ३५ हजारबढी सहकारीले करोडौं जनताको खर्बौ रकम खाइदिएको छ । लघुवित्त, फाइनान्सका कारण पनि धेरैको उठीबास र बिचल्ली भएको छ ।
अझै पनि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भन्छन्, ‘बैंकमा ऋण लिन कोही आएन ।’ अनि यस्तो ठग, चोर बैंक कहाँ पनि अझै सर्वसाधारण ऋण लिन जान्छन् त । अब जनताले बुझिसके कि बैंकमा बचत गर्नु र ऋण लिनु आफुले आफुलाई सकाउनु हो । तर, राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्री अहिले पनि सर्वसाधारण ठग्न पाइन्छ कि भनेर बैंकमा सर्पोटमा कम्मर कसेर लागिपरेका छन् ।
बैंक, वित्तिय संस्थाको ठगीधन्दाविरुद्ध सर्वसाधारण एकजुट हुँदै गएका छन् । त्यसैले, यस्ता ठग संस्थाहरुलाई जनताले नै लखेट्ने छन् । कारबाही गर्ने छन् र कालोमसो पनि दल्नेछन् । किनकि सरकार त बैंक, वित्तिय संस्थाको अगाडि लम्पसार नै परेको छ नि त । कि कसो ।
भक्तपुर